मुख्य समाचार
व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थाले
व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थाले

— पाँचखाल नगरपालिका–४ स्थित तामाघाटका भरत दनुवारले बारीको छेउमा काउलीको चाङ लगाएका छन् । व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थालेको छ । लाखौं लगानी गरेको फसल सिजन सकिन लाग्दासमेत बिक्री नभएर कुहिन थालेपछि उनी बिखलबन्दमा छन् ।


‘खेतमै कुहाउनुभन्दा व्यापारीले जति भन्छन्, त्यतिमै दिन खोजेको,’ भरतले भने, ‘भाउ भएको बेला हारालुछ हुन्थ्यो, अहिले त कर गरेरै बोलाउनुपरेको छ ।’ व्यापारीलाई उनीहरूले तोकेकै मूल्यमा नदिए खेतमै कुहाउनुपर्ने अवस्था आएको भरतले सुनाए । ‘दुःख–मिहिनेत र लाखौं लगानी गरेको बाली खेर फाल्न पनि मनले मान्दैन,’ उनले भने ।


चार रोपनीमा दुई लाख खर्च गरेर लगाएको काउली राम्रै फलेको थियो । ‘चार लाखसम्मको बिक्री गर्न सकिन्छ कि भन्ने लागेको थियो,’ भरतले भने, ‘सोचेको जस्तो नहुने रहेछ, अहिले लगानी माटोमै मिल्छ कि भन्ने भएको छ ।’ अर्को बाली लगाउने बेला भइसक्दा पनि काउली बिक्री गर्न सकिएको र यसपालिको जस्तो बिक्री गर्ने दुःख कहिल्यै नभोगेको उनले बताए । यस वर्ष चार रोपनीबाट १६ हजार किलो काउली बिक्री गरिसकेका छन् । तर बिक्री भएको काउलीको मूल्य भने पाएका छैनन् ।

‘अहिलेसम्म चार सय झोला काउली व्यापारीलाई दिइसक्यौं, एक झोलामा ४० केजी काउली हुन्छ,’ भरतले भने, ‘व्यापारीले एक पैसा दिएको छैन, बिक्री भएपछि दिन्छु भनेको छ, बजारमा बिक्नै गाह्रो छ भन्छन् ।’ किलोको २० देखि २५ रुपैयाँसम्म काउली बेच्दा किसानलाई घाटा नहुने उनले बताए । ‘काउली बेच्न झोला र डोरी पनि आफैंले किन्नुपरेको छ, पैसा कहिले आउँछ थाहा छैन, घरव्यवहार कसरी चलाउने भन्ने भएको छ,’ भरतले भने ।

भारतबाट सस्तोमा आयात भइरहेकाले यहाँका किसानले तरकारीको भाउ नपाउनुको मुख्य कारण भएको भरतलाई लागेको छ । तामाघाट फाँटमा गोलभेंडा लगाउने समय भएकाले बेर्ना पनि तयार छ । तर किसानले गोलभेंडा रोप्ने खेतको काउली काट्न पाएका छैनन् । महिना दिनअघि नै काटेर बेचिसक्नुपर्ने काउलीको भाउ पाउने आसमा कुरोका किसान मूल्य झन् घट्न थालेपछि दोधारमा परेका छन् ।

पाँचखाल–४ का सीताराम दनुवारले महिना दिनअघि १०/१२ रुपैयाँमा बिक्री भइरहेका बेला पछि भाउ पाइने आसले कुरेर बसे । ‘लगनका बेला बजारमा माग बढ्ने, मूल्य पनि राम्रो पाइन्छ भन्ने सोचेका थियौं,’ उनले भने, ‘त्यस्तो भएन, झन् काउली सस्तियो, यहाँ त किसानले ३ देखि ५ रुपैयाँसम्ममा बेचिरहेका छन् ।’

कतिपय किसानले मजदुरकै खर्च नउठ्ने भएपछि बिक्री नै नगरेको सीतारामले जनाए । कतिपयले बिक्री भएअनुसार लिने गरी काउलीको मोल नै नगरी व्यापारीलाई दिएका छन् । ‘मूल्य कुर्दा खेतमै काउली कुहिने बेला भइसक्यो,’ उनले भने, ‘अर्कोतिर अर्को बाली लगाउन बितिसक्यो, गोलाभेंडाका बेर्ना तयार भइसके, किसानले तरकारी बेच्ने बेला सधैं यस्तै त हुने हो ।’




पाँचखालका किसानको तुलनामा पनौतीमा थोरै भए पनि मूल्य पाएका छन् । पनौती नगरपालिका–८ मल्पीका शशिकुमार महतले हालसालै १०–१२ रुपैयाँमा काउली बिक्री गरेका छन् । बजारमा माग नभएकाले पनि काउलीको मूल्य सस्तो भएको उनको अनुमान छ । ‘विगतको तुलनामा यो वर्ष धेरै नै सस्तो हो’, उनले भने, ‘यही सिजनमा पोहोर ३०–३५ मा बेचेको थिएँ, यति सस्तोमा बेच्दा किसानलाई त निकै घाटा हुन्छ ।’

तरकारीको सिजनअनुसार मूल्य निर्धारण नगरिँदा आफूहरूले सधैं मार खानुपरेको किसानको गुनासो छ । काउलीसँगै अन्य तरकारीको पनि उचित मूल्य नपाएको किसान बताउँछन् । यति बेला पाँचखालका फाँटैभरि किसान भेटिन्छन् । पाँचखाल–२ का राजाराम मिश्रले खेतबाटै ३५ रुपैयाँ किलोमा आलु बिक्री गरेका छन् ।

‘यो सिजनमा आलुको मूल्य कम्तीमा ४०–४५ हुनुपर्थ्यो,’ उनले भने, ‘यो भाउले त किसानलाई घाटा भइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक तरकारी खेती गर्दै आएकी पनौती–८ स्थित खरीबोटकी इन्दु श्रेष्ठले १६ रोपनीमा १५० वटा टनेल बनाएर गोलभेंडा खेती गरेकी छिन् । दुई/तीन सातायता गोलभेंडाको मूल्य घट्दा २४ किलोको क्रेट ४५० मा बेचिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक करिब ६ ...
। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख विनियोजित बजेटमध्ये १७.७९ प्रतिशत मात्रै खर्च भएको छ । माघ मसान्तसम्मको कुल खर्च १२ अर्ब ३१ लाख ७५ हजार मात्र बजेट खर्च ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति भएको छ । नेपाल मिसन प्रमुख सरवत जहाँको नेतृत्वमा फेब्रुअरी ६ देखि २० सम्म गरेको काठमाडौं भ्रमणका क्रममा यस्तो समझदारी भएको आईएमएफले जनाएको छ । यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले करिब ४ करोड ...
: नेपालको कुल वैदेशिक व्यापार (वस्तु आयात र निर्यात) १५.७६ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको मासिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउनदेखि माघसम्म) मा नेपालको वैदेशिक व्यापारमा १५ प्रतिशतभन्दा बढीले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। इन्धन, कच्चा पदार्थ र प्रविधि सामग्रीको उच्च आयातसँगै निर्यात संरचनामा ...
: गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्र्रसारणलाइन चार्जमा ल्याएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकै उपस्थितिमा थप प्राविधिक निरीक्षणपछि परीक्षणमा रहेको उक्त प्रसारणलाइन चार्जमा ल्याइएको हो। शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को लाइन तथा सवस्टेसनको स्थलगत अनुगमन गरेका छन्। उनले गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास ...