मुख्य समाचार
अमेरिकामा कामविहीन बन्दै नेपाली विद्यार्थी
अमेरिकामा कामविहीन बन्दै नेपाली विद्यार्थी

— गत साता कलेज समय सकिएपछि हतारिँदै काममा पुगेकी रीतिका मैनाली (नाम परिवर्तन) निराश हुँदै आफ्नो अपार्टमेन्टमा फर्किइन् । म्यानेजरले कामबाट हटाएको सुनाएपछि उनी निराश मात्र भइनन् तनावमा पनि छिन् ।



‘कलेज फि तिर्ने बेला आइसक्यो, यहिबेला म कामविहीन भएँ । नेपालबाट मलाई पैसा पठाउन सक्नुहुन्न, अब म के गरुँ ?’ गहभरि आँसु बनाउँदै उनले भनिन् । टेक्सासको कम्युनिटी कलेजमा नर्सिङ अध्ययन गर्दै आइरहेकी रीतिका टेक्सासकै इर्भिङस्थित सेभेन इलाभेन ग्यास स्टेसनमा काम गर्थिन् ।

साताको ४५ घण्टा काम गर्ने उनले बसोबास, खाना र खाजा खर्चसँगै कलेज शुल्क जेनतेन पुर्‍याइरहेकी थिइन् । उनी अमेरिका आउँदा लिएको ऋणसमेत तिर्ने योजनामा थिइन् । ‘कामबाट कमाइ ठिकै थियो, बुबाआमामाथि थोपरिएको ऋण बिस्तारै तिर्दै जाने सोच थियो, अब खानसमेत धौ–धौ हुने भयो,’ उनले दुखेसो गर्दै भनिन्, ‘म मात्र होइन मेरा सबै साथीहरूको अवस्था यस्तै छ ।’

रीतिका त एक उदाहरण मात्र हुन्, उनी जस्तै हजारौं नेपाली विद्यार्थी अमेरिकामा अहिले कामविहीन बनेका छन् । न्युयोर्क युनिभर्सिटीमा स्नात्तकोत्तर तहमा अध्ययरत विमला पाण्डे (नाम परिवर्तन) को पनि उस्तै गुनासो छ । रेस्टुराँमा काम गर्दै आएकी उनलाई पनि यसै साता कामबाट निकालियो । न्युयोर्क छाडेर अन्त जाँदा काम पाइन्छ कि भनेर साथीहरूसँग सल्लाह गरिरहेको उनले बताइन् ।

‘न्युयोर्क महँगो सहर हो, यहाँ कामबिना कसरी बाँच्न सकिएला र ?’ उनी भन्छिन्, ‘रेस्टु‍राँबाट निकालिएपछि अरू स्टोरमा पनि जोखिम लिएर काम दिन सक्दिन भन्छन्, म यो सहर नै छाडेर जाने सोचमा छु । तर अहिलेको अवस्था हेर्दा लाग्छ, हामी विद्यार्थीले कहीँ पनि काम पाउँदैनौं ।’

सूचना प्रविधि अध्ययनरत उनी एक अपार्टमेन्टमा पाँच जना साथीहरूसँग बस्दै आएकी छन् । आफू मात्र होइन, सँगै बस्ने साथीहरू पनि कामको खोजीमा भौतारिरहेको उनले बताइन् । सबै अरू राज्यमा भएका साथीहरूलाई दिनहुँ सोधिने गरेको र उनीहरूमध्ये कोहीलाई कामबाट निकालिएको र कोही पक्राउ पर्ने डरले आफैं छाडेको विमला बताउँछिन् ।




क्यालिफोर्नियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको अवस्था पनि उस्तै छ । एक्जोन ग्यास स्टेसनमा पूर्णकालीन काम गर्दै आइरहेका विकास परियार (नाम परिवर्तन) ले आफन्तको खोजीमा लागिरहेको बताए । ‘अहिलेसम्म मलाई कामबाट निकालिएको छैन, तर जुनसुकै बेला मैले काम छोड्नुपर्ने भनिएको छ,’ उनी भन्छन्, ‘त्यसकारण म आफन्त जहाँ छन्, त्यहीँ जाने सोचमा छु ।’ आफूसँगै एउटै अपार्टमेन्टमा बस्ने सबै साथीहरूले काम छाडिसकेको र महँगी बढी भएकाले अन्यत्र सर्ने सोच बनाइसकेकाले तत्काल अर्को विकल्प खोज्नुपर्ने रीतिकाले बताइन् ।

रूपेश सापकोटा (नाम परिवर्तन) ले अध्ययनका लागि टेक्सासकै युलेस सहरको एक कलेजमा आएदेखि नै काम पाएका छैनन् । हेटौंडाका रूपेश कामको खोजीमा कलेज ट्रान्सफर गर्दै साइबर सेक्युरिटी अध्ययन गर्न युलेस आइपुगेका हुन् । नेपालबाट आएको चार महिना भइसके पनि काम नपाएपछि उनी दिक्दार देखिन्छन् ।

‘अमेरिकामा राम्रै भविष्य देखेर आएँ, पढाइ पूरा गर्नसके राम्रै हुन्थ्यो होला । पढ्न पैसा चाहिन्छ, पैसाका लागि काम गर्नुपर्छ, काम पाएको छैन, अब कसरी पढुँ,’ उनी भन्छन् । काम पाउन निकै समस्या हुने र काम गरिरहेका साथीहरूलाई निकालिरहेको थाहा पाइरहँदा आफूले काम पाउने आशा नरहेको उनको दुखेसो छ ।

यसकारण कामविहीन बन्दै

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्महरूमा छापा मारिरहेको छ ।

यसै क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमतिपत्र (वर्क पर्मिट) भएकाबाहेकले व्यावसायिक फर्महरूमा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्कासन गर्ने गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ ।

गैरआवासीय नेपाली संघ (एआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडेले इन्डोर कलेजबाहेक अमेरिकामा विदेशी विद्यार्थीले काम गर्न पाउने कुनै प्रावधान नरहेको बताउँछन् । उनले हाल गैरकानुनी आप्रवासीलाई मात्र होइन, गैरकानुनी काम गरिरहेका जोकोहीलाई पनि प्रहरीले पक्राउ र निष्कासन गरिरहेको र यसको जोखिममा नेपाली विद्यार्थी पनि परेको जनाए ।

‘म आफैं मेरिल्यान्डमा कलेज पढाउँछु, विद्यार्थीको अवस्था मलाई थाहा छ । अहिले विद्यार्थी समस्यामा परेका छन् । उनीहरू कामविहीन मात्र भएका छैनन्, पढाइ पूरा गर्न पनि नसक्ने अवस्थामा छन्,’ कान्तिपुरसँग उनले भने, ‘विदेशी विद्यार्थीले यहाँ कलेजबाहिर काम गर्न पाउँदैनन् । वर्क पर्मिट लिएर काम गर्ने नेपाली विद्यार्थी अत्यन्त न्यून छन् । वर्क पर्मिट लिन विद्यार्थीलाई निकै गाह्रो हुने भएकाले उनीहरूले आपसी समझदारीमा काम गर्दै आइरहेका छन् ।’


एआरएनए अमेरिकाको तथ्यांकअनुसार हाल अमेरिकामा करिब ५० हजार नेपाली विद्यार्थी छन् । एआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बञ्जाडेले पछिल्लो ३ वर्षमा अमेरिकामा नेपाली विद्यार्थीको संख्या बढ्दो रहेको बताए । नेपाली विद्यार्थीको संख्या एउटै कलेजमा एक हजारभन्दा बढी रहेको उनको दाबी छ । उनका अनुसार न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, भजिर्निया, फ्लोरिडा, ओक्लाहोमा, ओहायो, नर्थ क्यारोलाइना, कोलोराडो, वासिङ्टन, मेरिल्यान्ड र मासाच्युसेट्समा नेपाली विद्यार्थी बढी छन् ।

अमेरिकामा विदेशी विद्यार्थीले इन्डोर कलेज वर्क गर्न पाउने प्रावधान छ । प्रायः ठूला युनिभर्सिटीमा सीमित संख्यामा ‘इन्डोर कलेज वर्क’ पाउने भएकाले कम्युनिटी कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि व्यावसायिक फर्महरूमा काम खोज्नुको विकल्प छैन । युनिभर्सिटीले ‘सोसल सेक्युरिटी नम्बर’ (सामाजिक सुरक्षा दर्ता) लिई करको दायराभित्र रहेपछि मात्र इन्डोर कलेज वर्क गर्न पाइन्छ ।

यसअन्तर्गत कलेज प्रशासनले लाइब्रेरी, रेसिडेन्ट हल, कन्फरेन्स हल, किचेन व्यवस्थित गर्ने काम साताको २० घण्टासम्म गर्न दिन सक्छ । एकातर्फ संख्या सीमित हुने र धेरै समय नहुने भएकाले अधिकांश विद्यार्थीले भने कलेजबाहिरै काम खोज्ने गर्छन् । जुन अमेरिकामा गैरकानुनी हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम