: प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधनको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रदाञ्जली अर्पण गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन,आफन्त,साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन्।
'लीलबहादुर क्षेत्रीको 'बसाइँ'उपन्यासले कुनै समय क्यम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका 'बसाइँ'' र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’बाट सम्मानित उहाँको ‘ब्रम्हपुत्रको छेउछाउ’उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ । उनै ख्यातिप्राप्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको खबरले पीडा भएको छ । दिवंगत लीलबहादुर क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन,आफन्त,साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्दछु ,'प्रधानमन्त्रीले लेखेका छन्।
भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको ९३ वर्षको उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भएको हो। ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा,निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका क्षेत्री जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।