— लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारका ६७ वर्षीय रामबहादुर गुरुङ शुक्रबार मृत भेटिएका छन् । यही माघ ३ गतेदेखि हराएका उनी फेदीकुना सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
प्रहरी, आफन्त र स्थानीयले खोजी गर्दा गुरुङ दुई सातापछि मृत भेटिएको उनले बताए । उनका अनुसार भीरबाट लडेर मृत अवस्थामा रहेको जानकारी शुक्रबार दिउँसो ३ बजेतिर प्राप्त भएको र त्यसपछि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानसँगै मुचुल्का उठाएको थियो ।
शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल बेंसीसहरमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।