मुख्य समाचार
अमेरिकामा अब ग्रीनकार्डधारीहरू पनि असुरक्षित
अमेरिकामा अब ग्रीनकार्डधारीहरू पनि असुरक्षित

। अमेरिकामा रहेका अवैध आप्रवासीहरू यसअघि नै त्रसित छन्, अब त ग्रीनकार्डधारीहरू पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निर्वासन अभियानको सिकार बन्ने भएका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनकार्डधारीहरूलाई सधैंभरि अमेरिका बस्ने अधिकार नरहेको बताएपछि थप आप्रवासीहरूमा तनाव थपेको छ ।




‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार मिल्छ भन्ने होइन,’ भान्सले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

भान्सको अमेरिकी सरकारलाई ग्रीनकार्डधारीहरूलाई पनि निष्कासन गर्ने अधिकार रहेको अभिव्यक्ति सार्वजनिक भएपछि अमेरिकामा थप आप्रवासीहरू भयभित बनेका छन् ।




सामान्यतः ग्रीनकार्ड प्राप्त आप्रवासीले कानुनी रूपमै स्थायी रूपमा अमेरिका बस्न पाउँछन् । यो कार्ड पाएका आप्रवासीलाई अमेरिकामा स्थायी रूपमा बसोवास गर्न र काम गर्ने अधिकार हुन्छ ।

भान्सको अभिव्यक्तिसँगै युक्रेनी शरणार्थीहरू ट्रम्पले अस्थायी रूपमा अमेरिकामा बस्ने अनुमति उल्ट्याउने हुन् कि भन्ने असमञ्जसमा परेका छन् । अब, ग्रीन कार्ड होल्डरहरू आफैं पनि ट्रम्पको निर्वासन सूचीमा परिने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार शनिबार राति विद्यार्थी आन्दोलनका नेताहरू मध्येका एक ग्रीन कार्ड होल्डर महमूद खलील पक्राउ परेपछि यो डर झन् बढेको छ।

सन् १९९५ मा सिरियामा प्यालेस्टिनी बाबुआमाका सन्तानका रूपमा जन्मिएका खलीललाई अमेरिकी गृह सुरक्षा विभागको आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आईसीई) टोलीले न्यूयोर्क सिटीको सडकबाट कुनै चेतावनीबिना पक्राउ गरेको हो ।

सोमबारसम्म बेपत्ता बनाइएका खलीललाई उनका वकिलले न्यूयोर्कबाट १,००० माइल टाढा लुइसियानाको एक हिरासत केन्द्रमा स्थानान्तरण गरिएको पत्ता लगाए।

झन् आश्चर्यलाग्दो कुरा के भने, पक्राउ गर्ने अधिकारीहरूले खलीललाई कुनै अपराधमा आरोप लगाएनन्। खलीलकी आठ महिनाकी गर्भवती अमेरिकी पत्नीका अनुसार प्रारम्भमा आईसीई टोलीले खलीलले कोलम्बिया विश्वविद्यालयका लागि विद्यार्थी भिसा गलत तरिकाले प्राप्त गरेको आरोप लगाएको थियो।

तर खलील ग्रीन कार्ड होल्डर हुन् र उनले भिसा लिइरहनु पर्दैन भन्ने थाहा पाएपछि पनि प्रहरीले कारबाही रोकेन र उनलाई नियन्त्रणमा लिएर गए ।

अब ट्रम्प प्रशासन खलीललाई अमेरिका बस्न अयोग्य ठहर गर्न खोजिरहेको छ, जसको मुख्य कारण अघिल्लो वर्ष कोलम्बिया विश्वविद्यालयमा भएका विद्यार्थी प्रदर्शनहरूमा उनको नेतृत्व रहेको बताइएको छ।

खलील सन् २०२३ देखि कोलम्बियामा अध्ययन गर्दै आएका छन् । उनी इजरायलले गाजामा गरेको आक्रमणको कट्टर आलोचक हुन्। उनले अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको युद्ध मन्त्रिपरिषद्को समर्थन गरेकोमा निन्दा गरेका थिए।

अब, उनी ट्रम्पको ‘अमेरिकालाई पुनः महान बनाऊ’ अभियानसँग असहमत हुने आप्रवासीहरूका लागि चेतावनीको प्रतीक बनेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले खलीललाई ‘हमास आतंकवादीहरूका पक्षमा उभिएको’ आरोप लगाइन् । खलीलमाथि कोलम्बियामा पठनपाठन अवरुद्ध गरेको, यहूदी-अमेरिकी विद्यार्थीहरूलाई असुरक्षित बनाउने काम गरेको र हमासको पक्षमा प्रचार सामग्री बाँड्न संलग्न रहेको पनि आरोप लागेको छ ।

उनले ती सामग्रीहरूको प्रतिलिपि आफूसँग रहेको दाबी गरिन्, तर ह्वाइट हाउसको ‘गरिमा’ जोगाउन तिनलाई सार्वजनिक नगरिएको बताइन्।

खतरामा ग्रीन कार्ड होल्डरहरूको संवैधानिक अधिकार

१२ मिलियनभन्दा बढी ग्रीन कार्ड होल्डरहरूलाई अमेरिकी संविधानको पहिलो संशोधनअनुसार सम्पूर्ण नागरिकसरह बोल्ने स्वतन्त्रताको अधिकार छ। अमेरिकी कानुनअनुसार, कानुनी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई समेत अभिव्यक्तिको स्वतन्त्रता दिने परम्परा रहिआएको छ ।

ट्रम्पको पहिलो कार्यकालमा ग्रीन कार्ड होल्डरहरूलाई ‘बफादारी परीक्षण’ दिनुपर्ने प्रस्ताव गरिएको थियो। सन् २०१७ को फेब्रुअरीमा लागू गरिएको सात मुस्लिम बहुल देशमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण केही ग्रीन कार्ड होल्डरहरू प्रभावित भएका थिए।

त्यतिबेला अमेरिकी सीमामा ग्रीन कार्ड होल्डरहरूलाई उनीहरूको राजनीतिक विचारबारे सोधपुछ गरिएको थियो।

खलीलको निर्वासन कानुनी लडाइँको प्रमुख मुद्दा बन्ने संकेत

अब अमेरिकी सरकार खलीलको ग्रीन कार्ड रद्द गरेर उनलाई देश निकाला गर्न खोज्दैछ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सन् १९५२ को अध्यागमन तथा नागरिकता ऐनको एउटा दुर्लभ धाराको उपयोग गर्दै, ‘अमेरिकामा बसोबास गर्ने कुनै पनि आप्रवासीको उपस्थिति वा गतिविधिले अमेरिकी विदेश नीतिमा गम्भीर प्रतिकूल असर पार्न सक्छ’ भन्ने प्रावधानअनुसार कारबाही अघि बढाइने बताएका छन्।

रुबियोले बुधबार पत्रकारहरूलाई भने, ‘कसैले ग्रीन कार्ड पाउनु नै अधिकारजस्तै लाग्दैन।’

उनले खलीलको मुद्दालाई अभिव्यक्ति स्वतन्त्रताको प्रश्नसँग जोड्न अस्वीकार गरे। ‘यदि कोही अमेरिका प्रवेशको अनुमति खोज्दैछ र आफू ‘हमासको ठूलो समर्थक’ भएको तथा विश्वविद्यालयहरूमा ‘विभिन्न प्रकारका यहूदी विरोधी गतिविधि’ भड्काउन चाहेको कुरा खुलाउँछ भने, उनको भिसा अस्वीकृत वा रद्द गरिनेछ। यदि तपाईंसँग ग्रीन कार्ड छ भने पनि हामी तपाईंलाई देश निकाला गर्नेछौं। यो त्यति नै सरल कुरा हो।’

अर्का विद्यार्थी पनि पक्राउ

अमेरिकी आप्रवासन अधिकारीहरूले न्यूयोर्क सहरस्थित कोलम्बिया विश्वविद्यालयमा गत वर्ष भएको प्यालेस्टिनी समर्थन प्रदर्शनमा संलग्न अर्को कार्यकर्तालाई पक्राउ गरे ।

यसले ट्रम्प प्रशासन आप्रवासीविरुद्ध थप कडा नीति अख्तियार गर्ने पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ । शुक्रबार अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्यालेस्टिनी मूलकी लेखा कोर्डियालाई न्यूयोर्कमा गिरफ्तार गरिएको छ। उनी वेस्ट बैंक निवासी हुन्।’

भारतीय नागरिक रहेका अर्की छात्रा रञ्जनी श्रीनिवासनले यसै हप्ता स्वेच्छिक रूपमा अमेरिका छोड्ने निर्णय गरेकी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीबीसीका अनुसार यो घटना कोलम्बिया विश्वविद्यालयका विद्यार्थी कार्यकर्ता महमूद खलीलको गिरफ्तारीपछि आएको हो। खलीललाई शनिबार न्यूयोर्कमा पक्राउ गरी लुइसियानाको जेलमा स्थानान्तरण गरिएको थियो।

गृह सुरक्षा विभागका अनुसार, कोर्डियाले आफ्नो विद्यार्थी भिसाको समयसीमा नाघेकी थिइन्। सन् २०२२ मा कक्षामा कम उपस्थिति भएको भन्दै उनको भिसा रद्द गरिएको थियो । यद्यपि, उनी कोलम्बिया विश्वविद्यालय वा कुनै अन्य शैक्षिक संस्थामा अध्ययनरत थिइन् कि थिइनन् भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।

डीएचएसका अनुसार, अप्रिल २०२४ मा कोर्डियालाई कोलम्बिया विश्वविद्यालयमा भएको विरोध प्रदर्शनमा भाग लिएबापत पक्राउ गरिएको थियो ।

कानुनी संघर्ष र ट्रम्प प्रशासनको कडा नीति

बुधबार खलीलका समर्थकहरू न्यूयोर्कको संघीय अदालतमा भेला भए, जहाँ उनका वकिलहरूले उनको रिहाइको माग गर्दै मुद्दा दर्ता गरे। अदालतमा खुलेको तथ्य अनुसार खलीललाई गिरफ्तारीपछिका दिनहरूमा एक्लै आफ्ना वकिलसँग कुरा गर्न दिइएको थिएन।

न्यायाधीश जेसी फुर्मानले बिहीबारसम्म खलीललाई आफ्ना वकिलहरूसँग एक्लै भेट्न दिन सरकारलाई आदेश दिए। साथै उनले दुवै पक्षलाई ‘यो मुद्दा चाँडो समाधान गर्न आवश्यक छ’ भन्दै निर्देशन दिए।

तर, त्यही समयमा ट्रम्प प्रशासनका ‘सीमा सुरक्षा प्रमुख’ थोमस होम्यानले भने, ‘खलील राष्ट्रिय सुरक्षाका लागि खतरा हुन्। अघिल्लो प्रशासनमा तपाईंले यस्ता कुरा गर्न सक्नुहुन्थ्यो, तर अहिले सम्भव छैन।’

ह्वाइट हाउसले थप विद्यार्थी प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्ने योजना बनाइरहेको बताइएको छ। कोलम्बिया विश्वविद्यालयलाई उनीहरूको स्थानबारे जानकारी दिन दबाब दिइएको छ।

तीमध्ये कतिपय खलीलजस्तै ग्रीन कार्ड होल्डरहरू हुन् वा होइनन् भन्ने स्पष्ट छैन। तर अहिले अमेरिकाका लाखौँ स्थायी आप्रवासीहरूलाई सन्देश दिइएको छ- ट्रम्पलाई समर्थन गर, नत्र ‘अमेरिकी जनताको शत्रु’ बन्ने जोखिममा पर्न सक्छौ।

– एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनको सहयोगमा भूउपग्रह प्रक्षेपण गरिएको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ,‘उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ। यसले पाकिस्तानलाई सहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूको सामना गर्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न, ...
: अमेरिकामा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको नेभल एयर स्टेशन लेमूर नजिकै एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो। अमेरिकी नौसेनाका अधिकारीहरूले पाइलट विमानबाट बाहिर निस्कन सफल भएको जानकारी दिए। घटनाबारे एनएएस लेमूरले विज्ञप्ति जारी गर्दै पाइलट सफलतापूर्वक विमानबाट बाहिर निस्केका र अन्य कुनै पनि कर्मचारी प्रभावित नभएको जनाएको छ। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि विपक्षीहरू दलहरूले केन्द्र सरकारमाथि तीखो टिप्पणी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्रम्पले गरेको यो घोषणा खराब दिनको सुरुवात भएको बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने,'यो नराम्रो दिनको सुरुवात हो। किनकि यस देशका युवाहरूलाई रोजगारी चाहिन्छ। यदि यस्ता अवरोधहरू छन् ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने बताएका छन्। उनको यो घोषणा दक्षिण कोरियासँगको व्यापार सम्झौता पछि आएको हो। ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ। संयुक्त राज्य अमेरिका दक्षिण कोरियासँग व्यापार सम्झौतामा पूर्ण रूपमा सहमत भएको छ,’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखे। दक्षिण कोरियाली राष्ट्रपति ली ...
: भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसलाई के गर्छ भन्ने कुरा आफूलाई मतलब नभएको बताएका छन्। ट्रम्पले भनेका छन्,'भारतले रुसलाई के गर्छ मलाई मतलब छैन।' यसअघि बुधबार ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल ...