मुख्य समाचार
आप्रवासीप्रति अझै कडा हुने ट्रम्पको घोषणा
आप्रवासीप्रति अझै कडा हुने ट्रम्पको घोषणा

: अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले द युनाइटेड स्टेट्स कंग्रेसमा मंगलबार सम्बोधन गरेका छन्। राष्ट्रपतिमा आफ्नो दोस्रो कार्यकाल सुरु भएपछिको ४४औं दिनमा पहिलो पटक द यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्स र द यूएस सिनेटको संयुक्त बैठकलाई राष्ट्रपति ट्रम्पले सम्बोधन गरेका हुन्।


त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफूले गरेका कार्यकारी आदेशको आवश्यकता र आफू नेतृत्वको प्रशासनले गरेको कामको प्रशंसा गरे। झन्डै १ घण्टा ४० मिनेट सम्बोधन गरेका ट्रम्पले आफ्नो सम्बोधनको धेरै समय आफूभन्दा अघिका राष्ट्रपति जोसेफ आर बाइडेन र उनको प्रशासनले गलत नीति लिएको र त्यो समयमा अमेरिका खराब स्थितिबाट गुज्रिएको आरोप लगाए।

आफू आइसकेपछि अमेरिका सही लयमा फर्किएको दाबी सहितको धारणा राखे। उनले कार्यकारी आदेशमार्फत आवश्यकतामा मागहरू पूरा गरिएको बताउँदै यस्ता कार्यकारी आदेशहरू आइरहने बताए। उनले मंगलबार सम्बोधनको क्रममा पनि कार्यकारी आदेशमा हस्ताक्षर गरे।



राष्ट्रपति ट्रम्पको सम्बोधनको क्रममा अमेरिका भित्रको वस्तुस्थितिलाई बढी जोड दिइएको थियो। उनले अवैध आप्रवासीलाई नियन्त्रण गर्न चालिएका कदम प्रभावकारी भएको र आगामी दिनमा अवैध आप्रवासीप्रति अझ कडाइ गरिने दोहो¥याए।

गोल्डन भिसा कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने र अमेरिकालाई कर तिर्नेहरूलाई अमेरिका भित्राइने बताए। अमेरिका भित्र अब पुरुष र महिला मात्र हुने कुरामा जोड दिँदै उनले अमेरिकामा अंग्रेजीलाई राष्ट्रिय भाषा घोषणा, गल्फ अफ अमेरिका नामकरण, डेनाली हिल घोषणा, पानामा क्यानलमा अमेरिकी स्वामित्वको माग, क्यानडा,मेक्सिको र चिनवाट भित्रने सामानमा करको वृद्धि सबै अमेरिका पहिलो नीतिअन्तर्गत भएको बताए।
राष्ट्रपति ट्रम्पले वैदेशिक सहायता कटौती, कर्मचारी कटौती, स्वेच्छिक अवकाशको व्यवस्था जस्ता प्रावधान अमेरिकालाई बलियो बनाउने नीतिका रूपमा रहेको दाबी गरे।

आफ्ना सहयोगी एलन मस्कदेखि विदेश मन्त्री मार्को रुबियोसहित आफ्ना प्रशासनका मन्त्रीदेखि विभागीय प्रमुखहरू सहितको प्रशंसा गर्दै सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित र समृद्ध बनाउनका लागि आफ्नो प्रशासनले ४३ दिनमै अरूले चार वर्ष वा आठ वर्ष लगाएर गर्ने कामहरू गरेको दाबी गरे। उनले भने–इट्स जस्ट विगन, अमेरिका इज ब्याक।’ अमेरिका गोल्डेन एजमा प्रवेश गरेको बताए।

अमेरिकामा आफू आउनुभन्दा अघि मुद्रास्फीति उच्च बिन्दुमा रहेको देखि अन्डाको मूल्य समेत बढेको सम्मको विषय उठाएका राष्ट्रपति ट्रम्पले गाजामा भैरहेको युद्ध अन्त्यदेखि युक्रेन रूस युद्ध अन्त्यका लागि प्रभावकारी पहल भएको बताए। उनले अमेरिकाले युद्ध अन्त्यका लागि पहल गर्नुको साटो अनावश्यक सहयोग गरेको बताउँदै युक्रेन अब शान्ति वार्तामार्फत सहमतिका लागि तयार देखिएको बताए। युक्रेनका राष्ट्रपति भोलोडिमियर जेलेन्स्कीले पत्र पठाएर सहमतिका लागि छिट्टै अमेरिका आउन लागेको बताएको कंग्रेसलाई जानकारी गराएका थिए। गत हप्ता जेलेन्स्की र ट्रम्पबीचको अमेरिकामा भएको वार्ता असहज बनेको केही घण्टामैं युक्रेनलाई यूके, फ्रान्स, जर्मनीलगायत युरोपियन युनियनले सहायता रकम बढाएका थिए। अमेरिकाले सहायता रकम रोकेको थियो। अमेरिका युक्रेनलाई सहयोग गर्ने एकल देशमध्ये पहिलो हो। अमेरिकाले युक्रेनको खनिजमा पहुँच मागिरहेको छ।

पछिल्लो बाइडेन प्रशासनले गलत नीति अंगालेको र आफ्नो प्रशासनले गरिरहेको काम र योजना सही दिशामा अघि बढिरहेको पक्षलाई पुष्टि गर्न आधार, आवश्यकता र तथ्यांक प्रस्तुत गरेका थिए। तर, उनले प्रस्तुत गरेको दाबी र तथ्यांकलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फ्याक्ट चेक गरिरहेका छन्। कतिपय तथ्यांक स्वतन्त्र पुष्टि गर्न नसकिने खालका रहेको सञ्चारमाध्यमहरूले बताएका छन्।

राष्ट्रपति ट्रम्पले कंग्रेसमा सम्बोधन गरिरहँदा रिपब्लिकन पार्टीका सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ्सहरूले समर्थनमा ताली बजाएका थिए। बेला–बेला उठेर साथ दिएका थिए। दुवै सदनमा रिपब्लिकनको बहुमत रहेको छ। राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा विभिन्न मुद्दामा बोल्दै डेमोक्रेटिक नेता र सांसदहरूलाई अपमानित गरेका थिए।

डेमोक्रेटिक पार्टीका सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ्सहरूले सुनिरहेका थिए भने कतिपयले रेसिस्ट लेखेको टिसर्ट लगाएका थिए। कतिपयले युक्रेनको समर्थनमा नीलो र पहेंलो टाई लगाएर मौन बसेका थिए। कतिपयले महिला र परिवारका मुद्दामा अनादार देखिएको भन्दै विरोध स्वरूप गुलावी टिसर्ट लगाएका थिए। केही डेमोक्रेट सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ्स सम्बोधनकै क्रममा बाहिरिएका थिए।

ट्रम्पको पहिलो कार्यकालमा नैं उनलाई महाअभियोग लगाउनुपर्नेे पक्षमा उभिएका टेक्ससबाट हाउसमा प्रतिनिधित्व गर्ने डेमोक्रेटिक पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स अल ग्रिनले मंगलबार पनि विरोध गरेका थिए। उनलाई कंग्रेस च्याम्बरबाट निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...
: पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। सजाय सुनाइएकाहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ। मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो। यसले गर्दा देशभर हिंसात्मक विरोध प्रदर्शन भएका थिए। बिहीबार भएको यो निर्णयलाई इमरान खानको पार्टी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा रहेको विशाल तेल भण्डार विकास गर्न अमेरिका र पाकिस्तानबीच सम्झौता भएको बताएका छन्। आफ्नो सामाजिक सञ्जालमा जारी गरिएको सन्देशमा ट्रम्पले अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौता गरेको बताएका हुन्। यसअन्तर्गत दुवै देशले पाकिस्तानको ठूलो तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्। उनले भने, 'हामी हाल यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनौट गर्ने ...
— दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ । युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ...
— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती ...