: धरान-रानी ६ लेन सडक बिस्तारका लागि सुनसरीको दुहबी बजारमा सडक अतिक्रमण गरी बनाइएका घरहरू डोजर लगाएर भत्काउन सुरु गरिएको छ। दुहबी नगरपालिकाले ६ लेन सडक बिस्तार गर्न प्रहरी परिचालन गरी बजार क्षेत्रका घर भत्काउन सुरु गरेको हो।
धरानदेखि विराटनगरको रानीसम्मको ६ लेन सडकको निर्माण अन्य ठाउँमा अन्तिम चरणमा पुगेको अवस्थामा दुहबीमा भने स्थानीय बासिन्दाले घर खाली नगरेका कारण सडक बिस्तारमा अवरोध पुगेको थियो। हाल डोजर लगाएर भत्काउनु परेको दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले बताएका छन्। उनले नगरवासीलाई सडकको मापदण्डभित्र पर्ने घर खाली गर्न अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको बताए।
बिहीवार दुहबी नगरपालिकाको अनुरोधमा दुहबी बजार क्षेत्रमा घर खाली गराउन प्रयाप्त नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। ६ लेन सडक खाली गर्न दुहबी नगरपालिकाले सुरक्षा माग गरेका कारण दुहबी बजारमा प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताएका छन्।
प्रहरीको सहयोगमा सडक बिस्तारका लागि स्थानीयका घर भत्काउने काम भइरहेको छ। दुहबीका घर भत्काएपछि धरान-रानी ६ लेन सडक बिस्तार हुँदा यातायातका साधन सञ्चालनमा सहज हुने धरानका यातायात व्यवसायी सरोज श्रेष्ठले बताए।