। खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणा अन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिने बताएका छन् ।
चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिबार आयोजित पाँचौं वार्षिक साधारणसभामा मन्त्री यादवले खानेपानी व्यवस्थापनका केही महत्वपूर्ण पक्षहरूमा आफ्नो प्रतिबद्धता रहेको बताए ।
सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सिर्जना गरिरहेको भन्दै उनले नीति निर्माण तहमा विशेष पहल गरी यो कर खारेज गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले भने, ‘देशभरीका ४२ हजार उपभोक्ता समितिहरूलाई कसरी राम्रो गर्ने भनेर मन्त्रालय लागि परेको छ । हामीले १० माघमा नियमावली राजपत्रमा प्रकासित गरेका छौँ । उक्त नियमावलीले उपभोक्ता समितिलाई फाइदा पुग्ने छ । खानेपानीमा लाग्दै आएको कर खारेज गर्ने छु ।’
मन्त्री यादवले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताए । ‘खानेपानी र सरसफाइ हाम्रो प्राथमिक आवश्यकता हो । नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो,’ उनले भने ।
खानेपानी र सरसफाइ देशको प्राथमिक आवश्यकता मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि भएको भन्दै उनले स्थानीय स्तरमा उपभोक्ता समिति तथा जनताले गरेको समर्पणले नेपाललाई खानेपानी व्यवस्थापन र सरसफाइको क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याएको विचार व्यक्त गरे ।
चन्द्रागिरिको पानी पुर्याउन पहल गर्ने
मन्त्री यादवले चन्द्रागिरि नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न मेलम्ची खानेपानी आयोजनाको पानी पुर्याउन पहल गनेृ प्रतिबद्धता पनि व्यक्त गरे ।
चन्द्रागिरि नगरपालिकामा पनि खानेपानीको माग उच्च रहेको बताउँदै मन्त्री यादवले मेलम्ची खानेपानीको वितरण पाइपलाइन हाल काठमाडौँ उपत्यकाभित्र मात्र सीमित भएकाले त्यस लाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई मेलम्ची आयोजनाको सेवामा समेट्न विशेष पहल गर्ने उनले बताए ।
चन्द्रागिरि नगरपालिकाको वडा नं. २ मा निर्माण भइरहेको सुरुङ मार्गले स्थानीय पानीका मुहानहरूमा असर पुर्याएको भन्दै मन्त्री यादवले यसबारे आफू पूर्ण रूपमा सचेत रहेको बताए ।
वैकल्पिक पानी आपूर्ति व्यवस्थापन खर्चिलो भए पनि यसअघि नै प्रतिबद्ध गरिएको निःशुल्क पानी वितरणको कार्यान्वयन अत्यावश्यक रहेको उनको भनाइ थियो ।
नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामेश्वरप्रशाद भुर्तेलले चन्द्रागिरि नगरपालिकामा खानेपानीको निकै समस्या भएकाले यहाँका नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि पहलका लागि मन्त्रीसमक्ष अनुरोध गरेका थिए ।