— माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर आउँदो चुनावमा एक्लै लडेर शक्तिशाली बन्ने बताएका छन् ।
अर्घाखाँची भूमिकास्थान नगर कमिटी तेस्रो अधिवेशन उद्घाटन गर्न शनिबार आएका नेता श्रेष्ठले माओवादी नेता र पार्टी सच्चिनुपर्ने बताए । ‘२०६४ को हामी ठूलो शक्ति थियौं, अहिले शक्तिमा कमजोर छौं,’ श्रेष्ठले भने, ‘हाम्रो चरित्र, आचरण र व्यवहार हिजो स्वच्छ थियो, जनतासँग सम्बन्ध कसिलो थियो, नीति विचार र सिद्धान्तमा अडिग थियौं, त्यसैले पहिलो शक्ति बनेका थियौं । अब सच्चिएर पार्टी रुपान्तरण र पुनर्गठन गर्दै जनतासँग पुग्नुपर्छ ।’
माओवादी पार्टी परिवर्तनको बाहक भएकाले लोकतन्त्र रक्षा, सामाजिक आर्थिक रुपन्तारण पनि माओवादीले नै गर्छ भन्दै जनतासँग पुग्न उनले कार्यकर्तालाई अपिल गरे ।
‘अब पार्टीको रुपान्तरण र पुनर्गठन गरी अब एक्लै चुनावमा लड्छौं,’ उनले भने, ‘तपाईं कार्यकर्ता रुपान्तरण भएर घरघरमा पुग्नुस्, हरेक कमिटीमा पुग्ने, सक्रिय हुने । पार्टी निर्माणको अभिायनका केन्द्रमा राख्ने, जनपरिचालन गर्न दृढ भएर लाग्नुस् ।’ पार्टी अध्यक्षसहित सबै नेता फेरि जनतालाई जगाउन देश, दौडाहामा हिँडेको उनले बताए ।
यतिबेला पार्टीका कार्यकर्ता उत्साहित भएको उनको दाबी छ । ‘जनतासम्म पुगेर आजसम्म हाम्रा नि कमजोरी भए, सच्याउँछौं भन्ने पार्टी माओवादी मात्रै हो,’ उनले भने, ‘यो देश बचाउन हामीले मात्रै गर्न सक्छौं । म यहीँ भएकै बेला मेरो पाल्पा, सिराहा, डडेलधुरा, ओखलढुंगाको कार्यक्रम बन्यो । देश दौडाहामा छौं, पार्टीमा उमंग छ, जनतामा आकर्षण पैदा भएको छ । कार्यकर्ता संकल्पबद्ध हुनुस् । एकताबद्ध हुनुस् ।’ उनले आवश्यक परेमा सडक संघर्षको लागि पनि तयारीमा रहेका कार्यकर्तालाई आग्रह गरे ।
उनले वर्तमान सरकार सदन छलेर अध्यादेशमार्फत निरंकुशतको बाटोमा लागेको र आफू नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाएका छन् । सरकार सुशासन कायम गर्ने अभियानमा नांगिएकाले जनतामा निराशा र आक्रोश देखा परेको बताए ।