— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए ।
सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
विसं २०६४ मा संविधानसभाको निर्वाचनमा काठमाडौं १ बाट निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उनको भनाइ थियो । 'काठमाडौं-१ मा पर्ने सबै सामुदायिक विद्यालयको स्तर सुधार्न तीनै तहको सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दो काम गरेका छौँ । हाम्रो निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैनन् । राम्रो नतिजा सुन्न पाउँदा खुसी लागेको छ,' उनले भने ।
उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको उल्लेख गरेका थिए । विद्यालयलाई अझ राम्रो बनाउन निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले मिलेर काम गरिरहेको पनि उनको भनाइ थियो ।