। फिल्मकर्मीले सेन्सरसिपविरुद्ध बैशाखदेखि आन्दोलन गर्ने भएका छन् । मण्डला थिएटरमा आयोजित अन्तक्रियामा बोल्दै उनीहरूले संगठितरुपमा रचनात्मक संघर्ष गर्ने बताएका हुन् ।
यसका लागि निर्देशक मनोज पण्डितको संयोजकत्वमा ‘सेन्सरसिप आतंकविरुद्ध आन्दोलन समिति’ पनि गठन गरेका छन् । समितिमा पण्डितसहित फिल्मकर्मी नवीन सुब्बा, दीपकराज गिरी, अशोक शर्मा, दयाहाङ राई, दीपेन्द्र लामा, गणेशदेव पाण्डे, विनोद पौडेल, दीपक रौनियार लगायत छन् ।
बैशाखदेखि विभिन्न चरणमा आन्दोलन हुने संयोजक पण्डितले बताए । २०८२ साल सेन्सरसिपविरुद्ध संघर्षको वर्ष हुने उनले बताए । विभिन्न चरणमा हुने आन्दोलनको सुरुमा सेन्सरसिपबारे प्रमुख राजनीतिक दल र सरकारलाई स्पष्ट पार्ने योजना रहेको जनाइएको छ ।
‘नेपालका दललाई सिनेमा र सेन्सरसिप, अभिव्यक्ति स्वतन्त्रताको विषयमा स्पष्ट पार्ने सुरुको योजना छ । यो बैशाखदेखि सुरु हुन्छ’ पण्डितले भने, ‘यसका लागि फिल्मकर्मीबीच छलफल गरेर सुझाव बोर्ड अध्यक्ष, संचारमन्त्री र प्रधानमन्त्रीलाई बुझाउँछौं किनभने सेन्सरसिप हाम्रो लागि ठूलो समस्या भैसक्या छ ।’
न्यूनतम मापदण्ड तय गरेर राज्यसँग वार्ता गर्ने तयारी रहेको संयोजक पण्डितले बताए । ‘२०८२ सालमा फिल्ममेकर र सेन्सर बोर्डबीच ठूलै संघर्ष हुने देखियो । हामी सरकारसँग स्पष्ट वार्ता गर्न चाहन्छौं’ उनले भने ।
निर्देशक नवीन सुब्बाले पनि रचनात्मक संघर्षको तयारी भैरहेको बताए । सुब्बाले सरकारले सेन्सरसिप लादेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको उनले बताए । उनले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै सेन्सर नभएर फिल्मको वर्गीकरण हुन जरुरी रहेको बताए ।
संयोजक पण्डितका अनुसार छायांकन भैरहेका ठाउँमा कालोपट्टी बाँध्ने, हलमा प्रतिकात्मकरुपमा प्रस्तुति दिनेदेखि रिले अनसनसम्मका आन्दोलनबारे विचार भैरहेको छ । उनले सेन्सरसिपविरुद्ध सर्वोच्च अदालतमा जनसरोकारको मुद्दा दायर गर्ने योजना रहेको पनि बताए ।
‘सेन्सरसिप हुनु भनेको दर्शकको अधिकारको हनन पनि हो । दर्शकले पाउनुपर्ने स्वतन्त्र अभिव्यक्तिको हनन पनि हो’ पण्डितले भने, ‘कानूनी लडाइको विकल्प पनि खुला छ । पहिलो फेजमा सेन्सरसिपबारे अवधारणा बुझाउने र दोस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।’
उक्त कार्यक्रममा ‘राजागंज’ निर्देशक दीपक रौनियारले यसैसाता केन्द्रीय चलचित्र जाँच समितिले प्रधानमन्त्रीले सार्वजनिकरुपमा दिएका अभिव्यक्तिलाई फिल्ममा राख्न नदिएर अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन लागिपरेको बताए । फिल्म निर्माता दीपकराज गिरीले प्रहरीको पोशाक प्रयोग गर्न अनुमति माग्नेदेखि लिएर हरेक कुरामा अनुमति लिँदै जाँदा भोलि समस्या आउन सक्ने बताए ।
अभिनेता दयाहाङ राई, वितरक अशोक शर्मा, निर्माण नियन्त्रक शंकर पाण्डे, निर्देशक दीपेन्द्र लामा लगायतले सेन्सरसिपको विरोध गरे । केन्द्रीय चलचित्र जाँच समितिले यसैसाता फिल्म ‘राजागंज’लाई गरेको सेन्सरसिपको पृष्ठभूमिमा फिल्मकर्मीले आन्दोलनमा उत्रने तयारी थालेका हुन् ।