— पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपीएफ क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुपले उपाधि जितेको छ ।
पोखरा रंगशालामा आइतबार सकिएको फाइनल खेलमा एपीएफलाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा स्तब्ध पार्दै आयोजकले उपाधि हात पारेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेटमा २५–१६ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो ।
पहिलोपल्ट सहभागिता जनाएको आयोजक टोलीले उपाधिसँगै ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको एपीएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । हाल पुरुषतर्फ उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।