। समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत १५ गते काठमाडौंमा ‘भव्य’ प्रदर्शन गर्ने निर्णय मोर्चाले गरेको छ ।
गत फागुन २५ गते राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा भव्य प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।
राजसंस्थाको पक्षधरको सक्रियता र आगामी कार्यक्रमबारे छलफल गर्न आज बिहान मोर्चाको बैठक बसेको थियो । बैठकपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपा नेता खड्कबहादुर विश्वकर्माले पत्रकारहरुसँग भने, ‘हाम्रो निष्कर्ष के छ भने परिस्थिति एकपछि अर्को जटिल बन्दै गइरहेको छ र जटिल बनाउने कसरतरहरु भइराख्या छन् ।’
त्यसैले गणतन्त्र पक्षमा मोर्चाले प्रदर्शन गर्न लागेको उनको भनाइ थियो ।
यसका लागि बुद्धिजीवी र नागरिक समाजसँग ललितपुरको होटल हिमालयमा शनिबार बिहान ११ बजे छलफल गर्ने र छलफल सकिएलगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिने निर्णय मोर्चाले गरेको छ ।
राष्ट्रिय स्वाधिनता र गणतन्त्रको रक्षाका लागि अन्य दलसँग पनि छलफल गर्ने मोर्चाले जनाएको छ ।
यही चैत १५ को गर्ने प्रदर्शनलाई ‘भव्य’ बनाउने निर्णय गरेको नेता विश्वकर्माले बताए । मोर्चाका नेता विश्वकर्माका अनुसार प्रदर्शनमा ‘हजारौं’ जनताको सहभागितालाई सुनिश्चित गर्ने तयारी छ ।