मुख्य समाचार
इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा
इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा

— ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष गरिरहेका छन ।


विशेषगरी विद्युतीय गाडी निर्माता ‘टेस्ला’ को सेयर मूल्यमा देखिएको निरन्तर गिरावट र सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ को पनि ह्वात्तै घटेको बजार मूल्यांकनले इलन मस्कको ‘दक्षता’ माथि प्रश्न उठेको छ ।


हरेक देशका मामिलामा बोलिरहने र आफू वा व्यवसायसँग सम्बन्ध नै नभएका विषयमा पनि कठोर बन्ने मस्कको राजनीतिक शैलीले उनको व्यवसायमा नकारात्मक प्रभाव बढाउँदै लगेको ब्लुमबर्गका विश्लेषक जोन डोलगायतको धारणा छ । मस्कका एकपछि अर्को उग्र दक्षिणपन्थी अभिव्यक्तिसँगै उनका प्रतिस्पर्धी कम्पनीले विद्युतीय सवारीमा बढाएको विकल्पका कारण टेस्लाको बजार प्रभावित बनेको हो ।

सन् २०२५ को जनवरीमा टेस्लाको व्यापार स्पेनमा ७५, पोल्यान्डमा ४६, स्विडेनमा ४२, जर्मनीमा ५९ र फ्रान्समा ६३ प्रतिशतले खस्किएको छ । युरोपभरिमै टेस्लाको मागमा झन्डै ५० प्रतिशतले गिरावट आएको छ । टेस्लाको ठूलो बजार रहेको चीनमा यही महिना झन्डै १२ प्रतिशतले माग खस्किएको छ । जापान, अस्ट्रेलियालगायत देशमा पनि कम्पनीले आफ्नो व्यवसाय बढाउन संघर्ष गरिरहेको छ । चिनियाँ ब्रान्ड बीवाईडी जस्ता कम्पनीसँगको बढ्दो प्रतिस्पर्धा र मस्कको राजनीतिक संलग्नताका कारण उपभोक्ता टेस्लाबाट टाढिएको अनुमान गरिएको  ।

पहिला ट्वीटर भनेर चिनिने मस्कको ‘एक्स’ ले पनि वित्तीय जटिलता झेलिरहेको छ । सन् २०२२ मा ४४ अर्ब डलरमा तत्कालीन ट्वीटर किनेका मस्कले हालै मात्र च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई पनि खरिद गर्ने प्रस्ताव गरे । यो उनका लागि साह्रै प्रत्युत्पादक सावित भइदियो । किनभने ओपनएआईका प्रमुख साम अल्टम्यानले च्याटजीपीटी बेच्ने त परको कुरा जम्मा ९ अर्ब ७४ करोडमा एक्स किनिदिने प्रस्ताव राखे । मस्कले ट्वीटर खरिद गरेदेखि नै यसको मूल्यांकन घटेको घट्यै छ । सन् २०२४ मा फिडेलिटी इन्भेस्टमेन्टले एक्सको बजार मूल्य करिब ९.४ अर्ब डलर उल्लेख गरेको थियो ।

मस्कले एक्सको कन्टेन्ट मोडरेसन नीतिमा फेरबदल गर्नुका साथै अस्थिर रणनीति अवलम्बन गरेपछि विज्ञापनदाता यसबाट अलग भए । मस्कको राजनीतिक संलग्नता र नीतिगत परिमार्जनका कारण उल्लेख्य संख्यामा प्रयोगकर्ताले एक्सबाट आफ्नो खाता डिएक्टिभेट गरेका थिए । उनले ट्वीटर खरिद गर्नासाथ मास्टोडन, ब्लुस्काई, रेडिट, थ्रेड्स, काउन्टर सोसल जस्ता वैकल्पिक एपममा प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको थियो । ब्रान्ड भ्यालु खस्किएसँगै एक्सको मूल्यांकन कमजोर बन्दै गएको हो ।

हालै मात्र जनवरीमा अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले तत्कालीन ट्वीटरको सेयर हस्तान्तरण प्रक्रियामा आवश्यक नियम पालना नभएको भन्दै मस्कविरुद्ध मुद्दासमेत दायर गरेको छ । मस्कका कानुनी झमेला अमेरिकाभित्र मात्रै सीमित छैनन् । जर्मनीको एक अदालतले मस्कको स्वामित्वमा रहेको एक्सलाई राजनीतिक विषयसँग सम्बन्धी पोस्टहरूको पारदर्शिता र डेटा सुरक्षामा प्रश्न उठाउँदै विवरणमा पहुँच दिन आदेश दिएको छ ।



मस्कले आफ्ना प्लाटफर्महरूमार्फत फैलाउने उग्र दक्षिणपन्थी विचारको फ्रान्स, बेलायतजस्ता देशमा राजनीतिक उच्च नेतृत्वले आलोचना र छानबिनको माग गरेका छन । मस्कको कम्पनीले चीनमा थप कडाइ गरिएको नियमको सामना गर्नुपरेको छ । एक्सकै विषयमा मस्कले यसअघि ब्राजिल सरकारसँग पनि भनाभन गरिसकेका छन् । उनका कम्पनीमाथि विभिन्न देशमा श्रमिक र वातावरणीय पक्षमा कानुनी निगरानी सुरु गरिएको छ ।

राजनीतिक सहभागिताले बढाएको मस्कको चुनौती व्यावसायिक क्षेत्रमा मात्र सीमित छैन । गएको डेढ दशकयता झन्डै ३ अर्ब अमेरिकी डलर बराबरको सरकारी ठेक्का पाउँदै आएका मस्कले ट्रम्प प्रशासनमा लिएको जिम्मेवारीले उनको उक्त व्यावसायिक सहभागितामा स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएको छ । कतिपय सांसद र व्यवसायीले यसबारे आवाज उठाएपछि अमेरिकी विदेश मन्त्रालयले खरिद गर्ने भनेको झन्डै ४० करोड अमेरिकी डलर बराबरका टेस्ला सवारीसाधनको ठेक्का प्रक्रियामा अहिले टेस्लाको नाम हटाइएको टाइम म्यागजिनले जनाएको छ ।

अमेरिकी नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनले टेस्लाका स्वचालित गाडीहरूमाथि एकभन्दा बढी कानुनी अनुसन्धान अघि बढाएको छ । सरकारी प्रभावकारिता बढाउनेसम्बन्धी विभाग (डज) मार्फत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग र अमेरिकी सरकारका अन्य निकायमा मस्कले गरेका निर्णयमाथि विभिन्न तहका अदालतमा मुद्दा परेका छन् । मेलनी स्टेन्सबरी, गेरी कोनोली, रोबर्ट गार्सिया, बर्नी स्यान्डर्स, अलेक्जान्ड्रिया अकासियो कोर्टेजलगायत जनप्रतिनिधिले मस्कको शैली र स्वार्थको द्वन्द्वबारे सार्वजनिक प्रश्न उठाउने गरेका छन् ।

मस्कका पछिल्ला अभिव्यक्ति र शैलीले कम्तीमा युरोपेली क्षेत्रमा उनको कम्पनीका ब्रान्ड र व्यावसायिक छविमा थप धक्का पुर्‍याउन सक्ने उनकै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लाटफर्म ‘एक्सएआई’ को प्रतिक्रिया छ । तर ट्रम्पसँगको राजनीतिक सामीप्यले मस्कलाई बेफाइदाभन्दा फाइदा नै बढी भइरहेको  । नयाँ प्रशासनको ह्वाइटहाउस प्रवेशसँगै अमेरिकी सरकारी संयन्त्रमा अपूर्व पहुँच र प्रभाव बढाएका मस्कमाथि बजारले डिसेम्बरमै अत्यधिक विश्वास देखाएको थियो । टेस्लाको सेयर डिसेम्बरमा ह्वात्तै बढेको थियो भने मस्कले स्पेस एक्सका लागि झन्डै ८० करोड अमेरिकी डलर बराबरको ठेक्का हात पारेका थिए ।

आफ्नो एआई प्लाटफर्म ‘एक्सएआई’ का लागि पनि मस्कले ६ अर्ब डलर बराबरको लगानी जम्मा गरिसकेका छन् । बेलायत, इजरायल, चीन, भारत, ब्राजिलसँगै अन्य देशमा आफ्ना कम्पनी टेस्ला, स्टारलिंकलगायतका लागि गिगाफ्याक्ट्री, पूर्वाधार र अन्य परियोजनाको तयारी वा सुरुवात गरेका मस्कलाई अमेरिकी सरकारमा रहेको पहुँच र प्रभावले थप बलियो बनाउने पक्का छ । सरकारमा रहेको सक्रिय भूमिकाले मस्कलाई आफ्नो विश्वव्यापी प्रभाव अझै बढाउन, बजारको विविधीकरण र विस्तार गर्नुका साथै स्पेस एक्सजस्ता भेन्चरमा नवीनतम प्रविधि विस्तार गर्न सघाउने अनुमान गरिएको छ ।

विश्लेषक र अर्थतन्त्रका जानकार भने मस्कको राजनीतिक सक्रियताले उनको व्यावसायिक रुचिलाई छायामा पारेको टिप्पणी गर्छन् । ‘इलनको ट्रम्पसँगको बाक्लिँदै गएको दोस्तीले उनीप्रतिको सार्वजनिक धारणा फेरिँदै गएको मात्र छैन, संघीय नियमनकर्ताहरूको अनावश्यक निगरानी थपिदिएको छ,’ वायर्डका प्रविधि पत्रकार जेन स्मिथ भन्छिन्, ‘उनका व्यवसायहरू सबैतिर सूक्ष्म निगरानीमा छन् र साना गल्तीहरूमा पनि ठूलो हल्ला गरिनेछ ।’ – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
: पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हवाई हमला गरेको छ । यस कदमलाई हालै इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र अन्य सुरक्षा हमला घटनाहरूको जवाफ स्वरूप उठाइएको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार यस आक्रमणले सशस्त्र समूहहरूसँग सम्बन्धित सात शिविर र लुकेका ठाउँहरुलाई लक्षित गरेको थियो। ती समूहहरूले हालैका आतंककारी गतिविधिहरूको योजना बनाएको र तालिम तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। उनी मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आएपछि ट्रम्पले चीनको भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग पनि भेटवार्ता गर्ने छन्। यसअघि ...
— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् । ‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम