: प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियानलाई सन् २०३० सम्म सफल पार्ने बताएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर सुरू गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले यो अभियानलाई सफल पारेर छोड्ने बताएका हुन्।
'सन् २०३० सम्ममा हामी यो अभियानलाई पूर्णरुपमा सफल पार्छौं। अर्को वर्ष छुटेकालाई पनि लगाउन सकिनेछ,'प्रधानमन्त्रीले भने,'तर,यो विषयमा सबै सजग हुनुपर्छ।'
उनले पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि जनस्वास्थ्यको समस्या नरहनेगरी खोप अभियान शुभारम्भ गरिएको बताए। विद्यालयमा खोपपछि विभिन्न स्वास्थ्य संस्थाबाट विभिन्न कारणले विद्यालय जान नसकेका किशोरीहरूलाई खोप दिइने प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणमा एचपीभी खोप अभियानको ठूलो महत्व हुने बताए। प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउन सबै नागरिक निरोगी हुनुपर्ने बताउँदै सन्तुलित आहारमा जोडदिनुपर्ने बताए। उनले भने,'हामीले निरोगी नेपालको नारा लिएका छौं। यसका लागि आहार, बिहार र आराम तीनवटा कुराको सन्तुलन मिलाउनुपर्छ।'
प्रधानमन्त्री ओलीले यो खोप अभियानमा सहभागी हुन सबै किशोरीहरूलाई आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभर एकैपटक सञ्चालन गर्न लागिएको हो ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।