: गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन्।
सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन भइरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगन्ज महानगरपालिका-१६ र ३० स्थित घरबाट अवैध कल बाईपसमा प्रयोग भएको उपकरणहरूसहित उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट भीओआईपी गेटवे ३२ पोर्टको २ थान, १८ पोर्टको १ थान, सिम कार्ड १४ थान, राउटर ४ थान, ल्यापटप २ थान, ब्याट्री २ थान, इन्भर्टर २ थान, कनेक्टर १ थान, मोबाइल १ थान र पेनड्राइभ १ थान समेत बरामद गरेको छ।
उनी उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।