मुख्य समाचार
शान्ति सम्झौताका नाममा रुसलाई कुनै भू–भाग छोडिँदैन :युक्रेनी राष्ट्रपति जेलेन्स्की
शान्ति सम्झौताका नाममा रुसलाई कुनै भू–भाग छोडिँदैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

— युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि युक्रेनले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने उनको भनाइ छ ।


ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँगको चर्काचर्कीपछि बेलायत पुगेका जेलेन्स्कीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको बताएका हुन् । तर शान्ति सम्झौताका नाममा युक्रेनले रुसलाई कुनै पनि भू–भाग नछोड्ने उनको भनाइ छ ।


उनले अमेरिकासँग अझै पनि रचनात्मक वार्ता गर्न इच्छुक रहेको बताएका हुन् । ‘हामी चाहन्छौं कि हाम्रा साझेदारहरूले यो युद्धमा आक्रमणकारी को हो भनेर याद गरोस्,’ उनले पत्रकारहरूलाई भने ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरको नेतृत्वमा आइतबार लन्डनमा आयोजित शिखर सम्मेलनमा युरोपेली देशका नेताहरू युक्रेन युद्ध रोक्न अमेरिकासँग छलफल गर्न तयार देखिएका छन् । उनीहरूबीच युक्रेन शान्ति योजनाको मस्यौदा तयार पार्ने र अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने सहमति भएको हो । सम्मेलनमा जेलेन्स्कीसँगै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लियोन, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टालगायत १८ युरोपेली देशका राष्ट्र तथा सरकार प्रमुखहरू उपस्थित थिए ।

बेलायती प्रधानमन्त्री स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना अघि सारेका छन् । स्टार्मरले अघि सारेको योजनामा रुसमाथि आर्थिक दबाब बढाइरहने र युक्रेनमा सैन्य सहायता जारी राख्ने, युक्रेन शान्ति वार्तामा उपस्थित हुने र वार्तामार्फत युक्रेनको सार्वभौमसत्ता र सुरक्षा सुनिश्चित गर्ने, भविष्यमा हुने कुनै पनि आक्रमण रोक्न युक्रेनको रक्षात्मक क्षमता बढाउने र सम्झौतापछि पनि युक्रेनमा शान्ति कायम गर्न गठबन्धन गर्ने उल्लेख छ ।


प्रधानमन्त्री स्टार्मरले गठबन्धनमा बेलायत र फ्रान्ससँगै अन्य देशहरू पनि सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई पनि सहभागी गराउन प्रयास गरिने बताएका छन् । यद्यपि उनले युक्रेनलाई सहयोग गर्न इच्छुक देशहरूको गठबन्धनमा सहभागी हुन सहमति जनाएका देशबारे केही उल्लेख गरेका छैनन् । तर शान्ति सम्झौताका विषयमा अबको रणनीतिका विषयमा भने युरोपेली देशहरू अमेरिकी प्रतिक्रियाको पर्खाइमा देखिएका छन् ।

सम्मेलनपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘युक्रेनले बलियो साथ पाएको महसुस भएको र लामो समयपछि उच्चस्तरको युरोपेली एकता देखिएको’ प्रतिक्रिया दिएका छन् । ‘शान्ति र सुरक्षाको सुनिश्चितताका लागि युरोपमा हामी सबै मिलेर अमेरिकासँग पनि सहकार्यको आधार तयार गर्न काम गरिरहेका छौं,’ जेलेन्स्कीले भने । स्टार्मरले युक्रेनका लागि थप १ अर्ब ६० करोड पाउन्ड बराबरको सहयोगको घोषणा पनि गरेका छन् । उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदका लागि खर्च गर्ने जनाइएको छ । यसअघि स्टार्मर र जेलेन्स्कीले २ अर्ब २६ करोडको सहयोग सम्झौता गरेका थिए । फ्रान्सले भने युद्धरत रुस र युक्रेनलाई एक महिनाका लागि हतियार बिसाउन आग्रह गरेको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आइतबार साँझ एक प्रस्ताव राख्दै युद्धरत राष्ट्रहरूबीच हावा, समुद्र र ऊर्जा पूर्वाधारमा युद्धविराम चाहेको जनाएका छन् ।



रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने रुसले उद्देश्य प्राप्त नगरेसम्म युक्रेनमा सैन्य कारबाही जारी राख्ने चेतावनी दिएका छन् । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुनै पनि एजेन्डामा समन्वय वा पहल सुरु नभएको उनको भनाइ छ । लन्डनमा आइतबार आयोजित शिखर सम्मेलनमा सहभागी देशहरूले युक्रेन युद्ध जारी राख्न चाहेको प्रवक्ता पेस्कोभको दाबी छ । ‘ती देशहरूको एउटा समूह स्पष्ट रूपमा युद्धको पक्षधर हो । ती देशहरू युक्रेन युद्ध जारी राख्न र सैन्य कारबाहीका लागि आपूर्तिहरू प्रदान गर्न समर्थन गर्दै छन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...