: नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्यूरोको फेक इमेल बनाई ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-७ का २० वर्षीय मनिष कुमार मेहता र देवानगन्ज गाउँपालिका-१ का २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार उनीहरूले नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरुको नाम, दर्जा तथा कार्यालयको लोगो समेत दुरुपयोग गरी झुट्टा पत्र तयार गरी यस ब्यूरोको फेक इमेल ([email protected]) बनाएका थिए।
सोही इमेलमार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरी अनुसन्धान सुरु गरेको थियो। उनीहरूलाई विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरिएको सूचना अधिकारी अवस्थीले बताए। दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।