— भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि तनाव बढेको । बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको छ ।
नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ ।
दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् । नेपाली विद्यार्थी आइतबार राति विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिन गएका थिए । ‘तर कारबाही त परै जाओस्, हाम्रो कुरा पनि सुनिएन,’ कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययनरत एक नेपाली विद्यार्थीले फोनमा कान्तिपुरलाई भने ।
लम्सालको मृत्युको खबर बाहिरिएपछि नेपाली विद्यार्थी प्रदर्शनमा उत्रिएका थि । ‘आइतबार साँझ ४–५ बजे प्रकृतिको आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको थियो । त्यसलगत्तै उनलाई किम्स अस्पताल लगिएको थियो,’ एक नेपाली विद्यार्थीले भने । राति १० बजे प्रदर्शन सुरु भएपछि विद्यार्थीमाथि चरम दमन भएको उनले बताए । ‘सोमबार बिहान सबैलाई छात्रावासबाट निकाल्न थालियो । म खाजा खान मेसतिर जाँदै थिएँ, वार्डेनले तिमीहरू घर फर्कनुपर्छ भने,’ उनले भने, ‘जान नमान्नेलाई सेक्युरिटी गार्डले कुटे ।’
विद्यार्थीको प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल छात्रावास छाड्न भनिएको छ ।
केआईआईटीमा एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयको सूचनापछि सयौं नेपाली विद्यार्थी अलपत्र परे । केही विद्यार्थी नेपाल हिँडिसकेको कान्तिपुरको सम्पर्कमा आएका एक विद्यार्थीले बताए । उनका अनुसार ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेसनमा ल्याएर छोडिदिएको
छ । नेपाली सीमातर्फ आउने रेल बिहीबार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको उनले बताए । ती विद्यार्थीका अनुसार केहीले भने आफैं व्यवस्था गरेर छात्रावासबाहिर बसेका छन् ।
नेपाली विद्यार्थीलाई निष्कासन गरिएको खबर बाहिरिएपछि फिर्ता बोलाउन विश्वविद्यालय प्रशासनमाथि चौतर्फी दबाब परेको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले कूटनीतिक च्यानलमार्फत र सिधै विश्वविद्यालयसँग संवाद गरेपछि कलेज प्रशासनले विद्यार्थीलाई छात्रावासमा फर्कन सूचना जारी गरेको छ ।
नेपाली दूतावासले घटनाका सम्बन्धमा विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था अपनाउन आग्रह गरेको जनाएको । ‘घटनाबारे जानकारी पाएसँगै विश्वविद्यालय प्रशासनसँग कुरा गरिरहेका छौं । घटनाको छानबिन र विद्यार्थीको सुरक्षाका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं,’ दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भने ।
उता भारतीय सञ्चारमाध्यमका अनुसार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाबारे छानबिन सुरु गरेको छ । उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको भुवनेश्वर प्रहरीका डेपुटी कमिस्नर पिनाक मिश्रलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।
विश्वविद्यालय प्रशासनले सोमबार साँझ विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन आग्रह गरेको हो । ‘केआईआईटी प्रशासनले शैक्षिक गतिविधि सुचारु गर्न क्याम्पस र छात्रावासको स्थिति सामान्य बनाउन हरसम्भव प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस छाडेका वा छाड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन र कक्षाहरू पुनः सुरु गर्न अपिल गरिन्छ ।’ स्थिति अनियन्त्रित हुन नदिन र निष्पक्ष छानबिन सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई घर फर्कन सुझाव दिएको विश्वविद्यालयको दाबी छ ।
सम्बन्धित शैक्षिक संस्थाले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालन गरिने प्रतिबद्धता दूतावाससमक्ष पनि जनाएको छ । दूतावासले वक्तव्य निकालेर यसबारे जानकारी दिएको छ । नियोग उपप्रमुख थापाले विद्यार्थीलाई फिर्ता बोलाउन, पढाइ सञ्चालन गर्न तथा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि कलेज प्रशासनलाई आग्रह गरेको बताए ।
नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा घटनाबारे स्वतन्त्र एवं निष्पक्ष ढंगले अनुसन्धान गर्नॅपर्ने विषयलाई सम्बन्धित शैक्षिक संस्थाले गम्भीरतापूर्वक लिएको समेत जनाइएको । दूतावासले दिल्लीमा रहेका केआईआईटीका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफलसमेत गरेको छ । भारतको विदेश मन्त्रालय, ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायसँग दूतावास लगातार सम्पर्कमा रहेको विज्ञप्तिमा जनाइएको छ । नियोग उपप्रमुख थापाले ओडिसामा घटनाको जानकारी आउनासाथ विद्यार्थी, कलेज प्रशासन र सरकारी निकाय सबैसँग समन्वय गरिएको बताए । दूतावासले नेपाली विद्यार्थी तथा अभिभावकलाई आवश्यक परेको स्थितिमा सम्पर्कमा रहन इमेल तथा हटलाइन नम्बरसमेत सार्वजनिक गरेको छ ।
कलेज प्रशासनले विद्यार्थीलाई होस्टेलमा फर्किन सूचना पठाइरहेको एक विद्यार्थीले बताए । ‘दूतावासको सक्रियतापछि उनीहरू हाम्रो सम्पर्कमा आउन थालेका छन्,’ ती विद्यार्थीले भने, ‘अपमानित गरेर हामीलाई निकालिएको छ । त्यहाँ सम्मान र सुरक्षाका साथ बस्ने वातावरण बन्नुपर्छ ।’
विद्यार्थीलाई कुटपिट र बल प्रयोग गरेर निकालिएकामा त्यसविपरीत कलेजले स्वेच्छाले नेपाली विद्यार्थीले होस्टेल छाडेको गलत कुरा भनिरहेको उनले बताए । कलेजले बाहिर निकालेपछि धेरै विद्यार्थी जे–जस्तो साधन भेटिए, त्यहीबाट घरतर्फ लागेका छन् । सयौं विद्यार्थी रेल्वे स्टेसन र होटलमा बसेका छन् ।
दूतावासका नियोग उपप्रमुख थापाले दूतावासका दुई जना वरिष्ठ अधिकारीलाई मंगलबार ओडिसा पठाउन लागिएको बताए । कलेज प्रशासन र विद्यार्थीसँग समन्वय गरेर सहज वातावरण बनाउने प्रयास गरिने उनले उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाबारे कूटनीतिक माध्यमबाट बुझिरहेको बताएका छन् । ‘केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै, परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई घटनाको वास्तविकता बुझ्न र विद्यार्थीको समस्या समाधान गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासले सोमबार साँझ विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । त्यस्तै, विश्वविद्यालय प्रशासन र ओडिसा सरकारसँग निरन्तर सम्पर्क रहेको जनाउँदै दूतावासले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी प्राप्त भएको जनाएको छ ।
‘हामीमाथि दमन गरियो’
प्रकृतिको मृत्युको घटनासँगै प्रदर्शन चर्किएपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गर्यो । प्रदर्शनमा विभिन्न तहमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थी सहभागी थिए । प्रदर्शन चर्किंदै गएपछि विश्वविद्यालयका फाउन्डरले विद्यार्थीलाई चित्त बुझाउने प्रयास गर्नुका साटो दमनको बाटो लिए । उनीहरूले स्थानीय विद्यार्थीको पनि समर्थन पाउने स्थिति बनेपछि कलेज प्रशासनले नेपालीमाथि दमन गर्न थाल्यो ।
बिहानैबाट होस्टेलका कोठामा कलेजका गार्ड मात्रै होइन, बाहिरबाट बाउन्सरसमेत ल्याएर धम्क्याउने काम भयो । होस्टेल छाडेर निस्किन धम्कीपूर्ण चेतावनी आउन थाल्यो । सामान बाहिर निकाल्न थाले, प्रतिवाद गरे कुटपिट गरियो । युनिभर्सिटीले बसमा चढाएर एकपछि अर्को समूहलाई कलेज परिसरबाहिर निकाल्यो । बिहानैदेखि रेल्वे स्टेसन पुर्याउन थालियो ।
रेल्वे स्टेसनमा सयौं नेपाली विद्यार्थी अलपत्र परेका छन् । रेलको टिकटसमेत पाइएको छैन । कतिपय विद्यार्थी भने रेल चढे । धेरैजसो विद्यार्थी रेल्वे स्टेसनमै बिना पूर्वयोजना कता कसरी जाने भनेर अलपत्र छन् । समूह–समूह बनाएर विद्यार्थी होटलमा पनि बास बसेका छन् । आफैंले चार वर्षदेखि पढ्दै आएको कलेजबाट यसरी निकालिनु पर्ला भनेर कहिल्यै सोचेका थिएनौं । हामीमाथि हदैसम्मको अमानवीय व्यवहार गरिएको छ । (केआईआईटी प्रशासनले छात्रावासबाट निकालेपछि रेल्वे स्टेसनमा अलपत्र नेपाली विद्यार्थीसँगको कुराकानी)