— नेपाल र चीनको सीमाक्षेत्र भोटेकोशी–२ लिपिङ बजारको माथि लिपिङ वन क्षेत्रमा दुई दिनयता लागेको भीषण डढेलोले राङबुसा गाउँ जोखिममा परेको छ । तातोपानीको विकट राङबुसा गाउँमा थामी र तामाङ समुदायका २० परिवारको बसोबास छ । गाउँछेउमा डढेलो पस्ने जोखिम बढेपछि स्थानीयले थातथलो जोगाइदिन गुहार मागेका छन् ।
‘गाउँमा आगो पस्ने त्रासमा हामी दुई दिनदेखि निदाउन सकेका छैनौं, जंगलभरी धुवाको डरलाग्दो मुस्लो बनेको छ । गाउँभन्दा केही मिटर परमात्रै आगो सल्किँदै गएको देखिन्छ,’ राङबुसाकी रिता थामीले भनिन् ।
लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको टनेल साइडबाट सुरु भएको आगलागी सोमबार अबेरसम्म पनि नियन्त्रणमा आएको छैन । भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार १६ दशमलव २६ मेगावाटको जलविद्युत आयोजनाको टनेल बाहिरको संरचनामा शुक्रबार एक्कासी तारमा करेन्ट सर्ट भएर आगो लाग्न थालेको थियो ।
आइतबार जलविद्युत आयोजनाले खर्च व्यहोर्ने गरी गाउँपालिकाले हेलिकप्टर मगाएर भोटेकोशी नदीबाट पानी बोकेर निभाउने प्रयास समेत गरेको थियो । उक्त प्रयासबाट पनि गाउँतर्फको जंगलमा डढेलो नरोकिएको स्थानीय सरजु लामाले बताए । ‘पहिलेको तुलनामा डढेलो केही नियन्त्रणमा त आए पनि हुरीले आगो बढाइरहेको छ,’ उनले भने ।
आइतबार दिनभर हेलिकप्टरले ५४ पटकसम्म पानी खन्याएको थियो । तर एकपटकमा ८०० लिटर मात्रै पानी बोक्न सक्ने भएका कारण आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले गुनासो गरेका छन् । शुक्रबारदेखि दुर्गम भेग लिपिङ माथिल्लो भेगमा सुरक्षाकर्मी र स्थानीयको डढेलो निभाउने प्रयास हावाहुरीका कारण असफल भएको थियो ।
आगो बढ्दै गएर गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने जंगल र भीरक्षेत्रमा सल्किँदा निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । मान्छेबाट डढेलो नियन्त्रणमा आउन सम्भव नदेखिएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर निभाउने प्रयास गर्न थालिएको उनले बताए ।
‘राङबुसा गाउँ जोगाउन भोटेकोशीबाट पानी बोकेर निभाउने प्रयास भइरहेको छ, पूरा नियन्त्रणमा आइसकेको छैन्,’ उनले भने । आगो निभाउन अहिले सशस्त्र, सेना र नेपाल प्रहरी खटिएका छन् । हेलिकप्टरको एउटा बकेटमा आठ सय लिटर मात्र पानी अटाउने भएकाले आगो निभाउन सकस भएको उनले जनाए ।