मुख्य समाचार
‘नो केबलकार आन्दोलन’ ले कोशीका ९ जिल्ला प्रभावित
‘नो केबलकार आन्दोलन’ ले कोशीका ९ जिल्ला प्रभावित

— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ ।


कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार आइतबार झापाबाट ८ र सुनसरीबाट ६ जना गरी १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमकमा आन्दोलनकारीले प्रहरीको गाडीको सिसा फुटाएपछि एक राउन्ड हवाई फायर गरेको उनले दाबी गरे । आन्दोलनरत समूहले ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा दुईपाङ्ग्रे सवारी (मोटरसाइकल), तीनपाङ्ग्रे (टेम्पो) समेत चल्न दिएका छैनन् ।


यातायात बन्दको प्रभाव इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा समेत परेको छ । तर झापामा भने बन्दको प्रभाव कम परेको छ । फाट्टफुट्ट सवारी चलेका छन् ।

यातायात बन्दका कारण किसानले तरकारी, फलफूललगायत उपज बजार पुर्‍याउन सकेका छैनन् । ‘माघ २८ मा झापामा छोराको विवाह छ, किनमेल गर्न जाने उपाय नै छैन,’ फुङलिङस्थित मेदिबुङ आधारभूत विद्यालयकी शिक्षिका जानुका सिटौलाले भनिन्, ‘अस्पतालबाट गइरहेका कुनै एम्बुलेन्समा घुस्न सकिन्छ कि भनेर धाइरहेकी छु ।’

मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी एलिसा बस्नेतले भने विवाहका लागि प्रहरीको एस्कर्टिङमा ताप्लेजुङबाट तीन दिनमा बल्ल झापा पुगेको बताइन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापाले यातायात नचल्दा सदरमुकामका होटल पनि सुनसान भएको र व्यवसायी पसल खोलेर बस्नु मात्रै परिरहेको बताए ।

बन्द खुलाउने र वार्ता गर्ने विषयमा आइतबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो ।




आन्दोलनरत समूहमा आबद्ध राजनीतिक दलका प्रतिनिधि, फुङलिङ नगरपालिका प्रमुख, पाथीभरा याङवरक, मेरिङदेन, फक्ताङलुङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष, जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघलगायतका संस्थाका प्रतिनिधि छलफलमा सहभागी थिए ।

आन्दोलनरत राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक भक्त खेबाङले संघीय सरकारले वार्ता समिति बनाएर प्रहरी हिरासतमा रहेका तीन जनालाई बिनासर्त रिहा गर्नुका साथै वार्ता अवधिसम्म निर्माण रोके आन्दोलन स्थगन गर्ने बताए ।

‘हाम्रो मुख्य माग केबलकार खारेजी हो,’ उनले भने, ‘यो माग स्थानीय प्रशासनले पूरा गर्न सक्दैन । त्यसैले संघीय सरकारले बनाएको वार्ता समितिसँगै छलफल गर्छौँ । सरकारले वार्ता समिति बनाएर पक्राउ परेका साथीहरू छाडेर वार्ता हुन्जेल केबलकारको काम रोके बन्द/हडतालका कार्यक्रम तुरुन्तै स्थगन गर्छौँ ।’

सरकारले मागलाई बेवास्ता गरिरहे आन्दोलन अझ सशक्त बनाउने उनले बताए । छलफलमा फुङलिङ नगरप्रमुख अमिर मादेनदेखि सबैजसो गाउँपालिका अध्यक्ष र राजनीतिक दलका प्रमुखले पक्राउ परेका कार्यकर्ता छाडिदिन स्थानीय प्रशासनलाई आग्रह गरेका थिए । ‘कतिपय विषयमा राज्यले संयमता अपनाउनुपर्छ र जनताको सहजताका लागि एक कदम पछाडि सर्नुपर्छ,’ फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले प्रमुख जिल्ला अधिकारीलाई भनेका थिए, ‘प्रहरी नियन्त्रणमा रहेकालाई छोडौं, वार्ता हुन्जेलसम्म निर्माणस्थलमा डोजर नचलाऔं ।’

पाथीभरा याङवरकका अध्यक्ष केशर सुब्बा र मेरिङदेनका अध्यक्ष युकहांविर हाङगामले पनि पक्राउ परेकालाई छाडिदिन प्रशासनलाई अनुरोध गरेका थिए । ‘मान्छेले अस्पतालसम्म पुग्नलाई समस्या भएको छ, थप द्वन्द्वको खतरा बढेको छ, समुदाय विभाजित हुन थालेको छ । त्यसैले पक्राउ परेकालाई छाडेर बन्द फिर्ता गराऔँ,’ उनले भनेका थिए । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने पक्राउ परेका तीन जनालाई अदालतबाट म्याद थप भएकाले २२ गतेसम्म छाड्न नसकिने बताए । ‘हामी मुद्दा लचिलो बनाएर लैजाने विषयमा सहमत छौँ,’ उनले भने, ‘अदालतबाट म्याद थप भएकाले २३ गते अगाडि छोड्ने विषयमा म केही गर्न सक्दिन ।’

स्थानीय प्रशासनको काम सुरक्षा दिने मात्रै भएकाले ‘काम रोक या गर’ भन्ने अधिकार पनि आफूसँग नभएको उनले बताए । त्यसपछि आक्रोशित भएका जनप्रतिनिधिलगायतका सहभागीले ‘हाम्रो सल्लाह नमान्ने भए किन बोलाएको ?’ भनेर प्रजिअ शर्माप्रति आक्रोश व्यक्त गरेका थिए । कांग्रेस नेता एवम् पाथीभरा क्याम्पस सञ्चालक समिति अध्यक्ष सिला इजमले केबलकारको विवाद समुदायसम्म पुगेकाले समाज भड्किएर थप क्षति भए त्यसको जिम्मा प्रशासनले लिनुपर्ने चेतावनी दिइन् ।

पाथीभरामा केबलकार बनाउने र बनाउन नदिनेबीच २०७५ सालदेखि विवाद हुँदै आएको छ । केबलकारको तल्लो स्टेसन रहने ठाउँमा एक्स्काभेटरले जमिन सम्म्याउन थालेपछि गत माघ १२ मा काफ्लेपाटीमा रहेका सुरक्षाकर्मी र प्रहरीबीच झडप भएको थियो । झडपमा तीन आन्दोलनकारी र २१ सुरक्षाकर्मी घाइते भएका थिए ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर आन्दोलनरत पक्षका केही युवा घाइते भएका थिए । घाइते तीनमध्ये उपचारका लागि काठमाडौं पुर्‍याइएको र उनीहरूमध्ये दुई जनालाई अस्पतालले डिस्चार्ज गरेको तर केही दिन ‘यहीँ बस्ने’ भनेर रहेको र अर्का एक जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । सुरक्षाकर्मीतर्फका घाइतेको स्वास्थ्य सामान्य रहेको उनले बताए ।

झडपपछि आन्दोलनरत पक्षले ताप्लेजुङ, ताप्लेजुङबाट पाँचथर, इलाम हुँदै झापाको चारआलीसम्मको मेची राजमार्ग र ताप्लेजुङबाट पाँचथर हुँदै धनकुटाको मूलघाटसम्मको तमोर करिडोरमा यातायात बन्द गरेको छ । काफ्लेपाटीको बलुडाँडामा भएको झडपका विषयमा कोशी प्रदेशसभाका सांसदहरूले समेत प्रश्न उठाएका थिए ।

उनीहरूले आन्दोलनरत समूहसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध गरेका थिए । ताप्लेजुङ १ (२) बाट निर्वाचित कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले प्रदेश सरकारद्वारा गठित शान्ति तथा राजनीतिक वार्ता समितिलाई वार्ताका लागि अनुरोध गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री राम राना नेतृत्वको समितिले वार्ता आह्वान गर्ने निर्णय गरेको थियो ।

तर समितिले आइतबार बेलुकासम्म आन्दोलनरत पक्षलाई पत्राचार गरेको थिएन । आन्दोलनरत पक्षले प्रदेश सरकारसँग वार्ता गर्नुको औचित्य नहुने प्रतिक्रिया दिँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले भने आन्दोलनरत संस्थाका अगुवाको सम्पर्क नम्बर आफूले समितिलाई पठाएको बताए ।

पाथीभरा मन्दिरलाई लक्ष्य गरी फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किलोमिटर लामो केबलकार बन्दै गरेको छ।

आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् अवस्थामा राख्नुपर्ने माग गर्दै आएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर केबलकार निर्माणको काम थालेको थियो । उनीहरूले तीन अर्बको लागतमा १५ महिनामा केबलकार निर्माण सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...
: कात्तिकको सुरुवातमै हिउँ पर्ने दोलखाका उच्च हिमाली भेगहरू कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरिढुंगा उराठ बन्दै गएका छन्। विगत चार वर्षदेखि नै हिमालमा हिउँ देखिन छाडेका छन्। माघ महिनाको अन्तिम सातासम्म पनि माथिल्ला भेगमा हिमपात र तला भेगमा हिउँदे वर्षा हुने छाँटकाँट छैन। दोलखाका माथिल्ला भेगका किसान बारीमा आलु लगाएर हिउँ पानीको पर्खाइमा छन्। हिउँदे वर्षा नहुँदा ...