: कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा रंगहरुको पर्व होली शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबारको होलीमा कुनै अप्रिय घटना भएन। हिमाली तथा पहाडी जिल्लाहरुमा शान्तिपूर्ण रूपमा होली मनाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए।
‘हिमाली तथा पहाडी जिल्लामा होली मर्यादित र शान्तिपूर्ण भएको छ। होलीलाई लक्षित सुरक्षा व्यवस्था कडा पारिएको थियो। सम्भावित घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो। मजबुत सुरक्षा व्यवस्थाका कारण कुनै पनि अप्रिय घटना हुन पाएन,’ उनले भने।
प्रहरीका अनुसार हिमाली एवं पहाडी जिल्लामध्ये बिहीबार ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा होली मनाइएको छ। यद्यपि, उदयपुरका केही स्थानमा तराईमा मनाउने दिन होली खेल्ने चलन छ।
होलीमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका केही सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीआईजी अधिकारीका अनुसार विभिन्न स्थानबाट २ पांग्रे १० वटा, ४ पांग्रे २ वटा तथा ३ पांग्रे एउटा सवारीसाधन नियन्त्रणमा लिएर दिनभरि ‘होल्ड’ गरिएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरेर छाडिएको छ।
यसैबीच, शुक्रबार तराईमा होली मनाइँदै छ। हिमाली तथा पहाडी जिल्लामा होली मनाएको भोलिपल्ट तराईमा एकआपसमा रंग दलेर रमाइलो गर्दै हर्षोल्लासपूर्ण तरिकाले होली मनाउने प्रचलन छ। कोशी प्रदेशमा झापा, मोरङ र सुनसरी जिल्लासहित उदयपुरका केही स्थानमा शुक्रबार होली मनाइने छ। डीआईजी अधिकारीका अनुसार तराईको होलीलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।
‘सबै ठाउँमा सुरक्षा कडाइ गरिएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्,’ उनले भने, ‘राष्ट्रिय पर्व होलीलाई मर्यादित, भव्य र सभ्य तरिकाले मनाउने वातावरण तयार पार्न कुनै कसर बाँकी राखिएको छैन। उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावित स्थानको पहिचान गरेर त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ।’ विगतमा भएका आपराधिक घटना एवं उच्छृङ्खल गतिविधि तथा भिडभाड बढी हुने स्थानलाई लक्षित गरेर प्रहरी कारबाही अघि बढाइएको जानकारी अधिकारीले दिए।
सुरक्षा निकायका तर्फबाट होली लक्षित विशेष सुरक्षा योजना तयार पारेर लागू गरिएको छ। हिमाली एवं पहाडी जिल्लाको तुलनामा तराईको होली अलि बढी चुनौतीपूर्ण हुने सुरक्षा विश्लेषण छ। डीआईजी अधिकारीले होलीलाई सभ्य, भव्य, सु–संस्कृत र शान्तिपूर्ण बनाउन सचेतनामूलक सन्देशहरु प्रवाह गरिएको बताए। साथै, माइकिङको काम पनि भइरहेको छ।
सवारी दुर्घटना हुन नदिन ठाउँठाउँमा ट्राफिक प्रहरीसहितको चेकजाँचको व्यवस्था मिलाइएको छ। होलीमा कुनै प्रकारका अप्रिय घटनाहरु नहुन् भन्ने उद्देश्यले सुरक्षा जाँचमा कडाइ गर्दै मोबाइल गस्ती, क्यूआरटी, सादा पोसाकसहित पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जानकारी अधिकारीले उल्लेख गरे।
रंगहरुको पर्व होलीमा कानुनविपरीतका अवाञ्छित गतिविधि नगर्न सबैलाई सचेत गराइएको उनको भनाइ छ। पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बद्र्धन र प्रवर्धनबाहेक अन्य उच्छृङ्खल गतिविधि गर्न नहुनेमा सुरक्षा निकायको जोड छ। एकअर्काको इच्छाविपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्ने अधिकारीले बताए।
उनका अनुसार रमाइलो गर्ने नाममा इच्छाविपरीत जबरजस्ती रंग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउनेजस्ता कार्य गर्न पाइने छैन। त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्न, चर्को आवाजमा बाजा (डिजे) बजाउन, व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु गर्न–गराउन रोक लगाइएको उनले बताए। प्रहरीले स्वास्थ्यमा असर नपर्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न अनुरोध गरेको छ।
होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्ण हिसाबले मनाउँदै समाजमा शान्ति, सुव्यवस्था एवं सद्धभाव कायम गर्ने कार्यमा सहयोग गर्न डीआईजी अधिकारीले सबैमा अनुरोध गरेका छन्। रोक लगाइएका कार्य र अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी उनले दिए।
‘रमाइलो गर्ने नाममा अरुलाई असर पुर्याउन पाइने छैन। कोही कसैले कानुनविपरीतका गतिविधि गरेमा कारबाही हुन्छ,’ उनले भने, ‘नियम कानुनको बर्खिलाप गर्ने कारबाहीको भागिदार बन्नुपर्छ। त्यही भएर सबैलाई बेलैमा सचेत गराइएको छ।’ डीआईजी अधिकारीले कुनै ठाउँमा गैरकानुनी र अवाञ्छित गतिविधि भएमा तत्काल सूचना दिएर सहयोग गर्न पनि सबैमा आग्रह गरेका छन्।