: वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका-४ स्थायी घर भई हाल वीरगन्ज-२४ रामगढवामा बस्दै आएका ६० वर्षीय बृजकिशोर प्रसाद साहले कार्यालय परिसरमै आत्मदाहको प्रयास गरेका हुन्।
सोमबार दिउँसो साढे १२ बजे साहले किरा मार्ने विषादी सेवन गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाउने कोसिस गरेका थिए। तर, त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले साहलाई आगो लगाउनबाट रोक्न सफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
हल्का विष समेत सेवन गरिसकेका साहलाई त्यहाँबाट उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पुर्याइएको र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको अर्यालले बताए।
मिटरब्याजीबाट पीडित साहलाई प्रहरीले न्याय नदिएका कारण उनले आत्मदाहको प्रयास गरेको बताइएको छ। घटनास्थलबाट भेटिएको साह आफैंले लेखेको पत्रमा लेखिएको छ, ‘घटनास्थलबाट सीडीओलाई प्राप्त पत्रमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूका नाममा पास गरेको थिए। तर जग्गाको आफूले पैसा तिर्न खोज्दा पीडकले फिर्ता गर्न आनाकानी गरिरहेको छ। यो मुद्दामा प्रहरीले पनि साथ दिइरहेको छैन, त्यही कारण यो बाटो रोजेको हुँ।’
घटनास्थलबाट बरामद उक्त पत्रबारे पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रहरी कार्यालय पर्सामा साहले निवेदन दिएको र त्यसबारे प्रहरी कार्यालयमा मिलापत्रका लागि छलफल भइरहेको अवस्था रहेको बताए। सोमबारको घटनाबारे थप अनुसन्धानका लागि आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको अर्यालले बताए।
साहले आत्मदाहको प्रयास गरिरहेका समयमा जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको थियो।