मुख्य समाचार
आईएमएफको कार्यकारी बैठकले पाँचौं किस्ता भुक्तानी दिने निर्णय
आईएमएफको कार्यकारी बैठकले पाँचौं किस्ता भुक्तानी दिने निर्णय

— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराउँदै आएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) अन्तर्गतको पाँचौं किस्ता दिने भएको छ । यसअनुसार अब नेपालले चार करोड १८ लाख अमेरिकी डलर बराबर (करिब पाँच अर्ब ८१ करोड रुपैयाँ) भुक्तानी पाउनेछ । गत शुक्रबार बसेको आईएमएफको कार्यकारी बैठकले पाँचौं किस्ता भुक्तानी दिने निर्णय गरेको हो ।


विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसीएफ सुविधा लिएको थियो । यो नेपालले पाउने विशेष अधिकार (स्पेसल ड्रइङ राइट) कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषणका लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्ने गरी आईएमएफले यस्तो सुविधा उपलब्ध गराएको थियो । अहिले पाँचौं किस्ता स्वीकृत गरेको हो ।


स्थलगत अध्ययनका लागि गत पुसमा आईएमएफको टोली नेपाल आएको थियो । सोही टोलीले तयार पारेको प्रतिवेदनका आधारमा कोषको कार्यकारी बैठकले ईसीएफअन्तर्गतको पाँचौं किस्ता भुक्तानी दिने निर्णय गरेको हो । पुँजीगत खर्च बढ्न नसकेको, राजस्व वृद्धि सुस्त रहेको, अर्थतन्त्रमा आन्तरिक माग बढ्न नसकेकोलगायत चुनौती नेपालको अर्थतन्त्रले सामना गरिरहेको आईएमएफले जनाएको छ । नेपालले राजनीतिक अस्थिरता तथा गत असोजमा आएको बाढीपहिरोका कारण उत्पन्न अवरोधका बाबजुद पनि उल्लेखनीय प्रगति गरेको आईएमएफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/८२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धि हुने आईएमएफको प्रक्षेपण छ । अपेक्षित रूपमा बजार माग बढ्न नसकेको, बाढीको कारण ठूलो भौतिक क्षति भए पनि चालु आर्थिक वर्षमा चार प्रतिशतभन्दा बढीले आर्थिक वृद्धि हुने आईएमएफको विज्ञप्तिमा उल्लेख छ । पुँजीगत खर्चमा वृद्धि, भूकम्प तथा बाढीपहिरोपछिको पुनर्निर्माण, लचिलो र सहुलियतपूर्ण मौद्रिक नीति, जलविद्युत् उत्पादनमा भएको वृद्धिलगायत कारणले यस वर्ष नेपालको आर्थिक वृद्धिलाई थप टेवा पुग्ने आईएमएफको दाबी छ ।

यस वर्षको औसत मुद्रास्फीति पनि ५.२ प्रतिशत रहने आईएमएफले जनाएको छ । आर्थिक वृद्धि र मुद्रास्फीतिमा आईएमएफको प्रक्षेपण यस वर्ष सरकारको वार्षिक लक्ष्यभन्दा कम हो । यस वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि र साढे ६ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रुपान्तरणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री वाग्लले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्। उनले वर्तमान सरकारले ...
— भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण देशकै प्रमुख भन्सार वीरगन्ज भन्सार कार्यालयको कामकाज एक सातायता प्रभावित भएको छ । निजी क्षेत्रले सरकारको यो नियमप्रति आपत्ति जनाउँदै भन्सार बिन्दुमा भित्र्याइसकेको मालसामान पनि जाँचपास नगराएपछि सर्वाधिक राजश्व संकलन गर्ने यो भन्सारको राजश्व असूलीमा समेत व्यापक गिरावट आएको छ । ...
— एसियाली विकास बैंक (एडीबी)ले एसीयाली मुलुकलाई स्वच्छ ऊर्जा, ब्याट्री, विद्युतीय सवारी र डिजिटल प्रविधिका लागि आवश्यक पर्ने अत्यावश्यक खनिज पदार्थको आपूर्ति श्रृंखला विकासका लागि सहयोग गर्ने नयाँ वित्तीय सुविधाको घोषणा गरेको छ । ५९ औं वार्षिक बैठकमा एडीबीका अध्यक्ष मासातो कान्दाले अत्यावश्यक खनिज पदार्थले आगामी औद्योगिक युगलाई निर्धारण गर्ने बताए । 'एसिया र ...
— लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा दीर्घकालीन महत्त्वका ठूला परियोजनाहरुमा लगानीका लागि लगानी बोर्डले आफ्नो भूमिका स्थापित गरेको बताएका छन् । बोर्डको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले लगानी बोर्डले हालसम्म करिब १७ खर्ब रुपैयाँ बराबरका परियोजनाहरु स्वीकृत गरेको र थप करिब २० खर्ब रुपैयाँ बराबरका परियोजनाहरुमा लगानी गर्नका लागि लगानीकर्ताहरुबाट लगानी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो ...