: खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सबै सामुदायिक विद्यालयमा शुद्ध तथा स्वच्छ खानेपानी निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
वीरगन्ज–१३ राधेमाईमा रहेको साउथ जोन माविको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने,‘देशभरका सबै सामुदायिक विद्यालयहरूमा शुद्ध तथा स्वच्छ खानेपानी निःशुल्क रूपमा जडान र वितरण गर्ने प्रतिबद्धता यही कार्यक्रम मार्फत व्यक्त गर्छु।’
एक वर्षभित्र २७ प्रतिशतबाट शुद्ध खानेपानीको पहुँचलाई ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित खानेपानी मन्त्रालयले काम गरिरहेको पनि उनले बताए।
सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क खानेपानी जडान तथा वितरण गर्न शिक्षा मन्त्रालयबाट सहसचिव र खानेपानी मन्त्रालयबाट सहसचिव मिना श्रेष्ठको नेतृत्वमा एक विशेष टोली गठन गरिसकिएको भन्दै उनले उक्त टोली गृहकार्यमा जुटिसकेको जानकारी समेत गराए।
देशभरका सामुदायिक विद्यालयहरूमा निःशुल्क शुद्ध खानेपानीको जडान तथा वितरण कार्य केही दिनमै सुरु गरिने उनले बताए। फरक प्रसंगमा मन्त्री यादवले विद्यालयमा अध्ययनरत आफ्ना छोराछोरीको शैक्षिक गतिविधिबारे हरेक अभिभावकले चासो राख्नुपर्ने सुझाव दिए।
विद्यालयबाट घर फर्किएपछि विद्यार्थीहरूको गृहकार्य, अध्ययन तथा अन्य गतिविधिमा अभिभावकहरूले ध्यान दिनु आवश्यक रहेको बताए।
विद्यालय व्यवस्थापनदेखि अन्य प्रशासनिक पक्षबारे नि अभिभावकहरूले आफ्नो दायित्व ठानेर चासो राख्नुपर्ने उनको भनाइ थियो।