: बाजुरा जिल्लाको स्वामीकात्तिक खापर गाउँपालिका-२, फयाल गाउँका पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको छ। आइतबार साँझ कर्णाली नदीमा माछालाई पासो थाप्न जाने क्रममा लडेर अप्ठेरो भीरमा अड्किएका उनको राति मृत्यु भएको हो।
उनले भीरबाट लडेर अड्किएपछि परिवारलाई फोनमार्फत खबर गरेका थिए। परिवारले गाउँलेलाई खबर गरेपछि ८ जना गाउँबाट उद्धारका लागि गएका थिए। अप्ठेरो चट्टानी भीरमा राति भएकोले भण्डारीको उद्धारका लागि गएका सबै भीरमा अड्किएका थिए।
४० वर्षीय पुसे माछा मार्न अनुभवी मानिन्थे। गाउँबाट करिब तीन–चार घण्टाको बाटो पार गरेर उनी कर्णाली नदीको किनारमा पुगे। पुसे जहिल्यै जोखिम मोलेर माछा मार्न जाने गरेको स्थानीय गणेश बुढाले बताए। गाउँलेहरू पनि उनलाई भीर चढ्ने मान्छे भनेर चिन्थे। आइतबार साँझ हुन लाग्दा उनी घर फर्किने तयारी गर्दै थिए। अचानक उनी भीरबाट लडे।
लड्दै तल पुगेका पुसे अर्धचेत अवस्थामा भए। उनी असक्त हुनका साथै बेसुर थिए। तर उनले हातमा रहेको मोबाइलबाट घरमा फोन गरे। परिवारले गाउँलेलाई खबर गरेपछि परिवार पुसे लडेको भीरमा पुगे। समूह बनाएर कर्णाली नदीतर्फ लागे। तर भीर उस्तै उकालो थियो, झन् अन्धकार भयो। उता पुसेको आवाज कमजोर हुँदै गयो। ‘म अब सक्दिनँ,’ फोनमै बोल्दै–बोल्दै उनको प्राण गयो।
गाउँले पुगे। तर ढिलो भइसकेको थियो। शव उतार्न खोजे, तर जोखिम धेरै थियो। त्यसपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन्। प्रहरी निरीक्षक देव चौधरीका अनुसार तत्कालै जुड्डी प्रहरी चौकीबाट टोली खटियो। तर शव निकाल्न सक्ने अवस्था थिएन। ‘भीर यति अप्ठ्यारो छ कि गाउँलेहरू मात्र होइन, प्रहरी टोली पनि सहजै पुग्न सकेन।
स्थानीय भन्छन्, ‘हामी ८–१० जना वारिबाट गयौँ, ८–१० जना पारीबाट गयौँ, तर कोही भीरमै अड्कियौँ। उद्धार गर्नै सकिएन।’
रातभरि प्रहरी र गाउँलेहरू आगो बालेर बसे। कर्णाली नदीको छेउमा पुसेको लास छ। इलाका प्रहरी कार्यालय कोल्टीबाट थप टोली घटनास्थलमा छ। हिमाली गाउँपालिकाबाट बोट टोली ल्याएर सोमबार बिहान ११ बजे भीरमा अड्कीएको पुसेको लास सहित अन्य ८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।