मुख्य समाचार
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली

। अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई हत्कडी लगाएर काठमाडौं ल्याएको खुलेको छ ।

काठमाडौं ओर्लिएपछि नेपाली अधिकारीहरूले गरेको सोधपुछका क्रममा उनीहरूले आफूहरूलाई हत्कडी लगाएर ल्याएको बताएका हुन् ।

‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो’, डिपोर्ट भएर फर्किएका एक नेपालीले भनेका छन्, ‘त्यसबेला हामीलाई बसेको ठाउँबाट हल्लिन पनि दिएको थिएन, वासरुम प्रयोग गर्न पनि कयौं पटक अनुरोध गर्नुपर्‍यो ।’

अध्यागमन विभागका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन् । तीमध्ये पाँच जना महिला हुन् । सबै जना नियमित उडानमार्फत आएका थिए ।

‘आजै मात्र कमर्सियल फ्लाइटमार्फत अर्का एक नेपाली पनि आएका छन्’, विभागका एक अधिकारीले भने, ‘उनले चाहिँ आफैं स्वदेश फर्किन्छु भनेकाले सामान्य रूपमा फर्काइएको थियो ।’

अधिकृतहरूका अनुसार, हिरासतमा रहेका बेला उनीहरूलाई आफैं स्वदेश फर्किने कि कानून अनुसार प्रतिवाद गर्ने भनेर सोधिएको थियो । जतिले कानून अनुसार प्रतिवाद गर्ने भने उनीहरूलाई हत्कडी र चेनले बाँधेर पठाएको पाइएको ती अधिकृतले बताए ।



ग्रिफान एयरको चार्टर विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरूसँग अहिले बयान लिइरहेको छ । त्यसक्रममा उनीहरूलाई कस्तो अवस्थामा फर्काइएको थियो भनेर समेत सोधिएको छ ।

स्रोतका अनुसार, उनीहरूलाई एकदमै अफ्ठ्यारो परिस्थितिमा स्वदेश आइपुगेका बताएका छन् । ‘त्यो अवधिमा हामीलाई राम्रोसँग खाना खान पनि दिइएन’, डिपोर्टमा परेका एक जनाले प्रहरीसँग भनेका छन्, ‘कहिले काहीँ क्रु मेम्बरले फलफूल दिन्थे, तर त्यो पनि सकभर हत्कडी त्यतिकै राखेर खान दबाब दिन्थे ।’

प्रहरीका अनुसार, उनीहरूलाई राज्यसँग कुनै गुनासो छ भनेर समेत सोधिएको थियो । त्यसक्रममा उनीहरूले अमेरिका वा आफ्नो देशसँग कुनै गुनासो नभएको बताएको एक अधिकृतले बताए । ‘बरु उनीहरूले डोनाल्ड ट्रम्पको कार्यकाल सकिएपछि फेरि अमेरिका जाने भनेका छन्’, ती अधिकृतले भने ।

प्रहरीका अनुसार, ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । प्रहरीका अनुसार, उनीहरू विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।

‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरू अमेरिका पुगेका थिए’, सोधपुछमा संलग्न एक अधिकृतले भने, ‘तर, त्यहाँ पुगेलगत्तै समातिएका रहेछन् ।’

प्रहरीसँग उनीहरूले स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जानु परेको जिकिर गरेका छन् ।

‘गाउँबाट अरु पनि थुप्रै त्यसै गरी अमेरिका पुगेका छन्, डिपोर्टमा परेका कतिलाई एजेन्टले फेरि लगिदिएका छन्’, एक युवाले भनेका छन्, ‘त्यसैले हामी पनि गएका थियौं, भाग्य बलियो नहुँदा फर्किनु पर्‍यो ।’

प्रहरीले उनीहरूसँग सोधपुछमार्फत अमेरिका पठाउने भन्दै असुली गर्ने मानव तस्करीको र्‍याकेटसम्म पुग्ने विश्वास लिएको थियो ।

तर, उनीहरू आफूहरूलाई पठाउने व्यक्तिबारे बताउन तयार देखिएका छैनन् । बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिएपछि फेरि जाने बताएको स्रोतको भनाइ छ ।



ब्यूरोका एक अधिकृतका अनुसार, अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमका हुन् । फर्काइएकाहरू ४७, ३७, ४२, २९, २२, २४, २३ र ३५ वर्षका छन् ।

मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकृतहरूका अनुसार, उनीहरूलाई सोधपुछपछि परिवारको जिम्मा लगाउने तयारी छ ।

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएलगत्तै उनले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघि पनि उनले ११२ भारतीय नागरिकलाई डिपोर्ट गरेर पञ्जाब पठाइदिएका थिए ।

अमेरिकाले यसअघि २ पुस २०७६ मा पनि अवैध रुपमा गएका पाँच नेपाली युवालाई चार्टर्ड विमानमार्फत फर्काइदिएको थियो ।

त्यसबेला फर्काइएकाहरू रुकुम, दाङ र बाग्लुङ जिल्लाका थिए । उनीहरू आफ्नो सामान बोरामा राखेर फर्किएका थिए ।

त्यसबेला फर्किएकाहरू कतिपय भारत–रसिया–हुन्डुरस–पानामा हुँदै दुई महिनामा अमेरिकी सीमा पुगेका थिए ।

तर, सीमाको पर्खाल कटेको केहीबेरमै पक्राउ परेर हिरासतमा पुगेको थिए । त्यसपछि उनीहरूले शरणार्थीका रूपमा बस्न पाउँ भन्दै निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...