— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो ।
चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ।
किसानले उत्पादन गरेका कृषि उपज गाउँपालिका केन्द्र खलंगास्थित संकलन केन्द्रमा जम्मा गर्ने गरिएको र त्यसैका आधारमा किसानलाई अनुदान दिने गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख मोती आचार्यले जानकारी दिए ।
कृषि उपजको मल्लरानी साना किसान कृषि सहकारीले बिक्री वितरण गरेर तथ्यांक राख्ने काम गर्छ । संकलन केन्द्रले राखेको तथ्यांकका आधारमा गाउँपालिकाले अनुदान दिने गरेको छ । गाउँपालिकाले चालू आवमा पहिलो पटक १३ जना र दोस्रो पटक १३ जना किसानलाई एक लाख ४१ हजार नौ सय ५० रुपैयाँ नगद अनुदान दिइएको कृषि शाखा प्रमुख आचार्यले जानकारी दिए ।
पहिलो त्रैमासिकमा फलफूल १ सय १८ केजी, प्याज लसुन ४ सय ६९ केजी, तरकारी ४ हजार ५ सय ५७ केजी संकलन केन्द्रमा आएको थियो । संकलन केन्द्रले त्यसलाई बिक्री वितरण गर्ने गर्छ । दोस्रो त्रैमासिकमा फलफुल तरकारी ४ हजार ५ सय ७५ किलो, खसिबोका (जिउादो) १ सय ११८ किलो, अण्डा ३ सय ३६ क्यारेट लगायत कृषि उपज किसानले संकलन केन्द्रमा जम्मा गराएका थिए ।
कृषि उपज हेरि गाउँपालिकाले न्यूनतम ५ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म प्रतिकिलो अनुदान दिँदै आएको छ । मह/घ्यूमा ५० रुपैयाँ, खसीबोकामा २० रुपैयाँ, प्याज/लसुन/अदुवामा १५ रुपैयाँ, फलफूलमा १५ रुपैयाँ र अरु तरकारीमा १० रुपैयाँ प्रतिकिलो अनुदान तोकिएको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बताए ।
‘किसानलाई कृषिमा व्यवसायिक बनाउन उत्पादनका आधारमा अनुदान कार्यक्रम सुरु गरेका हौं,’ उनले भने,‘पहिलेको तुलनामा कृषि उपज उत्पादन गर्ने किसानको संख्या बढेको छ ।’ सुरु–सुरुमा दुई चार जना मात्रै किसान संकलन केन्द्रमा आउने गरेकोमा पछिल्लो समय किसानको संख्या पनि बढेको छ ।