मुख्य समाचार
ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन्
ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि बोल्दै ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका छन् ।



'मलाई लाग्छ, मसँग यो युद्ध अन्त्य गर्ने शक्ति छ,' ट्रम्पले भनेका छ्न् । युक्रेनमा शान्ति सम्झौता हासिल गर्न सकिनेमा आफू बढी विश्वस्त रहेको ट्रम्पको भनाइ छ । तर मंगलबारको वार्तामा भने युक्रेनी पक्षलाई संलग्न गराइएको थिएन ।

दुवै देशका विदेशमन्त्रीको नेतृत्वमा भएको वार्तामा रुस र अमेरिकाबीच युक्रेन युद्ध अन्त्यका गर्ने सहमति भएको थियो । त्यसका लागि दुवै देशले उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले जनाएका छन् ।

वार्तामा रुसी पक्षबाट लाभरोभसँगै रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी थिए । विदेशमन्त्री मार्को रुबियोले नेतृत्व गरेको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ सहभागी थिए ।

त्यस्तै वार्तामा आयोजक साउदी अरबका तर्फबाट राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल-साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल-ऐवान सहभागी थिए ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने आफ्नो देशलाई वार्तामा निमन्त्रणा नगरिनु आश्चर्यजनक भएको बताएका छन् । त्यसको प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न युक्रेनले पहिले नै 'सम्झौता गर्न सक्थ्यो' भनेका छन् ।



अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति जेलेन्स्कीले यसै साताका तय भएको साउदी अरबको भ्रमण १० मार्चसम्मका लागि स्थगित गरेका छन् । उनले बारम्बार युक्रेनको संलग्नताबिनाको वार्तालाई मान्यता नदिने बताउँदै आएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा कसैलाई पनि किनारा नलगाइएको बताएका छन् । रुस युद्ध अन्त्य गर्ने गम्भीर प्रक्रिया सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । रुबियोले मंगलबार भएको वार्ता 'लामो र कठिन यात्राको पहिलो चरण' भएको जनाएका छन् ।

युरोपेली देशहरूले पनि युक्रेनको सहभागिताबिनाको वार्तालाई मान्यता नदिने बताएका छन् । अमेरिका र वार्ता सुरू भएसँगै फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्क लगायतका युरोपेली देशहरू युक्रेनको प्रतिरक्षामा एकजुट भएका छन् । युक्रेनबिना वा युरोपको संलग्नताबिना कुनै पनि सम्झौता हुन नसक्ने उनीहरूको भनाइ छ ।
रियाद वार्ताका क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा नेटो सेनालाई कुनै पनि शान्ति सम्झौताको हिस्साको रूपमा स्वीकार नगर्ने चेतावनी दिएका छन् । रुसले युरोपेली संघमा आवद्ध हुने विषय रुस युक्रेनको निर्णय भएको र त्यसमा आफ्नो कुनै लेदनेद नभएको प्रष्ट पारेको छ । तर युक्रेन सुरक्षा, रक्षा वा सैन्य गठबन्धनको विषयमा भने रुसले कुनै सम्झौता नगर्ने जनाएको छ ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेन आक्रमण सुरु गरेसँगै युक्रेनसँग युद्ध सुरु भएको हो । तीन वर्ष लामो युद्धका क्रममा दुवै देशले ठूलो क्षति व्यहोरेका छन् । यस अवधिमा रुसले कम्तीमा २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय सहरमा ड्रोन आक्रमण गर्दै आएको छ ।

रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीहरूको ज्यान गइसकेको छ । ६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भइसकेका छन् । १ करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायता आवश्यक भएको बताइएको छ ।

रुसी आक्रमणयता युक्रेनले ४ खर्ब ७ अर्ब अमेरिकी डलर बराबरको अनुदान प्राप्त गरिसकेको छ । योमध्ये १ खर्ब १८ अर्ब डलर बराबरको अनुदान अमेरिकाले प्रदान गरेको हो । तर ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेसँगै भने युक्रेनले प्राप्त गरिरहेको सैन्यलगायतको सहयोग रोकिने देखिएको छ ।

ट्रम्प प्रशासनले रुसविरुद्ध लड्न गरेको सहयोगको बदलामा युक्रेनले आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने बताएको छ । अर्थमन्त्री स्कट बेसेन्टले गत बुधबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भएको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राखेका हुन् ।

तर ट्रम्प प्रशासनले राखेका सर्त युक्रेनले अस्वीकार गरिसकेको छ । युक्रेनी अधिकारीहरूले भने खनिज पदार्थका साथै अन्य प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजिएको बताएका छन् । जेलेन्स्कीले प्रस्ताव अस्वीकार गरेकाले ट्रम्पले सैन्य र आर्थिक सहायता रोक्ने र युद्ध अन्त्यको पहल सुरु गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...