मुख्य समाचार
शान्ति सम्झौताका नाममा रुसलाई कुनै भू–भाग छोडिँदैन :युक्रेनी राष्ट्रपति जेलेन्स्की
शान्ति सम्झौताका नाममा रुसलाई कुनै भू–भाग छोडिँदैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

— युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि युक्रेनले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने उनको भनाइ छ ।


ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँगको चर्काचर्कीपछि बेलायत पुगेका जेलेन्स्कीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको बताएका हुन् । तर शान्ति सम्झौताका नाममा युक्रेनले रुसलाई कुनै पनि भू–भाग नछोड्ने उनको भनाइ छ ।


उनले अमेरिकासँग अझै पनि रचनात्मक वार्ता गर्न इच्छुक रहेको बताएका हुन् । ‘हामी चाहन्छौं कि हाम्रा साझेदारहरूले यो युद्धमा आक्रमणकारी को हो भनेर याद गरोस्,’ उनले पत्रकारहरूलाई भने ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरको नेतृत्वमा आइतबार लन्डनमा आयोजित शिखर सम्मेलनमा युरोपेली देशका नेताहरू युक्रेन युद्ध रोक्न अमेरिकासँग छलफल गर्न तयार देखिएका छन् । उनीहरूबीच युक्रेन शान्ति योजनाको मस्यौदा तयार पार्ने र अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने सहमति भएको हो । सम्मेलनमा जेलेन्स्कीसँगै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लियोन, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टालगायत १८ युरोपेली देशका राष्ट्र तथा सरकार प्रमुखहरू उपस्थित थिए ।

बेलायती प्रधानमन्त्री स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना अघि सारेका छन् । स्टार्मरले अघि सारेको योजनामा रुसमाथि आर्थिक दबाब बढाइरहने र युक्रेनमा सैन्य सहायता जारी राख्ने, युक्रेन शान्ति वार्तामा उपस्थित हुने र वार्तामार्फत युक्रेनको सार्वभौमसत्ता र सुरक्षा सुनिश्चित गर्ने, भविष्यमा हुने कुनै पनि आक्रमण रोक्न युक्रेनको रक्षात्मक क्षमता बढाउने र सम्झौतापछि पनि युक्रेनमा शान्ति कायम गर्न गठबन्धन गर्ने उल्लेख छ ।


प्रधानमन्त्री स्टार्मरले गठबन्धनमा बेलायत र फ्रान्ससँगै अन्य देशहरू पनि सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई पनि सहभागी गराउन प्रयास गरिने बताएका छन् । यद्यपि उनले युक्रेनलाई सहयोग गर्न इच्छुक देशहरूको गठबन्धनमा सहभागी हुन सहमति जनाएका देशबारे केही उल्लेख गरेका छैनन् । तर शान्ति सम्झौताका विषयमा अबको रणनीतिका विषयमा भने युरोपेली देशहरू अमेरिकी प्रतिक्रियाको पर्खाइमा देखिएका छन् ।

सम्मेलनपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘युक्रेनले बलियो साथ पाएको महसुस भएको र लामो समयपछि उच्चस्तरको युरोपेली एकता देखिएको’ प्रतिक्रिया दिएका छन् । ‘शान्ति र सुरक्षाको सुनिश्चितताका लागि युरोपमा हामी सबै मिलेर अमेरिकासँग पनि सहकार्यको आधार तयार गर्न काम गरिरहेका छौं,’ जेलेन्स्कीले भने । स्टार्मरले युक्रेनका लागि थप १ अर्ब ६० करोड पाउन्ड बराबरको सहयोगको घोषणा पनि गरेका छन् । उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदका लागि खर्च गर्ने जनाइएको छ । यसअघि स्टार्मर र जेलेन्स्कीले २ अर्ब २६ करोडको सहयोग सम्झौता गरेका थिए । फ्रान्सले भने युद्धरत रुस र युक्रेनलाई एक महिनाका लागि हतियार बिसाउन आग्रह गरेको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आइतबार साँझ एक प्रस्ताव राख्दै युद्धरत राष्ट्रहरूबीच हावा, समुद्र र ऊर्जा पूर्वाधारमा युद्धविराम चाहेको जनाएका छन् ।



रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने रुसले उद्देश्य प्राप्त नगरेसम्म युक्रेनमा सैन्य कारबाही जारी राख्ने चेतावनी दिएका छन् । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुनै पनि एजेन्डामा समन्वय वा पहल सुरु नभएको उनको भनाइ छ । लन्डनमा आइतबार आयोजित शिखर सम्मेलनमा सहभागी देशहरूले युक्रेन युद्ध जारी राख्न चाहेको प्रवक्ता पेस्कोभको दाबी छ । ‘ती देशहरूको एउटा समूह स्पष्ट रूपमा युद्धको पक्षधर हो । ती देशहरू युक्रेन युद्ध जारी राख्न र सैन्य कारबाहीका लागि आपूर्तिहरू प्रदान गर्न समर्थन गर्दै छन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...