: अर्जुनचौपारीमा नवनिर्मित नवग्रह मन्दिरमा ७८ लाख रुपैयाँ भेटि संकलन भएको छ। अर्जुनचौपारी गाउँपालिका –१ पञ्चकन्या मन्दिर परिसरमा भएको ९ दिने धार्मिक महोत्सवमा ७७ लाख ६८ हजार रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए।
फागुन ६ देखि १४ गतेसम्म नेपालको पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरिएको थियो।
एक सय ४४ वर्षपछिको महाकुम्भको अवसर पारेर गरिएको नवग्रह मन्दिर निर्माणसँगै पुजनसहितको महोत्सवको सहयोग रसिदबाट ५० लाख ४ हजार, बैंक क्युआरकोडबाट ९ लाख ५ हजार रुपैयाँ जम्मा भएको छ।
यसैगरी दानपेटिकाबाट १६ लाख २६ हजार, महोत्सवमा संकलित अन्न तथा खाद्यान्न सामग्री बिक्रीबाट २ लाख ३१ हजार रुपैयाँ जम्मा भएको छ।
पञ्चकन्या मन्दिर परिसरको करिब १ सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको छ। मुख्यभागमा २७ फिट अग्लो नवग्रह मन्दिर आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ।