मुख्य समाचार
पेरिस एआई सम्मेलनको प्रस्तावमा हस्ताक्षर गर्न अमेरिका र बेलायतले गरे अस्वीकार
पेरिस एआई सम्मेलनको प्रस्तावमा हस्ताक्षर गर्न अमेरिका र बेलायतले गरे अस्वीकार

— अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत देशका उच्च नेतृत्वको सहभागितामा फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञलगायत सहभागी थिए । सम्मेलनको प्रस्तावना समेटिएको संयुक्त विज्ञप्तिमा अमेरिका र बेलायतले हस्ताक्षर गर्न अस्वीकार गरे भने युरोपेली संघले एआई नियमनमा अलि उदार हुने संकेत दिएको छ ।


फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले अध्यक्षता गरेको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहअध्यक्षका रूपमा उपस्थित थिए । अमेरिकी उपराष्ट्रपति जेडी भान्स, चिनियाँ उपप्रधानमन्त्री झाङ जियोकिङ, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायतले वक्ताका रूपमा सहभागिता जनाएका थिए ।


सम्मेलनमा समावेशी र दिगो एआई विकासको प्रवर्द्धन गर्ने विषयमा तयार गरिएको घोषणापत्रमा अमेरिकी उपराष्ट्रपति भान्स र बेलायतको प्रतिनिधित्व गरेका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव पिटर कायलले हस्ताक्षर गरेनन् । भान्सले एआई नियमनमा युरोपेली संघ कठोर भएको र यसले नवप्रवर्तनलाई प्रभाव पार्ने अभिव्यक्तिसमेत दिए ।

फेब्रुअरी १० र ११ मा आयोजित पेरिस एआई सम्मेलनले विश्वका विभिन्न राजनीतिक, व्यावसायिक र प्राविधिक नेतृत्वलाई एकसाथ ल्याएको थियो । एआई नियमनका लागि विश्वव्यापी मापदण्ड स्थापित गर्ने उद्देश्य राखिएको यो सम्मेलनमा एआईको नैतिक, दिगो र समावेशी प्रयोग र विकासको दृष्टिकोणमा जोड दिइएको थियो । सम्मेलनको प्रमुख आकर्षणमध्ये एक युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनको मन्तव्य थियो । उनले युरोपलाई एआईसम्बन्धी नवीनतम विकासमा अग्रसर बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

‘हामी चाहन्छौं, युरोप एआईको क्षेत्रमा अगाडि बढोस्,’ उनले भनिन्, ‘ता कि हामीले एआईलाई हाम्रो दैनिक जीवन र प्रयोगको अभिन्न हिस्सा बनाउन सकौं ।’ युरोपमा एआई लगानीका लागि २ सय अर्ब युरो परिचालन गर्ने योजना पनि उनले सार्वजनिक गरिन् । यो लगानीलाई ‘सर्न’ भनिने युरोपेली आणविक एजेन्सीजस्तै चारवटा एआई गिगाफ्याक्ट्री स्थापना गर्न प्रयोग गरिने उनको भनाइ थियो ।


अमेरिकी उपराष्ट्रपति भान्सले एआई क्षेत्रमा अहिले व्याप्त अधिक नियमनका प्रयासको आलोचना गरे । त्यसले एआईको विकासमा बाधा पुर्‍याउन सक्ने उनको धारणा थियो । एआई प्रणालीलाई वैचारिक पूर्वाग्रहबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै भान्सले भने, ‘एआई क्षेत्रमा अहिले भइरहेको विकास औद्योगिक क्रान्ति वा स्टिम इन्जिनको विकास जत्तिकै महत्त्वपूर्ण समय हो । हाम्रो प्रयास अमेरिकामा विकास भएका एआई प्रविधि र प्लाटफर्महरू कुनै पनि विचारधाराका पूर्वाग्रहबाट मुक्त राख्नेमा केन्द्रित हुनेछ ।’ उनले प्राविधिक रूपमा अमेरिका सधैं अगाडि रहने र त्यसका लागि युरोपेलीलगायत सरकारहरूसँग मिलेर काम गर्ने प्रस्ट पारे ।

कार्यक्रममा सक्रिय सहभागिता जनाएका भारतीय प्रधानमन्त्री मोदीले एआईको परिवर्तनकारी क्षमता र सम्भावित जोखिमबारे चर्चा गरेका थिए । ‘हामी एआई युगको सुरुवातमा छौं, जहाँ प्रविधिले हाम्रो अर्थतन्त्र र समाजलाई पुनः परिभाषित गर्दै लगेको छ,’ उनले भने, ‘यसको उच्चतम फाइदा उठाउन हामीले पारदर्शी र धेरैभन्दा धेरै ओपन–सोर्स प्रणालीहरू विकास गर्न जरुरी छ ।’ निष्पक्ष र लोकतान्त्रिक एआईको आवश्यकता औंल्याउँदै यसका लागि विश्वव्यापी सहकार्य जरुरी भइसकेको मोदीको निष्कर्ष थियो ।



सम्मेलनमा एआईले रोजगारी, गोपनीयता र सामाजिक सुरक्षामा पार्ने प्रभावबारे पनि गहन छलफल भएका थिए । एआईको व्यापक निगरानी र एल्गोरिदमिक बायस (पूर्वाग्रह) जस्ता सम्भावित दुरुपयोगका विषयमा चर्चा भएको थियो । सो क्रममा एम्नेस्टी इन्टरनेसनलले मौलिक अधिकारहरूको रक्षा गर्न प्रतिबद्धताको आवश्यकता रहेको उल्लेख गर्दै एल्गोरिदमको दुरुपयोगका जोखिमहरूबारे प्रकाश पारेको थियो । सम्मेलनमा एआईको नकारात्मक मात्रै नभएर सकारात्मक पक्षमा समेत पर्याप्त बहस भएको थियो ।

एआईले आर्थिक वृद्धि र नवीनतम सोच विकासमा थपेको सम्भावनाबारे विज्ञहरूले बोलेका थिए । यसै क्रममा सम्मेलन आयोजक फ्रान्सले एआई क्षेत्रमा १०९ अर्ब युरोको निजी लगानी घोषणा गर्‍यो । यसलाई डेटा सेन्टर र एआई प्रविधि पूर्वाधार विकासमा लागनी गर्न प्राथमिकता दिइएको छ । यो लगानीले रोजगारी सिर्जना गर्ने र फ्रान्सलाई विश्वव्यापी एआई क्षेत्रमा एक प्रमुख खेलाडीका रूपमा स्थापित गर्ने अपेक्षा फ्रान्सेली नेतृत्वको थियो ।

सम्मेलनले भू–राजनीतिक तनावहरूलाई पनि उजागर गरेको पाइयो । विशेष गरी अमेरिका, चीन र युरोपबीच चिसिँदै गएको राजनीतिक सम्बन्धको असरको संकेत सम्मेलनमा देखियो । अमेरिकाले सम्मेलनका प्रस्तावनाहरू समेटिएको संयुक्त विज्ञप्तिमा हस्ताक्षर नगर्नुलाई एआई नियमनबारे विभिन्न देशका फरक दृष्टिकोण र त्यसमा रहेको असहमतिका रूपमा व्याख्या गरिएको छ ।

सम्मेलनकै आकर्षणका रूपमा चर्चित चिनियाँ प्रविधि कम्पनी डिपसिकले आफ्नो एआई प्रविधिका प्रगतिहरूबारे प्रस्तुति दिएको थियो । डिपसिकले एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई थप चर्काएको र अमेरिकी कम्पनीको एकलौटी प्रभावमा चुनौती दिएको संकेत दिएको थियो । सम्मेलनका लागि मेट्रो स्टेसन बन्द गर्ने र सुरक्षालाई ध्यान दिँदै आवतजावतमा निगरानी गरिएकामा फ्रान्सेलीहरूले आलोचनासमेत गरे ।

सम्मेलनको अध्यक्षता गरेका फ्रान्सका राष्ट्रपति म्याक्रोंले एआईको विकास र विस्तारमा फ्रान्सको प्रतिबद्धता पुनः प्रकट गर्दै फ्रान्स एआई विकासको दौडमा फर्किएको घोषणा गरे । आफूसँग भएको हरित र नवीकरणीय ऊर्जाका स्रोतहरूले एआई विकास सहज बनाउने उनको दाबी थियो । ‘हामीले एआईको विकास अघि बढाउँदा त्यसले मानव जगत्को सेवा गरोस् र हाम्रा मूल्य–मान्यताको सम्मान गरोस् भन्नेमा ध्यान दिन जरुरी छ,’ म्याक्रोंले भने । एआईको विकास र नियमनका लागि अमेरिका, चीनलगायत विश्वव्यापी सहकार्य आवश्यक रहेकामा उनले जोड दिए ।

यसअघि सन् २०२३ मा पहिलो पटक बेलायतमा र गत वर्ष दक्षिण कोरियाको सोलमा एआई सम्मेलन भएको थियो । यस पटक चिनियाँ एआई मोडल डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठूलो परिवर्तनका बीच यो सम्मेलन आयोजना भएकाले यसप्रति धेरैको चासो रह्यो । पहिलो पटक एआई सम्मेलनमा भाग लिएका भारतीय प्रधानमन्त्री मोदीले आगामी सम्मेलन भारतमा गर्ने प्रस्ताव राखेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै मोदीले एआई फाउन्डेसन र सस्टेनेबल एआई काउन्सिल स्थापना गर्ने विषयको स्वागत पनि गरे ।

पेरिस एआई सम्मेलनले आमप्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिने लक्ष्य राखेको थियो । एएफपीका अनुसार पेरिसको १२५ वर्ष पुरानो ओपुलेन्ट ग्रान्ड प्यालेसमा भएको सम्मेलनमा एआई क्षेत्रको वर्तमान अवस्थादेखि भविष्यका लक्ष्यबारे छलफल भएका थिए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...