— नेपाली राष्ट्रिय फुटबल टोलीले जर्मन, इंग्लिस, ब्राजिलियन, दक्षिण कोरियाली, जापानी, अमेरिकी, बेल्जियन, स्विडेनी, कुवेती र इटालियनपछि अब अस्ट्रेलियाली प्रशिक्षक पनि पाएका छन् । उनी हुन्, ४७ वर्षीय म्याट रस ।
उनी हुनेछन् नेपालका लागि फुटबलको १९ औं आधिकारिक विदेशी मुख्य प्रशिक्षक । रसले प्रशिक्षण थालेकै २० वर्ष भइसकको छ । नेपाली पुरुष फुटबलमा छाएको अन्योलता, अनिश्चिता र अविश्वासको स्थिति चिर्ने चुनौतीपूर्ण जिम्मेवारी हुनेछन् उनी ।
नेपाली मिडियासँग उनी सोमबार पहिलोपल्ट कुराकानीमा बसे । उनी सक्दो सकारात्मक देखिने प्रयासमा रहे । यसको अघिल्लो दिनमात्रै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग एक वर्षको अनुबन्ध गरेका थिए । भलै, यो अनुबन्ध एकै वर्षको मात्र छ । उनी के विश्वास दिलाउन चाहन्छन् भने आफूले एक वर्षमा गर्ने कामले नयाँ अवसरको ढोका खोल्नेछ । उनी नेपाल आएको पनि महिना दिन भइरहेको छ । उनले नेपाली खेलाडीको प्रदर्शन हेर्ने मौका पाइसकेका छन् । महिला टिमको प्रदर्शनको मज्जा पनि लिइसकेका छन् ।
उनीसँगको एक घण्टा बसाइपछि खिचिएको सारका पाँच तथ्य यस्तो रह्यो :
ठूलो र गर्विलो अवसर
केही प्रशिक्षकले यसअघि नेपाललाई आफ्नो छवि उकास्ने अवसरको रूपमा प्रयोग गरेका थिए । सायद रस त्यस्ता होइनन् । उनको बोलेको पहिलो औपचारिक वाक्य हो, ‘नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक हुनु मेरा लागि ठूलो र गर्विलो अवसर हो । यो विशेष देशमा मैले पाएको विशेष भूमिका छ ।’ खासमा उनी त नेपाली टिम नै सम्हाल्ने ताकमा थिए । यसका लागि एक प्रकारले गृहकार्य पनि गरिरहेका रहेछन् । लामै समयदेखि नेपाली फुटबलबारे सोध्ने खोज्ने काम गरिरहेका थिए ।
नेपालमा फुटबलप्रति आम मानिसको मायाले दंग छन् उनी । भन्छन्, ‘नेपालमै रहेर यस्तो अनुभव नहुन सक्छ । तर, मैले धेरै देशमा समय बिताइसकेको छु । यहाँको फुटबलप्रतिको मोह साँच्चै अविश्वसनीय छ । म यही मोहलाई शक्तिमा बदल्न चाहन्छु अनि नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउन चाहन्छु । नेपाली फुटबल साँच्चै नै विशेष छ । म आफ्नो करियरको ठीक मोडमा छु । मेरो भूमिका प्रशिक्षणमै मात्र सीमित हुन्न । म नेपाली फुटबललाई सक्दो सहयोग गर्ने प्रयासमा हुनेछु ।’
उद्देश्य साफ च्याम्पिनयसिप
रसले आफ्नो उद्देश्य नै साफ च्याम्पियनसिप जित्ने रहेको बताए । उनले भने, ‘सायद एसिया कप छनोट गाह्रो हुनसक्छ, तर, म नेपाली टिमलाई त्यस नजिक पुर्याउने प्रयास हुनेछु । मैले साफ च्याम्पिनसिप जित्ने नै उद्देश्य हो भन्दा कसैले यसलाई महत्त्वाकांक्षी मान्न सक्छन् । तर, मैले यति भनिनँ भने यो नेपाली फुटबलप्रति अन्याय हुनेछ । हाम्रा खेलाडी अविश्वसनीय रूपमा प्रतिशाभाली छन् । नेपाली खेलाडी विश्वस्तरीय छन्, केही यो भन्दा माथिका छन् ।’
उनको अनुभवमा जुन देशमा प्रशिक्षक उम्दा छन्, त्यस देशले पछिल्लो समय फुटबलमा धेरै विकास गरेको छ । उनी क्लबस्तर, उमेर समूहको स्तर र स्कुलस्तरमा सहयोग गर्न तयार छन्, प्रशिक्षक तयार पार्न । यो सबैको एकमात्र उद्देश्य नेपाली फुटबल उकास्नु नै हुनेछ । उनी पुरुष टिमको जिम्मेवारीमै मात्र सीमित रहन चाहँदैनन् । अझ उनी नेपालमा रहेको फुटबल संस्कृतिलाई अगाडि बढाउन चाहन्छन् । भन्छन्, ‘मेरो नेतृत्वमा नेपाली टिम मैदानमा उतारेको दिन अविस्मरणीय हुनेछ ।’
अलिकति ग्वार्डिओला, अलिकति मोउरिन्हो
‘म पेप ग्वार्डिओला पनि होइन न त जोसे मोउरिन्हो हुँ,’ उनले यति भन्न पनि छाडेनन् । तर लाग्छ, उनमा यी दुवैको केही न केही प्रभाव छ । भलै, यी दुवै सवर्था फरक प्रशिक्षक हुन् । उनी आफैं इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका समर्थक हुन् । भन्छन्, ‘आजभोलि फुटबल दर्शनबारे कुराकानी गर्ने चलन बढ्दो छ । म आक्रामक फुटबललाई जोड दिने प्रशिक्षक हुँ । प्रो–एक्टिभ फुटबल मन पराउने प्रशिक्षक हुँ । म खेलाडीले उच्च जोड दिएर खेलेको हेर्न चाहन्छुं । मेरो नेतृत्वमा यस्तै फुटबल हेर्न पाइनेछ ।’
‘तर सबैले के बुझ्न आवश्यक छ भने अहिले तत्काल हामीसँग एसिया कप छनोटको खेल खेल्ने तयारीका लागि दुई साता मात्रै छ । मलेसियाविरुद्धको खेललाई हामीसँग तयारी गर्ने पर्याप्त समय नै छैन । त्यसैले हामीले अवसर हेरेर काम गर्नुपर्छ ।सबै सम्भावनामा हामी खुला हुनुपर्छ । जतिबेला समय ठीक हुनेछ, हामीले आक्रमणमा जोड दिनुपर्छ । अग्रतामा छौं भने पछाडि बलियो रक्षापंक्तिमा पनि जोड दिनुपर्छ,’ उनले योजना सुनाए ।
खेलशैली रूपान्तरणको लक्ष्य
खेल्ने शैलीमा नेपाली टिमलाई रूपान्तरण नै गराउने उनको उद्देश्य छ । ‘मैले नेपालले खेलेको पछिल्लो १२ महिनाको खेल हेरेको छु । मैले यस्तो एक क्षेत्रलाई धेरै ध्यान दिएको छु, जसले भन्छ, नेपाली टिममा रूपान्तरण आवश्यक छ । अन्तर्राष्ट्रिय फुटबलमा बलमाथिको नियन्त्रण गुम्यो भने पछाडि जाने हुन्छ । यो निकै महत्त्वपूर्ण मोड हुन्छ । आफ्नोमा बल हुँदा र नहुँदा कसरी खेल्नुपर्छ, त्यसमा निकै ध्यान दिनुपर्छ, म चाहन्छु, विपक्षीले हाम्रा खेलाडीलाई पछ्याउने काम गरोस्,’ उनले भने ।
यति काम गर्न सक्यो भने नेपाली फुटबलले सफलता पाउने उनको विश्वास छ । उनी अगाडि थप्छन्, ‘म चाहन्छु नेपाली खेलाडीले लामो समय बलमाथि आफ्नो नियन्त्रण राखोस् । हामीले लामो बल खेल्न हतार गर्नुहुन्न । त्यसैले बलमाथि सक्दो बढी नियन्त्रण राख्नैपर्छ । बल हुँदा खेलाडीले दबाबलाई चिर्न सक्नुपर्छ । हामीसँग यस्तो गर्न सक्ने खेलाडी छन् ।’ यति भन्दाभन्दै उनले आफूलाई ग्वार्डिओला मनपर्ने, मोउरिन्हो पनि मनपर्ने भन्न छुटाएनन् ।
महिला टिम पनि हेर्ने सम्भावना
खासमा उनले आफ्नो प्रशिक्षक जीवनको बढी समय महिला फुटबलमै बिताएका छन् । त्यसो भए उनले नेपाली महिला टिम हेर्ने सम्भावना कति छ त ? आखिरमा नेपाली महिला टिमलाई पनि त विदेशी प्रशिक्षक चाहिएकै छ । यो प्रश्नमा उनी अलिकति बढी नै खुसी देखिए । उनको कूटनीतिक शैलीको उत्तर रह्यो, ‘यसका लागि सबैभन्दा पहिले एन्फा अध्यक्ष र महासचिवसँग नै कुराकानी गर्नुपर्ने हुन्छ । यसको उत्तर उहाँहरूसँग
मात्रै हुनेछ ।’
उनी भन्छन्, ‘मैले नेपाल र म्यानमारबीच महिला फुटबलको फाइनल हेर्ने अवसर पाएको छु । दशरथ रंगशालामा त्यो बेलाको माहोल अविश्वसनीय ढंगले सनसनीपूर्ण थियो । महिला खेलाडी पनि असाध्यै प्रतिशाली देखें । प्रीति राई त ठूलै स्टार खेलाडी रहेछिन् । नेपाली महिला फुटबलको सम्भावना पनि धेरै छ । मैले नेपाली महिला फुटबललाई पनि पछ्याएको छु । मलाई विश्वास छ, हामीले महिलाको निकै बलियो टिम बनाउन सक्छौं ।’