— पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिया ठाकुरबाबा नगरपालिका–२ रानीपुरमा बसको ठक्करबाट साइकलयात्रीको शुक्रबार मृत्यु भएको छ ।
कञ्चनपुर झलारीदेखि दाङ तुलसीपुर जाँदै गरेको ना७ ख ४१२ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका बर्दिया मधुवन नगरपालिका–१ खैरेनीका ६९ वर्षीय मानबहादुर चौधरीलाई नगर अस्पताल भुरीगाउँमा सामान्य उपचारपछि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्तीमगरले चौधरीको उपचारको क्रममा मृत्यु भएको बताए । प्रहरीले बस र चालक ३२ वर्षीय रेशम चौधरीलाई नियन्त्रणमा लिएको उनले जनाए ।