मुख्य समाचार
प्यालेस्टिनी समूह हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित
प्यालेस्टिनी समूह हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित

— प्यालेस्टिनी समूह हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । इजरायलले थुनामा रहेका थप प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने गरी शनिबार हमासले गाजामा बन्धक बनाइएका तीन जना इजरायलीलाई मुक्त गर्ने योजना थियो । तर इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको बताउँदै हमासले बन्धक रिहाइ स्थगित गरेको जनाएको हो ।



त्यसपछि रूष्ट ट्रम्पले भने शनिबार दिउसो १२ बजेसम्म हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने चेतावनी दिएका हुन् । उनले बन्धक रिहा नगरिए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएका सीएनएनले जनाएको छ । 'मेरो विचारमा शनिबार १२ बजेसम्म उनीहरू सबैजना फर्कनुपर्छ । दुई र एक र तीन र चार र दुईजना गरेर किस्ता किस्तामा गरेर होइन,' ट्रम्पले भनेका छन्, 'मैले मेरो विचार राखेको हुँ । इजरायलले यसलाई सच्याउन पनि सक्छ ।'

हमासको नियन्त्रणमा अझै ७६ जना छन् । तीमध्ये ७३ जनालाई हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणसँगै बन्धक बनाएर लगेको थियो । ७३ मध्ये एक नेपाली विपिन जोशी छन् । कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । तीन जना भने एक दशकअघि देखिनै हमासको नियन्त्रणमा छन् ।

इजरायली रक्षामन्त्री इजरायल कात्सले बन्धनको रिहाई रोक्नु युद्धविरामको पूर्ण उल्ल‌घन भएको बताएका छन् । उनले सेनालाई सतर्क अवस्थामा रहनसमेत निर्देशन दिएका छन् । 'गाजामा सम्भावित जुनसुकै अवस्था र समुदायको सुरक्षाका लागि उच्च सतर्कतामा रहन आदेश दिएको उनको भनाइ छ । 'हामी ७ अक्टोबरको वास्तविकता फर्कन दिने छैनौँ,' उनले भनेका छन् ।

तर इजरायले युद्धविराम सम्झौताअनुसार आफ्नो दायित्व पूरा गरेको खण्डमा भने शनिवार हुने बन्दी आदानप्रदानको ढोका खुला रहने हमासले जनाएको छ । समाचार संस्था एएफपीका अनुसार हमास प्रवक्ता अबु ओबेदाले इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता गर्न ढिलाइ गरेको, स्थानीयमाथि गोली चलाएको र सहमतिअनुसार मानवीय सहायता वितरणमा अनुमति नदिएको आरोप लगाएका छन् ।

हमास र इजरायलबीच १९ जनवरीदेखि युद्धविराम सुरू भएको थियो । त्यसयता १६ इजरायली र ५ जना थाई बन्धक रिहा भएका छन् । त्यसको बदलामा इजरायली जेलमा रहेका ५ सय ६६ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ ।



तीन चरणको युद्धविरामको पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जनालाई रिहा गर्ने सहमति भएको थियो । त्यसका बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गर्ने सम्झौतामा उल्लेख छ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार ३३ मध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरू भएको १६ दिनपछि वार्ता हुने उल्लेख छ । तर वार्ता भने सुरू हुन सकेको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ । तेस्रो चरणमा गाजाको पुननिर्माणको योजना समेटिएको छ ।

हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४८ हजार १ सय ८९ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ । ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...