मुख्य समाचार
ट्रम्पको घोषणापछि तीन सातामा २३ जनालाई नेपाली निष्कासन
ट्रम्पको घोषणापछि तीन सातामा २३ जनालाई नेपाली निष्कासन

— अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ ।


अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो । डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ ।


विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी २२ यता २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएको पुष्टि गर । त्यसमध्येका पछिल्लोपटक सोमबार एक जना काठमाडौं आइपुगेका छन् । डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको छ । त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको छ ।

ट्रम्प प्रशासनले अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ । अमेरिकाबाट डिपोर्टमा परी २२ र २४ जनवरीमा १/१ जना विमानस्थल आइपुगेका थिए । ५ दिनपछि जनवरी २९ मा थप १ जना आइपुगेका थिए । जनवरी ३० मा २ जना, ३१ मा थप १ जना फिर्ता भएका थिए । फेब्रुअरी १ मा ३ जना, फेब्रुअरी ५ मा थप ३ जना, फेब्रुअरी ६ मा २ जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा २ जना र सोमबार (फेब्रुअरी १७) मा १ जना नेपाल फिर्ता भएका हुन् ।

‘जनवरी २२ यताको विवरणअनुसार हालसम्म २३ नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएका छन्, त्यसरी आएकालाई अध्यागमनमा कागज गराएर प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएका छौं,’ भट्टराईले कान्तिपुरसँग भने ।

मानव तस्करमार्फत अमेरिका पुगेकादेखि पर्यटक भिसा र अन्य कार्यक्रममा गएर उतै लुकेर बसेकासम्मलाई फिर्ता गरिएको छ । संगठित गिरोहको प्रलोभनमा परी गैरकानुनी रूपमा नेपाली नागरिक मोटो रकम तिरेर अमेरिका छिर्ने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले अमेरिकाबाट ‘डिपोर्ट’ मा परी आएकासँग मानव तस्करीको गिरोहबारे सूचना वा जानकारी आउन सक्ने विश्वासमा मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्ने गरेको बताए ।

‘मोटो रकम असुलेर गिरोहले नेपालीलाई एसिया, अफ्रिका र युरोपका विभिन्न रुटबाट दक्षिण अमेरिका हुँदै लैजाने गरेका तथ्यहरू त प्रहरी अनुसन्धानबाटै स्थापित भइसकेको छ, यो धन्दामा संलग्न गिरोहको सञ्जाल ठूलो छ, त्यो सञ्जालबाटै गएको हुन सक्ने आशंकालाई मध्यनजर गरेर डिपोर्ट भएर आएकासँग पनि सोधपुछ गर्ने गरेका हौं,’ प्रवक्ता आचार्यले भने, ‘यदि गिरोहलाई रकम बुझाएरै कोही गएका रहेछन् र त्यहीमध्येका व्यक्ति डिपोर्टको सूचीमा भेटिए अपराध अनुसन्धानका लागि सूचना/जानकारी हाम्रा लागि महत्त्वपूर्ण हुन सक्छन ।’ गिरोहलाई रकम बुझाएर अमेरिका छिर्ने आसमा नेपाली युवा युरोप, अफ्रिका र दक्षिण अमेरिकाका विभिन्न मुलुकमा बन्धक भएका खबर पटक–पटक बाहिर आएका छन् ।



यसअघि सन् २०२१ देखि २०२४ सम्म ४ वर्षमा अमेरिकाबाट १ सय ४० नेपाली निष्कासनमा परेका थिए । विमानस्थल अध्यागमनका अनुसार सन् २०२१ मा ३८ जना, २०२२ मा २४ जना, सन् २०२३ मा २५ जना र सन् २०२४ मा ५३ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो । पछिल्लो तीन सातामा निष्कासनमा पर्नेको संख्या हेर्दा कागजातविहीन र अन्य प्रकृतिका कसुर लागे पनि अस्थायी बसोबासको अनुमति पाएका थुप्रै नेपाली डिपोर्टमा पर्ने सम्भावना बढेको हो ।

आईसीईले २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई धमाधम नियन्त्रणमा लिने क्रमलाई तीव्रता दिएको छ । पहिलो चरणमा आईसीईले २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन डिपोर्टको जोखिममा छन् । यो अवधिमा अमेरिका पुगेका त्यस्ता व्यक्ति ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) अन्तर्गत बस्दै आएका छन् । ३ हजार ५ सयभन्दा बढी नेपालीलाई अमेरिकी अदालतले देशबाट निष्कासन गर्न आदेश दिएकामा टीपीएसको संरक्षणमा करिब २ हजार हाराहारीमा रहेको अनुमान छ ।

पहिलो चरणमा कागजपत्रविहीन र त्यहाँको कानुनविपरीत गतिविधिमा संलग्न रही निष्कासनको आदेश भइसकेकालाई पक्राउ गरी फिर्ता पठाउनेक्रम चलेको ह । यस्तो सूचीमा समेटिएकामध्ये पहिलो चरणमा करिब १ हजार ३ सय नेपाली रहेको अनुमान छ । आईसीईले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूची सार्बजनिक गरिसकेको छ । अमेरिकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरेको अमेरिकी अधिकारीको भनाइ छ । उनीहरूको बसोबास क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी, इलिनोईलगायत राज्यमा बढी रहेको विवरणहरू बाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...
: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको ...
: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल ...
: दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको कृषि लाभान्वित परियोजना अन्तर्गत एसजीओटी जीभ लाभान्वित केन्द्रमार्फत आएको थियो। त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, ...