मुख्य समाचार
मुख्यमन्त्रीको एक्सन : अस्पताल सञ्चालकको भागाभाग
मुख्यमन्त्रीको एक्सन : अस्पताल सञ्चालकको भागाभाग

जनकपुरधाम :


मुख्यमन्त्री : वीरेन्द्र जी, कहाँ हुनुहुन्छ ?

वीरेन्द्र : हस्पिटलमा।


मुख्यमन्त्री : कुन हस्पिटलमा।

वीरेन्द्र : को बोल्दै हुनुहुन्छ ?

मुख्यमन्त्री : म एम्बुलेन्स ड्राइभर।

वीरेन्द्र : के नाम हो तपाईंको ?

मुख्यमन्त्री : सरोज।

वीरेन्द्र : सरोज, ए ...ए ...

मुख्यमन्त्री : चिन्नु भएन, ३११२ को एम्बुलेन्स ड्राइभर !

वीरेन्द्र : विरामीलाई कहाँ राख्नुभाछ ?

मुख्यमन्त्री : यही छ, राम्रो पार्टी छ, राम्रो।

वीरेन्द्र : अहिले कहाँ हुनुहुन्छ ?

मुख्यमन्त्री : बाह्रबिघाको छेउमा छु।

वीरेन्द्र : हस्पिटलहरूमा छापामारी भइरहेको छ। अर्कोमा लानुस् न !

मुख्यमन्त्री : कुनमा ? तपाईं लिनु हुन्न भने अर्कोमा लान्छु।

वीरेन्द्र : गोदाबरीमा लग्नुस्।

मुख्यमन्त्री : गोदाबरीमा राम्रो दिन्छ ?

वीरेन्द्र : हँ...हँ राम्रो दिन्छ।

मुख्यमन्त्री : कति दिन्छ ?

वीरेन्द्र : म कुरा गरेर भन्छु।

मधेसका मुख्यमन्त्री सतिषकुमार सिंहले जनकपुर मोडेल हस्पिटलका सञ्चालक वीरेन्द्रलाई टेलिफोन गरे। आफूले बिरामी लिएर आएको र एम्बुलेन्स चालक भएको परिचय दिए। हस्पिटल सञ्चालक वीरेन्द्रले आफ्नो हस्पिटलमा ताला लागेको भन्दै बिरामीलाई अन्तै लैजान आग्रह गरे। त्यति मात्र भनेनन्, अरू हस्पिटलमा बिरामी लगे त्यसबापत राम्रै ‘कमिसन’ मिलाई दिने आश्वासन पनि दिए। तर, फोन गर्ने व्यक्ति एम्बुलेन्स चालक नभई मुख्यमन्त्री भएको ख्याल गरेनन्। मुख्यमन्त्री सिंह पछिल्लोपटक जनकपुरमा सञ्चालित अवैध अस्पतालविरुद्ध ‘कारबाही’ मा उत्रेका छन्। मुख्यमन्त्रीको सक्रियताका कारण वर्षौंदेखि अवैध अस्पताल धमाधम बन्द भइरहेका छन्।

हुन त, जनकपुरधाम परिक्रमा सडकभित्रै छ्याप्छ्याप्ती निजी अस्पताल छन्। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालको लाइनमा निजी अस्पताल र मेडिकल पसल छन्। अन्य बेला बिरामी तान्न सडकमै बोर्ड राख्ने गरेका अस्पताल आजभोलि सुनसान छन्। ओपीडी सेवा बन्द छन्। प्राय: भरिभराउ हुने निजी अस्पताल सुनसान छन्। डाक्टर देखिँदैनन्, अस्पताल सञ्चालकको भागाभाग छ।

मुख्य गेटमा ताला झुन्डिएका छन्। मधेस प्रदेशका मुख्यन्त्री सिंहले वर्षौंदेखि मनपरि गरिरहेका अवैद्य निजी अस्पतालमाथि कडाइ गरेपछि अस्पतालमा ताला लगाएर सञ्चालकमा भागाभाग चलेको छ।

माघ ३ गते जनकपुर १४ स्थित बिनादर्ताको मुस्कान हस्पिटलमा सर्लाहीकी पविताकुमारी यादवको पित्तथैलीको अप्रेसन गर्दा २० दिनसम्म पनि होस् आएन। उक्त घटनापछि मुख्यमन्त्रीले अवैद्य अस्पतालमाथि चासो लिए। २५ गते मुस्कान हस्पिटलको अनुगमन गरे। दर्ता बिना नै अवैध रूपमा सञ्चालन गरेको भेटिएपछि ताला लगाउन निर्देशन दिए।

४० वटा निजी अस्पतालको अनुगमन गरेका मुख्यमन्त्रीले अवैध रहेका ९ वटा अस्पताललाई पूर्णरूपमा बन्द गर्न लगाए। मुस्कान हस्पिटल प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, अरमान हस्पिटल, जनकपुर मोडर्न हस्पिटल, जनकपुर मोडेर हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्णा हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटललाई बन्द गराइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरमा खोलिएका निजी अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सिंहले लगातार दबाब बढाएका छन्। मुख्यमन्त्री सिंह, मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंह, स्वास्थ्य मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीको लगातारको निरीक्षणमा मुख्यमन्त्री सिंहले स्वीकृति प्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए। उनले भने, ‘अस्पतालको स्वीकृति नै लिएका छैनन्। मनपरी अस्पताल सञ्चालन गरेका छन्। स्वीकृति लिनुस्, अस्पताल राम्रोसँग चलाउनुस्। होइन भने बन्द गर्नुस्।’

दर्ताबिना निर्वाध सञ्चालन

हालै जनकपुरधाम उपमहानगरपालिकाले गरेको अध्ययनले यहाँका दर्जनौं निजी अस्पतालहरू वर्षांैदेखि दर्ताबिनै सञ्चालनमा रहेको भेटिएको छ। जनकपुरमा मात्रै करिब ६० वटा निजी अस्पताल छन्। तीमध्ये करिब ७५ प्रतिशत अस्पताल दर्ताबिनै सञ्चालनमा रहेको पाइएको हो।

जनकपुर उपमहानगरपालिकाले हालै निजी अस्पतालसहित स्वास्थ्य संस्थाहरूको तथ्यांक संकलन गरेको थियो। तीमध्ये ८ वटा निजी अस्पताल दर्ता नै नभई सञ्चालन भएको उल्लेख छ। तर, यसमा पनि कतिपय अस्पतालले झुटो विवरण दिएका छन्। कतिपयको विवरण नै समावेश गरेका छैनन्। यसरी हेर्दा करिब ७५ प्रतिशत अस्पताल कुनै न कुनै हिसाबले प्रक्रिया पूरा नगरी वर्षौंदेखि निर्वाध रूपमा सञ्चालनमा रहेको भेटिएको छ।

दर्ताबिनै सञ्चालनमा रहेकोमध्ये तराई राजधानी हस्पिटल पनि हो। यो जनकपुरको रामानन्दचोकको प्रवेशद्वारको सय मिटर दक्षिण पश्चिम छेउमा चार वर्षदेखि सञ्चालनमा छ। उपमहानगरपालिका–८ मा पर्ने यो अस्पतालमा यसअघि पटक–पटक लापरबाही भएको विवरणहरू सार्वजनिक भएका थिए। तर, पनि अस्पताललाई हालसम्म कुनै निकायबाट कारबाही भएको छैन। यस्तै रामानन्द चोकमै दर्ता बिनै चलिरहेको अर्को अस्पताल हो, जनक मेमोरियल हस्पिटल प्रालि। खानेपानी कार्यालयको उत्तरी छेउमा रहेको यो अस्पताल वर्षौंदेखि सञ्चालनमा छ। स्थानीय रामानन्द चोकभन्दा केहीभित्र दर्ताबिनै अरमान हस्पिटल प्रालि र सहयोग हस्पिटल प्रालि पनि सञ्चालनमा छन्।

त्यस्तै बाह्रबिघा मैदानको पश्चिमतर्फ अमृत श्री हस्पिटल प्रालि सञ्चालनमा छ। त्यो पनि सञ्चालनका लागि स्वीकृति नलिएको उपमहानगरपालिकाको अध्ययनले देखाएको छ। यस्तै तथ्यांकमा दर्ता नरहेको अरू पनि अस्पतालहरू छन्। माँ वौधी हस्पिटल प्रालि, शुभ ओम हस्पिटल प्रालि, लाइफ केयर अस्पताल जस्ता अस्पतालको प्रक्रिया नपुग्दै सञ्चालनमा छन्।

छैन सरकारबीच समन्वयन

स्थानीय तह स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७४ मा २५ बेडसम्मको जनरल अस्पताल स्थानीय पालिकामा दर्ता तथा नवीकरण हुने उल्लेख छ। २५ बेडभन्दा माथि तथा विशिष्टीकृत अस्पताल दर्ताका लागि सम्बन्धित पालिकाको कार्यपालिकाको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ। संघीयता कार्यान्वयनका ६ वर्षमा तीनै तहका सरकारसँग कति अस्पताल जनकपुरमा छन् ? कति कहाँ दर्ता भएका छन् ? भन्ने तथ्यांक छैन। त्यसैले बेला–बेला अस्पतालमा चरम लापरबाहीका घटना सार्वजनिक हुँदा तिनको दर्ता र स्वीकृतिको विवाद हुने गरेको छ।

facebook sharing buttonmessenger sharing button

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि भएको छ । चार महिना बढी समय लगाएर गरिएको आन्तरिक छानबिनले उक्त रकम बराबरको औषधि बिक्री गरेको रकम घोटाला भएको पाइएको हो । तर छानबिन प्रतिवेदन व्यवस्थापन समक्ष बुझाइसक्दा पनि प्रतिष्ठानले हालसम्म सार्वजनिक नगरेपछि पारदर्शितामाथि ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिँदै चुनावमा स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताएका छन् । ‘निर्वाचनको समयमा हुनसक्ने दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ,’ प्रवक्ता बुढाथोकीले भने, ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले धादङि बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेसनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्यअ अवस्थाबारे जानकारी लिएका हुन् । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ...
— चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज अगाडि पीडित परिवार तथा आफन्तले प्रदर्शन गरिरहेका छन् । उनीहरुले घटनाको छानबिन, दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरिरहेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने त्यसअघि अस्पताल प्रशासनमा ढुंगामुढासमेत गरेका थिए । जिल्लाको विष्णुपुर गाउँपालिकाका सन्तोष सदाकी श्रीमती २५ वर्षकी सुजानदेवी सदालाई शुक्रबार ...
— सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेन-जी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताए । उनका अनुसार जेन-जी आन्दोलनका घाइतेहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित ...