— पाथीभरा देवीको मन्दिरसम्म पुग्ने केबलकार निर्माण रोक्नुपर्ने मागसहित आन्दोलनरत संघसस्था र समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले सडक ठप्प पारेका छन् भने बजारमा समेत बन्दको प्रभाव देखिएको छ।
माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएका आन्दोलनरत समूहले आइतबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र धनकुटा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रका मुख्य राजमार्गसँगै सहायक र भित्री सडकमा समेत बिहानैदेखि गाडी गुडेका छैनन् ।
पहाडी जिल्लामा बिहानैदेखि यातायात र ढुवानीका साधन ठप्प छन् भने झापाको विर्तामोड र सुनसरीको इटहरी लगायतका ठूला बजारमा आन्दोलनकारीले झण्डासहित सडकमा निस्केर बन्द गराइरहेका छन् । बन्द गराउने क्रममा प्रहरीले झापाको दमकबाट पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बूलाई आज बिहानै पक्राउ गरेको छ ।
पाथीभरा मन्दिरमा केबलकार निर्माण गर्ने ठेक्का पाएको प्राइभेट लिमिटेड कम्पनीले काम सुरु गरेपछि त्यो क्षेत्र अशान्त बनेको हो । पछिल्लो समय केबलकार निर्माण प्रक्रियालाई सघाउन तल्लो फेदी नजिक सशस्त्र प्रहरीको टुकडी स्थापना भएपछि पटक –पटक झडप भएका छन् ।
पछिल्लो पटक भएको झडपमा घाइते भएका आन्दोलनकारीको उपचार तथा पक्राउ परेकाहरुलाई रिहाइसँगै पाथीभरा क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरी केबलकार निर्माण प्रक्रिया स्थगित गर्न माग गर्दै बन्दको आह्वान भएको हो । माघ २२ गते सम्ममा पनि मागको सम्वोधन नगरे आमहड्ताल गर्ने तयारी भइरहेको आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।
आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ चुम्लुङ, १ नम्वर प्रदेश पुनः नामाङ्कन संघर्ष समिति लगायतका संघ संस्था केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनमा छन् । केबलकार निर्माण गर्दै प्रकृतिमाथि दोहन हुनका साथै त्यहाँको सांस्कृतिक सौन्दर्य गुम्मने आन्दोलनकारीको भनाइ छ ।