मुख्य समाचार
‘किसानलाई लालपुर्जा दिन नै कानुन संशोधन गर्न लागिएको हो’
‘किसानलाई लालपुर्जा दिन नै कानुन संशोधन गर्न लागिएको हो’

— शाह र राणाले भूमि व्यवस्थापनका नाममा आफूखुसी हजारौं रोपनी जमिन अनमेल वितरण गरे, यो प्रथा ‘बिर्ता’ का रूपमा स्थापित भयो । काठमाडौं छेउछाउ र मधेशका जमिनसमेत बिर्ताअन्तर्गत थियो । त्यो बिर्ता नै हो, जसले किसानलाई शताब्दीऔंदेखि शोषण गर्दै आएको थियो, छ । २००७ सालअघिसम्म नेपालमा कुल भूमिको ३६.३ प्रतिशत हिस्सा अर्थात् ७ लाख, ८० हेक्टर भूमि बिर्ताभित्रै थियो ।


२०१६ सालमा बिर्ता प्रथा उन्मूलन गरी त्यो भूमिलाई रैकरसरह तिरो तिर्नुपर्ने त बनाइयो । तर, त्यसयता भूमि जोतिरहेका किसान र बिर्तावालबीच जग्गा विवाद कायमै छ । सबैभन्दा बढी बिर्ता समस्या देखिएको रसुवा र नुवाकोटका किसानको कथा ‘कान्तिपुर’ ले शृंखलाबद्ध प्रकाशन गरिरहेको छ ।


किसानको पसिनाले भिजेको नुवाकोट–रसुवाको केही हिस्सा भूमि बिर्तावालकै अधीनमा छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको बुझाइमा बिर्ता उन्मूलनपछि टाठाबाठा बिर्तावालले सुक्खा पाखो जोताहा किसानलाई दिए, उत्पादन हुने खेतको लालपुर्जा आफैंले लिए । उनी भन्छन्, ‘सरकार किसानसागै छ, तिनले जोतभोगका आधारमा लालपुर्जा पाउनेछन् ।’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग बिर्ता समस्या र भूमिसुधारका विषयमा कान्तिपुरका दीपक सापकोटाले गरेको कुराकानी :

‘कान्तिपुर’ ले गरेको फिल्ड रिपोर्टिङका क्रममा देखियो– रसुवा–नुवाकोटमा बिर्ता जग्गाको भयानक समस्या छ । तपाईले पनि फिल्डमै गएर बिर्तापीडित किसानको समस्या सुन्नुभयो । कस्तो रहेछ बिर्तापीडितको दुःख ?

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
सबै हेर्नुहोस्
रसुवा–नुवाकोटमा बिर्ताको अवशेष अझै बाँकी रहेछ । अन्य केही जिल्लामा पनि यो समस्या छ । बिर्ता त २०१६ सालमै उन्मूलन भएको थियो । त्यो बाँकी छैन होला भन्ने आमबुझाइ थियो । तर, होइन रहेछ । रसुवा–नुवाकोटमा किसान जोताहाका रूपमा छन्, जग्गा बिर्तावालाकै नाममा छ । त्यसैले फिल्डमै गएर समस्या बुझेर फर्किएँ ।

ITPF
Sunrise bank
Nepal Life Insurance
किसानहरू पुस्तौंदेखि जमिन जोतिरहेका छन्, तर लालपुर्जा नपाएको पीडामा छन् । बिर्ता उन्मूलनपछि कतिपय बिर्तावालले पाखो–पाखो जमिनचाहिँ जोताहा किसानलाई दिएछन्, राम्रो उत्पादन हुने खेतचाहिँ आफैंले पुर्जा बनाएर लगेछन् । बिर्तावालहरू जिल्ला बाहिरका छन्, ती बिर्तावालसँग जोताहा किसानलाई थाहै नदिई स्थानीय केहीले जग्गा खरिद गरेका पनि रहेछन् । नयाँ जग्गाधनी बनेकाहरू गाउँमा गएर किसानलाई ‘कि जग्गा किन, नत्र छाड’ भनेर दबाब दिन थालेपछि किसान आत्तिएका छन् । र, जोताहाहरूले ‘यो हाम्रो जग्गा हो, तिमीहरू फट्याइँ गर्न आउने ?’ भनेर हप्काएपछि केही हच्किएका छन् ।

केही बिर्तावालले जोताहा किसानलाई थाहै नदिई जमिन बेचिसके, अब त्यस्तो जमिनलाई किसानको नाममा कसरी ल्याउने त ?




सुरुमा नियमावली संशोधन गरेर सबैखालका बिर्ता समस्यामा परेका जोताहा किसानबाट निवेदन लिने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । नियमावली संशोधन भएपछि मालपोत कार्यालयले निवेदनका लागि सूचना जारी गर्छ । २०४९ सालयता कसैले बिर्ताको जग्गा पास गरेको रहेछ भने त्यो गैरकानुनी हुने व्यवस्था कानुनमै छ । अदालतमा मुद्दा परेको रहेछ भनेचाहिँ अदालतले जे भनेको छ, सोअनुसार नै हुन्छ । २०४९ सालअघि बिर्तावालले जग्गा दर्ता गरेको हकमा पनि किसानलाई नदिने भन्ने विषय न्यायिक हुँदैन । जग्गा दर्ता त गरेको छ, तर बिर्तावाल आफ्नो जग्गा चिन्दैनन्, साँध–सिमाना थाहा पाउँदैनन् । यस्तो विषयमा कानुन नै परिवर्तन गर्नुपर्ने हुन सक्छ । केही न केही विधि बनाएर किसानलाई न्याय हुने गरी अघि बढ्नुपर्छ ।

बिर्ता उन्मूलन भएको ६५ वर्षसम्म पनि यति ठूलो समस्या समाधानमा सरकारले किन चासो नदेखाएको ?

उन्मूलनपछि सबै ‘समस्या सकियो होला’ भनेर बसे । जसलाई किसानको समस्याबारे अनुभूति छ, त्यो पंक्तिले अलि छिटो समाधानको उपाय खोज्छ नै । एउटा पंक्ति जोताहा वर्गलाई कँजाएर खाँदै आएको छ, ती कहिल्यै समाधान चाहँदैनन् । परिवर्तनको लक्ष्य हिजोको परिपाटीमा थिएन । त्यसैले जनताको समस्या हल भएन, राष्ट्रको उन्नति भएन । अब पनि हिजोको समस्या ज्युँका त्युँ राख्यौं भने त्यो कहिले र कसरी हल हुन्छ त ? त्यसकारण समाधान हामीले खोज्नैपर्छ । मैले समाधानको प्रक्रिया अघि बढाएको छु ।

The law is going to be amended to give the farmers red food

तपाईं रसुवा–नुवाकोटका किसानको आँसु देखेर फर्केपछि चाहिँ मन्त्रालयले यो समस्या अन्त्य गर्न के–के पहल गर्‍यो त ?

बिर्ता समस्या समाधानका लागि मन्त्रालयले दुई/तीनवटा काम अघि बढाएको छ । पहिलो, अध्यादेशबाट समाधान गर्न खोजेका थियौं । तर, यो गम्भीर खालको र पुरानो समस्या हो, ऐनमार्फत अघि बढौं भन्ने सुझाव प्राप्त भयो । दोस्रो, २०४९ सालपछि कसैले जग्गा दर्ता गरेको रहेछ भने त्यो खारेजी गर्ने व्यवस्थाका लागि नियमावली संशोधनको प्रक्रिया अघि बढाइसकेका छौं । जोताहा किसानले जोतिराखेको, तर कसैले पनि आफ्नो नाममा नबनाएका जग्गाहरू अब किसानले नै दर्ता गर्न पाउने गरी निवेदन खुलाउँछौं ।

अबको केही दिनमा नियमावली क्याबिनेटमा पारित भएर आउनेछ । यो समस्या हल गर्दा कति किसानले जग्गा पाउँछन् ? त्यो हामी हेर्छौं र बिर्ता जग्गा बाँकी रहनेहरूका लागि ऐन, विधि, कानुन हेरेर थप काम गर्नेछौं । जसको नाममा जग्गा दर्ता भएर पुर्जा गएको छ, उनीहरूसँग पनि सहजीकरण गर्ने सकिन्छ कि, त्यो बाटो पनि हेर्छौं । बिर्ता समस्या अब बाँकी राख्ने होइन, अन्त्य गर्नुपर्छ भन्ने हाम्रो अठोट छ ।

त्यसो भए एउटा बलियो कानुन ल्याएर बिर्तापीडितलाई जमिनको अधिकार दिन केले रोक्यो त ?

हामीकहाँ समस्या के छ भने कुनै काम गर्न थाल्यो कि विरोधका स्वर आइहाल्छन् । पुस्तौंदेखि थाती रहेका समस्या समाधान गर्न खोज्दा ‘लौ सरकारले राम्रो काम गर्न थाल्यो, अब सहयोग गरौं’ भावना छँदै छैन । अध्यादेश ल्याएर किसानका लागि जग्गा दर्ता गर्न खोज्दा पनि विरोध भएको यहाँले सुन्नुभएकै छ । विरोध गर्नेहरू सरकारमा रहँदा पनि किसानहरूले गुनासो गरेकै थिए त, किन समाधान नगरेको ? अहिले प्रधानमन्त्रीज्यूले ११ वटा नयाँ कानुन बनाउन निर्देश गर्नुभएको छ । हामी पनि भूमि ऐनको मस्यौदा गर्दै छौं । भूमिसम्बन्धी ऐन २०२१, जग्गा (नापजाँच) ऐन २०१९ नै कार्यान्वयन गरिरहेका छौं । तर, यसले जनताको समस्या समाधान नै भएन । अब भूमि ऐन २०८१ भन्न सक्ने स्थितिमा पुर्‍याउनुपर्छ ।

The law is going to be amended to give the farmers red food

संसद् अधिवेशन सुरु भएको छ, बिर्ता समाधानको कानुन यही अधिवेशनबाटै ल्याउने सुनिश्चित गर्नुहुन्छ ?

हामी भूमि ऐन नै नयाँ बनाएर अघि बढ्ने पक्षमै छौं । हाम्रो संसदीय प्रक्रियामा केही ढिलो होला । यो समस्या पुस्तौंदेखिको हो, यसलाई समाधान गर्नैपर्ने भएकाले केही बलियो कानुन संसद्बाटै ल्याऔं भन्ने सल्लाह भएरै अध्यादेशमा राख्न सकिएन । यो समस्या विधिवत् रूपमा समाधानतर्फ लगौं भन्ने हाम्रो सल्लाह पनि हो । हामी ऐनमार्फत यसको कानुनी हल खोज्छौं ।

अध्यादेश त ल्याउनुभयो, तर सरकारले किसानकै मुद्दालाई छोएन भन्ने आरोप पनि आयो नि ?

यो विरोधीको कुरा मात्रै हो । हामीले किसानको समस्या हल गर्न खोजकै हौं । सँगै कानुनको अध्ययन गरेर केही संशोधन र केही नयाँ बनाउन प्रयत्न गरिरहेकै छौं । बस्ती बसोबास सुरु भएदेखि नै बसेका कतिपय गाउँ–सहर छन्, जसको अहिलेसम्म न दर्ता छ न त लालपुर्जा नै । पुस्तौंदेखि मान्छे बसेका छन्, तर फिल्डबुकमा गौचरन लेखिएको छ, हाट–घाट लेखेको छ, तर बस्ती बसेको छ, बाटो लेखेको छ, सहर बसेको छ । यो एकदमै अमिल्दो छ ।

यी समस्याको हल गर्ने गरी अध्यादेशमार्फत ऐन संशोधन गरिएको हो । यस्ता जग्गामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी बसेका छन् । ती बस्ती पनि परम्परागतदेखिकै हो, तर बहाल–बिटौली, गौचरन भनेर लेखिदिएका कारण दर्ता गर्न समस्या छ, न त्यस्तो ठाउँमा बस्नेलाई नै हटाउन सकिने अवस्था छ । यस्तो समस्याका पीडितलाई चाहिँ जग्गा दिनुपर्छ भनेर प्रयत्न गरेका छौं । भर्खरै आएको अध्यादेशमा पनि यी समस्याका केही बुँदा समेटिएका छन् ।

अध्यादेशको विरोध मात्रै भएको छैन, प्रशंसा पनि भएकै छ । अहिले विरोध गर्नेहरूले पनि हिजो भोट माग्दा लालपुर्जा दिने वाचा गरेकै थिए । उनीहरू पहिले सरकारमा हुँदा लालपुर्जा दिन सकेनन् । त्यसैले यो विरोधको कुनै तुक छैन । यस्तालाई भोलि जनताले लेखट्न पनि सक्छन् । त्यसकारण हामी जनताको समस्या हल गर्न अहोरात्र खटिइरहेका छौं ।

आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीको किताब 'ल्यान्ड टेनर एन्ड ट्याक्सेसन इन नेपाल’ अनुसार, नेपालमा २००७ सालअघिसम्म ७ लाख ८० हेक्टर भूमि बिर्ताअन्तर्गत थियो । ०१६ सालमा बिर्ता उन्मूलनपछि देशका अन्य भागमा बिर्ता उन्मूलन नै भयो, तर रसुवा–नुवाकोटमा चाहिँ किन बाँकी रह्यो ?

हो, पहिले धेरै नै जग्गा बिर्तामा थियो । ०१६ को उन्मूलनले अधिकांश ठाउँमा सकियो । तर, रसुवा–नुवाकोटमा चाहिँ अझै बाँकी रहेको पायौं । त्यतिबेला अहिले जस्तो सूचना र सञ्चारको सहज पहुँच थिएन । त्यसकारण किसानले थाहा पाएनन् । हामी बाँकी छौं भनेर निवेदन दिन पनि गएनन् । अर्कोचाहिँ त्यतिबेला डरत्रासको अवस्था थियो । ठूलाबडाका बारेमा बोल्नै पाइँदैन थियो । जसको बिर्ता थियो, उनीहरूले आफन्तको नाममा दर्ता गर्दा पनि विरोध गर्ने कोही भएनन् । विरोध गर्न सक्ने अवस्था पनि थिएन । र, किसानलाई पनि कमाएर खान त पाइरहेका छौं भन्ने लाग्यो । जग्गा त उनीहरूसँगै थियो । पछि कुनै बेला पाइएला भन्ने पनि आशा पनि लाग्यो होला ।

मुखियाका अगाडि बोल्न सक्ने अवस्था हुन्थेन । तैपनि केही पढेलेखेका र बुझेकाहरूले चाहिँ आफ्नो नाममा जग्गा पास गरी लिएको पनि देखियो । यसमा चेतनाले पनि काम गरेको देखियो । जहाँ चेतनास्तर राम्रो थियो, त्यहाँका मान्छेले आफ्नो समस्या सल्टाए । जहाँ चेतनास्तर कमजोर थियो, त्यहाँ बोल्न पनि डराए, हक र अधिकार खोज्न पनि सकेनन् । त्यहाँचाहिँ बाँकी नै रहिरह्यो । यस्तै विविध कारणले अझैसम्म ती क्षेत्रमा बिर्ता बाँकी रहेको पायौं ।

यो अन्तर्वार्तामार्फत बिर्तापीडित किसानलाई के सम्बोधन गर्न चाहनुहुन्छ ?

बिर्ता उन्मूलन गर्दा बिर्ताको जग्गा जोतभोग गर्ने किसानलाई दिने भनेकै हो । तर, जालझेल र षड्यन्त्र गरी बिर्तावालले आफ्नो नाममा राखेका हुन् । यो सरासर ठगी हो । कतिपय ठाउँमा जोताहा किसानले कुत/पोत बुझाउनुपर्थ्यो । त्यो तिरेको रसिद किसानसँगै छ । ‘हाम्रो नाममा जग्गा आएन’ भनेर तपाईंहरू चिन्तित नहुनुस्, यस्तै समस्या समाधान गर्न हामी बिर्ता नियमावली क्याबिनेट लगेर निर्णय गरी प्रक्रिया अघि बढाइहाल्छौं । त्यो भयो भने किसानहरूले निवेदन पेस गरेर आ–आफ्नो नाममा लालपुर्जा पाउन सक्छन् । र, एउटा ऐन बनाएरै बाँकी सबै समस्या समाधान गर्छौं, सरकार किसानसँगै छ । किसानले जोतभोगका आधारमा अधिकार पाउँछन् ।

त्यसो भए अब लालपुर्जा पाउनेमा किसान ढुक्क भए हुन्छ ? तपाईंकै कार्यकालमा बिर्तापीडित किसानले लालपुर्जा पाउलान् ?

हामीले कानुन संशोधन गर्न लागेकै किसानलाई लालपुर्जा दिन हो । जनतालाई जग्गाको मालिक बनाउनै हामी काम गरिरहेका छौं । एकथरी मानिस जग्गाको मालिक भए, अथवा अपनत्व भएकाहरू भए, उनीहरू आफ्नो नाममा जग्गा किनबेच गर्छन्, कारोबार गर्छन्, धितो राख्छन्, व्यवसाय सञ्चालन गर्छन् । अर्काथरी मान्छे, जीवनैभर आफ्नो जमिन स्वामित्वको लडाइँमै छन् । त्यसकारण मेरो मान्यता छ– एउटै मुलुकमा बिर्तापीडित र बिर्तावाल गरी दुईखाले मानिस हुनुहुन्न ।

कि त हामीले सबै जमिन सरकारी बनाउन सक्नुपर्‍यो । होइन भने जग्गा नभएकालाई जग्गा र स्वामित्व दिनुपर्छ । समस्या समाधान गर्न यो सरकार गम्भीर भएर काम गरिरहेको छ । हामी सबै मानिसले भूमिको अधिकार, स्वामित्व पाउने गरी काम गर्छौं । भूमिहीनलाई पनि जग्गाधनी बनाएर सधैंका लागि यो समस्याबाट मुक्त गर्छौं । म एक वर्षभित्रै यो समस्या समाधान गर्नेछु, जुन तपाईंले प्रत्यक्ष देख्नुहुनेछ ।

The law is going to be amended to give the farmers red food

तपाईं भूमि व्यवस्थामन्त्री हुनुभएपछि भूमिसुधारका क्षेत्रमा मन्त्रालयले गरिरहेका मुख्य काम के–के छन् ?

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी समस्या समाधान गर्न मिहिनेतपूर्वक काम भइरहेको छ । यो समस्या समाधानमा सरकारले ध्यान दिँदा उता जनताको समस्या पनि हल हुन्छ, यता राज्यलाई पनि राजस्व वृद्धि हुन्छ । संघीय भूउपयोग परिषद् गठन भई भूउपयोगलाई व्यवस्थित गर्ने कार्य पनि भइरहेको छ । हामीकहाँ २०२१ सालदेखि नापी सुरु भयो । त्यतिबेला बस्तीहरू एकीकृत भएर, गुचुमुच्च भएर बस्ने पनि चलन रहेछ ।

विभिन्न सुरक्षाका दृष्टिकोणले मानिस एकै ठाउँमा बस्ने गर्थे । त्यस्ता गाउँ–बस्तीलाई एउटै गाउँका रूपमा राखेर नापी गरी गाउँ–ब्लक बनाइयो । त्यतिबेला ती जग्गाको नापी गरिएन । किनभने फित्ताले नाप्ने चलन थियो, एकअर्काले दाबी गर्ने र झैझगडा हुने सम्भावना पनि थियो । केही ठाउँमा विवाद पनि भयो । त्यही भएर धेरै गाउँ गाउँ–ब्लकमै राखियो । खेतबारीचाहिँ भोगचलनअनुसार नापी भयो । यी गाउँ–ब्लकबासीले अहिलेसम्म पनि लालपुर्जा पाएका छैनन् । नापी कार्यालयहरूलाई निर्देशन गरेर यी समस्या भएको ठाउँमा नापी गर्नु भनेका छौं र यो अभियानकै रूपमा अघि बढेको छ । यही बीचमा रूपन्देहीमा–कपिलवस्तुमा करिब २५०० परिवारलाई लालपुर्जा वितरण गरिसक्यौं । अब केही दिनमा धेरै परिवारलाई लालपुर्जा वितरण गर्दै छौं । यसले पनि भूमिहीनका समस्याहरू समाधान हुनेछन् ।

अर्को, बहाल–बिटौली जग्गाको समस्या पनि छ । बहाल लिएर वितरण गरिएको हुनाले यसको नामै बहाल–बिटौली रह्यो । यो समस्या सिमानाका बजार क्षेत्रमा बढी छ । सिमाना क्षेत्रमा बहाल लिएर बस्ती बसालेको समस्या हो यो । पहिले भन्सार कार्यालयले उनीहरूसँग कर लिन्थ्यो । पछि गाउँ पञ्चायतले लियो अनि पालिकाले लिँदै आयो । कर तोकिएका ठाउँ कहाँकहाँ छन्, त्यो हेरेर लालपुर्जा बनाएर देऊ भनेर नापी र मालपोतहरूलाई भनेका छौँ । तर, बहाल–बिटौली कर भनेको ठाउँमा जग्गा दिन मिलेको छैन ।

धरान बजार, विराटनगरलगायका बजार क्षेत्रमा रहेको समस्या पनि त फुकाइदिनुपर्‍यो । यी समस्या समाधान नगरिदिने हो भने जनता समस्यामा पर्ने भए, राज्यले राजस्व पनि नपाउने भयो । यी क्षेत्र नयाँ बस्ती पनि होइनन् । यी तमाम समस्या समाधान गर्न हामीले कानुन निर्माण गर्दै अघि बढेका छौं । अर्कोचाहिँ कतिपय परिवार पुस्तौंदेखि भूमिहीन छन् । दलित विशेषतः मुसहर परिवारसँग पुस्तौंदेखि जमिनको स्वामित्व र पहुँच छैन । कहींकतै कुनापाखोमा बसेका छन् । उनीहरूलाई पनि जमिन दिनुपर्नेछ । अव्यवस्थित बसोबासीको समस्या पनि उस्तै छ ।

अव्यवस्थित परिवारको चाहिँ अन्यत्र पनि जमिन भएको तर घर बनाएर बसेकालाई यसभित्र राखेर एक पटकका लागि समस्या समाधान गरिदिऔं भनेर सरकारले कार्यप्रक्रिया थालनी गरेको छ । यसका लागि शक्तिशाली अधिकारसहित भूमि समस्या समाधान आयोग बनाएर काम सुरु गरिसकेका छौं । केही अप्ठेरा फुकाउनका लागि अहिलेको अध्यादेशमार्फत पनि केही व्यवस्था गरेका छौं ।

कतिपय बस्ती बसेको ठाउँलाई वन भनिएको छ, ०२१ सालमा नापी हुँदा जति जोतखन गरिएको थियो, त्यति मात्रै नापी भयो । त्यतिबेला वनले त नक्सा बनाएको थिएन । नापी गरेर बाँकी रहेको सबै जङ्गल देखियो । त्यहाँ २०२२, २०२५ सालमा बस्ती बस्यो तर त्यो ठाउँको नक्सामा त जङ्गल नै देखिने भयो । त्यस्ता ठाउँमा बस्ती छ, सहर–बजार बनेको छ, स्कुल–कलेज छन् । बाटा–घाटा सबै छन् । अब यी बस्ती हटाउन त हामी सक्दैनौं । त्यसकारण यस्ता क्षेत्रको पनि एक पटकलाई व्यवस्थापन गरौं भनेर कार्य थालनी गरेका छौं ।

अब भूमिको अधिकांश समस्या समाधानको काम भूमि आयोगले पनि गर्नेछ, जसका लागि हामीले जिल्ला–जिल्लामा पनि आयोग बनाइसकेका छौं । मुख्य काम लालपुर्जाविहीनलाई लालपुर्जा दिलाउने, उनीहरूको घरबास सुरक्षित गराउने, अनौपचारिक बसोबासीलाई अनौपचारिक बनाउने र राज्यको प्रणालीमा नियमित राजस्व आउने वातावरण मिलाउने अभियान अघि बढेको छ ।

२०२१ सालमा तत्कालीन राजा महेन्द्रको भूमिसुधारजति पनि प्रयास गणतान्त्रिक सरकारले गरेन भन्ने गुनासो छ नि जनमानसमा ?

भूमिसुधार भनेको हदबन्दीसँग जोडिएको विषय पनि थियो । कसले कति जग्गाजमिन राख्न पाउने भन्ने विषयसँग पनि सम्बन्धित थियो । अहिले पनि हदबन्दीको एउटा सीमा त छ । बढीमा ११ बिघासम्म मात्र जग्गा राख्न पाउने व्यवस्था छ । तर, व्यापार–व्यवसाय गर्न, फार्म खोल्न, उद्योगधन्दाको विकास गर्न जग्गा पुगेन भन्ने गुनासो पनि आएका छन् । ती समस्या हल गर्न लिजमा जमिन दिने परिपाटी बनाइएको छ । कुनै व्यक्तिले पैसा हालेर जग्गा किन्न सक्छ, कुनै फार्मका लागि जग्गा लिन सक्छ तर उद्देश्यअनुरूपमा काम गर्नुपर्छ । हदबन्दीभन्दा बढीको जग्गा कसैले पनि बेचबिखन गर्न पाउँदैन ।

तपाईंको भनाइअनुसार त, नेपालमा भूमिसुधारको मुद्दा नै असान्दर्भिक भइसकेको रहेछ, कि के हो ?

भूमिसुधारको मुद्दा असान्दर्भिक भइसकेको भनेको होइन, तिनै मुद्दाहरूमा हामी काम गरिरहेका छौं । अब कसरी जाने भन्ने प्रक्रिया एउटा हो । भूमिसँग जोडिएका सवाल धेरै छन् । जमिन ससाना टुक्रा भएर गए । जमिनलाई कसरी जोगाउने भन्ने प्रश्न पनि उत्तिकै छ । टुक्राटुक्रा जमिनलाई एकीकृत गर्नुपर्‍यो भन्ने सवाल पनि उत्तिकै उठिरहेको छ । चक्लाबन्दी जमिन र खेतीपातीको कुरा पनि आइरहेको छ । यसको समस्या भनेको व्यक्तिगत स्वामित्वका कारण पनि हो ।

The law is going to be amended to give the farmers red food

यो जमिन मेरो हो म दिन्नँ भन्ने अडान पनि छ । जमिनको मामलामा सरकारभन्दा व्यक्ति बलियो भएको जस्तो देखिएको छ । यसलाई पनि एउटा विधि बनाएर समाधानतर्फ लानुपर्नेछ । भूउपयोग ऐन लागू गरिएको छ । सबै स्थानीय तहले आआफ्नो क्षेत्रको भूउपयोग योजना बनाइरहेका छन् । त्यसका लागि राष्ट्रिय तहमा पनि एउटा समिति छ । त्यसले जमिन व्यवस्थापन र उपयोगको योजना बनाउनेछ, सरकारी र सार्वजनिक जमिनको रेकर्ड व्यवस्थापन गर्नेछ । तथ्याङ्कहरू पनि अद्यावधिक हुनेछन् । संरक्षण गर्नुपर्ने जमिनको संरक्षण योजना पनि बन्नेछ ।

नेपालको भूमि समस्यालाई कसरी अध्ययन गर्नुभएको छ ? यसको समाधान कसरी गर्ने होला ?

भूमि समस्या जटिल समस्याकै रूपमा छ । हामीकहाँ नियम बनाउने, पालना नगर्ने समस्या छ । समाधानका लागि बनाइने नियमको पालना अलिक कडैसँग गर्नुपर्ने अवस्था छ । पहाडको बसाइलाई आकर्षित गर्न पनि सरकारले सोचेर योजना ल्याउनुपर्नेछ । मानिस जहाँजहाँ बसेका छन्, त्यहीं नै विकास दिने गरी सरकारले नसोच्ने हो भने भूमिहीनको समस्या समाधान गर्न चुनौती छ । भविष्यमा भूमिसम्बन्धी समस्या नदोहोरिने, सधैंका निम्ति समाधान हुने गरी भूमिहीनको समस्या अन्त्य गर्नुपर्छ । छलफल र विधि पनि अपनाएर अघि बढ्न खोजेका छौं ।

भूमि समस्या अन्त्य गर्न नेपालमा थुप्रै आयोग बने, तर समस्या जस्ताको तस्तै छ । ॅसरकारले पटक–पटक बनाएका आयोग असफल रहे’ भन्यौं भने यो टिप्पणीमा तपाईंको जवाफ के हुन्छ ?

आयोग त बने, तर आयोगको नेतृत्वमा बस्नेहरूको इच्छाशक्ति नभएर, कतिपय विधिविधान मिलाउन नसकेर भूमिहीनका समस्या समाधान हुन सकेनन् । कानुन प्रभावकारी नभएकाले पनि कतिपय समयमा काम गर्न नसकिएको अवस्था पनि हो । अर्कोतर्फ आयोगचाहिँ बनाइदिने तर अधिकार नदिने भएर पनि काम गर्न नसकेको अर्को समस्या हो ।

२०४६ सापछिको परिवर्तनपछि सरकार छिटो छिटो परिवर्तन भइरहने समस्याको असर भूमि आयोगमा पनि पर्‍यो । जुन सरकार बन्यो, उसैले भूमि आयोग बनाउने र ढाल्ने खेल चलिरह्यो । निरन्तर रूपमा आयोगले काम गर्न नपाएपछि नतिजा देखिने गरी काम हुन सकेन । तर, २०५१ सालमा बनेको लुम्साली आयोगले चाहिँ केही भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको थियो । त्यो बेला ६०/६५ हजार परिवारले लालपुर्जा पाएका थिए । त्यसयताका आयोगहरूले पर्याप्त कानुनी अधिकार पनि पाएनन् । यस्तो समस्या चिर्नका लागि अहिले हामीले गठन गरेको आयोगलाई अन्तिम आयोग बनाउने र अधिकारसम्पन्न बनाएर भूमिहीनका समस्या समाधान गरौं भनेर लागेका छौं । सोहीअनुसारको कानुनी व्यवस्था गरिदिएका छौं ।

वास्तविक सुकुम्बासीलाई संविधानले नै आवासको ग्यारेन्टी गर्नुपर्छ भनेको छ, त्यस हिसाबले उनीहरूको व्यवस्थापनमा काम गरी नै रहेका छौं । जसको अलिअलि आफ्नो जमिन पनि छ, तर सुकुम्बासी बस्तीमा गएर बस्नेहरू पनि छन् । उनीहरूको हकमा जमिन नै दिनुपर्छ भन्ने बाध्यकारी पनि छैन । त्यस्तो जग्गाबाट सरकारलाई आम्दानी भएको छैन भने त्यस्ता परिवारले बसोबास गरेको जग्गा सरकारसँग किन्ने हो । सुकुम्बासीको हकमा निःशुल्क दिने हो, त्यस्ता अव्यवस्थित बसोबासीले चाहिँ सरकारलाई राजस्व दिएर मात्रै जग्गा दर्ता गराउन पाउँछन् । कहींकतै बढी जग्गा उपभोग गरेर बसेका छन् भने त्यस्तो जग्गा सरकारले आफ्नो नाममा ल्याउन सक्छ ।

तपाईंले पटकपटक 'भूमि समस्यामा हामी असाध्यै गम्भीर छौं’ भन्नुभयो । त्यसो भए भनिदिनुस्, एकीकृत भूमि ऐन कहिलेसम्म आउला ?

जमिनसँग जोडिएका समस्या समाधानका लागि नयाँ भूमि ऐन जरुरी ठानिएको छ । यसको प्रयास र सुरुवात गरिएको छ । यसलाई एउटा टुङ्गोमा पुर्‍याउन सकिन्छ । राम्रोसँग जमिन व्यवस्थापन पनि हुन सकेको छैन । छरिएका बस्ती छन्, फरक भूगोल छ । यसैले समस्या पनि फरकफरक छन् । उत्पादन हुने ठाउँलाई उत्पादनकै लागि छुट्याएर बस्ती बसाउने निश्चित ठाउँ तोक्ने र व्यवस्थापन गर्ने हो भने कृषि उत्पादन पनि बढ्ने र मानिसको बसोबास सुरक्षित हुन्छ भन्ने लाग्छ । अब सरकारको ध्यान त्यता पनि जान्छ । विगतमा राज्यले योजनबद्ध विकासको प्रक्रिया अघि बढाएको भए यो समस्या बाँकी रहने थिएन । अब विगतदेखि नै बिग्रँदै आएको समस्यालाई मिलाउनका लागि सरकारले अलिक ठूलै आँट लिएर अघि बढ्नुपर्नेछ । यसका लागि हामी चाँडोभन्दा चाँडो एकीकृत भूमि ऐन ल्याउनेछौं ।

हालै सरकारले ल्याएको अध्यादेशले मध्यवर्ती क्षेत्र र वन क्षेत्रका केही जग्गा सरकारको नाममा ल्याउने भनेको छ, जहाँ भूमिहीन एवं अव्यवस्थित बसोबासीको घरबास छ । यसो किन भनिएको होला, स्पष्ट बुझाइदिनुस् न !

‘वन बाँड्ने’ भनेको बिलकुल होइन, निकुञ्ज बाँड्ने भनेको पनि होइन । अभिलेखमा वन जनिएको तर वन नभएको र लामो समयदेखि बसोबास गरेका जनतालाई दिऔं भन्ने हो । राष्ट्रिय निकुञ्ज या वन–बुट्यान भएकालाई वन क्षेत्र, आवादी भएकोलाई बसोबास स्थल मान्ने भन्ने हो । पहिलो काम त्यो वन हो कि बस्तीको भनेर नापीले छुट्याउनुपर्छ । त्यसकारण आवादीमा परिणत भएको ठाउँको नापीपछि सरकारको नाममा ल्याउने हो । वनबाट अलग गरेर सरकारको नाममा आउँछ र त्यसपछि बसोबास गरेका परिवारलाई नै एकपटक दर्ता गरिदिने हो । सरकारको नाममा ल्याएपछि मात्रै बसोबास गरेका भूमिहीनलाई दिन मिल्ने भएकाले दीर्घकालीन समाधानका लागि यो प्रावधान ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । २०८० चैत ७ गते भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो। जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा ...
डौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो। केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा ...
— संसदीय सुनुवाइ समितिबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय लिएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइआएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको हो । ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको बताएका हुन्। लामो समय देखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको उनको भनाई छ। मन्त्री पौडेलले पोलिसी ...
— अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य जिम्मेवारी न्यायाधीशहरूको रहेको न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काले बताएका छन् । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा खड्काले न्यायालयप्रति जनआस्था अभिवृद्धि मुख्य व्यक्ति न्यायाधीश नै भएको बताएका हुन् । संसदीय सुनुवाइ समितिमा खड्काले न्याय सम्पादन जनसरोकारको विषय भएको बताए । उनले भने, 'न्याय सम्पादनको ...