: झापामा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। कनकाई नगरपालिका-१ जुकेकल्भर्टस्थित सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान साढे ४ बजे आफैँ अनियन्त्रित भई पूर्व-पश्चिम राजमार्गको डाइभर्सनमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका-६ स्थित शरणामती निवासी अन्दाजी ५० वर्षीय हरिप्रसाद सिटौलाको टाउको र निधारमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।