मुख्य समाचार
पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना
पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना

— पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो ।


शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ ।


यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क सङ्कलन गरिने दूतावासले जनाएको छ ।

कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज बनाउने उद्देश्यले हालका लागि घुम्ती सेवा सञ्चालन गरेर नेपाली दूतावास लिस्बनले राहदानीसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको कार्यवाहक राजदूत रामबाबु नेपालले जानकारी दिए । लिस्बनस्थित नेपाली दूतावासबाट यथाशीघ्र सम्पूर्ण सेवा प्रवाह हुने बताउँदै उनले त्यसका लागि केही समय लाग्ने भएकाले धैर्य गर्न पोर्चुगलवासी नेपालीलाई आग्रह गरे ।

'हामीले लिस्बनमा दूतावास स्थापना गरेर सेवा प्रवाह गर्न सुरु गरेका छौँ । हालका लागि अस्थायी कार्यालय सञ्चालन भएको छ,' नेपालले भन्नुभयो, 'दूतावासको स्थायी कार्यालय र कर्मचारीको निवासका लागि भवनको खोजी भइरहेको छ । नयाँ दूतावास भएकाले आन्तरिक तयारी र व्यवस्थापनमा पनि जुटिरहेका छौँ ।'

पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनभित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले जानकारी दिए । उनका अनुसार कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्रसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको दूतावास परिसरमा घुइँचो लाग्ने गरेको छ ।

दूतावासले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल रानालगायत कर्मचारी खटिनुभएको छ । दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ ।



लामो समयपछि यहाँ नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलवासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलवासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै सहज भएको बताएका छन् ।

दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ ।

यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बन्धमा संयुक्त अधिराज्यका रक्षामन्त्री जोन हिली र भेट्रान मन्त्री श्रीमती लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरे । गोर्खा अभियन्ताहरुको आमरण अनसन अन्त्य गर्दै बेलायतले वार्ता थालेको झण्डै ५ वर्षमा सोमबार भएको बैठक विशेष थियो । किनभने, १९ अगष्ट, २०२१ मा बेलायत सरकार वार्तामा बस्न तयार भए यता ...
: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो। उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन ...
। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् । सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ ...
। पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए । एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको ...
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...