। संसद्मा नेकपा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच सवालजवाफ भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर सवालजवाफ चलेको हो ।
एमाले सांसद पन्तले राजतन्त्रका इतिहास कोट्याउँदै विभिन्न राजाहरूले देश र विदेशमा घटाएका घटनाहरूबारे बोलेका थिए ।
उनले रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, त्रैलोक्य विक्रम शाह हुँदै राजा त्रिभुवनसम्मकाबारेमा टिप्पणी गरे ।
‘…रणबबहादुर शाहको उपद्रव हेरौं । दरबारमा जेठी र कान्छि रानीको लडाईंले गर्दा भीमसेन थापा र दामोदर पाण्डेजस्ता देशभक्त काटिए । राजेन्दविक्रम शाहको पालामा कसले कोत पर्व घटायो ?,’ पन्तले भनेका छन्, ‘जेठो युवरालाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छि रानीले षड्यन्त्र गर्दा कोतपर्व जन्मिएको होइन ? त्रैलोक्य विक्रम युवराज छँदाछँदै कसले विष खुवाएर मार्यो दरबारमा ? जनताले ?’
सोही सिलसिलामा उनले राजा त्रिभुवनले भारतको कलकत्ताका क्लबहरूमा विभिन्न ‘रसरंग’ मच्चाएको, भारतीय पत्रिकादेखि तत्कालीन प्रधानमन्त्रीसमेतले टिप्पणी गर्न बाध्य भएको जिकिर गरे ।
‘…त्रिभुवनलाई हेर्नुस् । दिल्ली त गए, तर कलकत्ताका क्लबहरूमा विभिन्न थरीका आइमाइहरूसँग रसरंग मच्चाउन थालेपछि भारतीय पत्रिकाहरूले टिप्पणी गरे । र भारतका प्रधानमन्त्रीले बाध्य भएर बोले,’ पन्तले भनेका थिए, ‘यो नेपालको राजाको तरिका ठिक भएन भनेर । राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो । त्यो लोकतन्त्रलाई उनका छोराले खोसे ।’
उनले यति बोल्दाबोल्दै राप्रपा सांसद शाहीले नियमापत्ति गरे ।
सांसद शाहीलाई डिस्टर्ब नगर्न पन्तले आग्रह गरे ।
शाही चुप नलागेपछि उनले इतिहास पढेर आफूसँग बहसमा उत्रन आग्रह गरे ।
‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु । इतिहासका अंश पढेर आउनुस् । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । इतिहास पढेर आउ,’ उनले भने ।
लगत्तै सांसद शाहीले भने, ‘जे पायो त्यही बोल्न पाइन्छ ?’
जवाफमा पन्तले भनेका छन्, ‘के बोल्न पाइन्छ मलाई थाहा छ ।’
सांसद शाहीले आफ्नो काटिएको समय उपलब्ध गराउन सभामुख देवराज घिमिरेलाई आग्रह गरे ।
त्यतिकैमा फेरि राप्रपा सांसद शाहीले प्रश्न गरे, ‘प्रमाण छ ?’
पन्तले जवाफमा भनिदिए, ‘इतिहास पढेर आउने, म सँग बहस गर्न आउने, मिस्टर । माननीय जी । इतिहास पढेर आउने ।’
त्यसपछि सभामुख घिमिरेले व्यवस्था अनुसार नै खण्डन गर्न आग्रह गरे ।
‘हाम्रो यहाँको प्रबन्ध, व्यवस्था र नियमावलीको आधारमा अभिव्यक्ति दिन्छौं । माननीय सदस्यले राष्ट्रको अगाडि बोलिरहँदा तथ्य, तर्कमा आधारित भएर बोल्नुपर्छ भन्ने विषयमा माननीय सदस्यहरू जानकार हुनुहुन्छ,’ उनले भने, ‘केही सदस्यलाई असहमत हुनसक्छ, झुटो लाग्नसक्छ । त्यसलाई हामीले तय गरेको व्यवस्था अनुसार नै खण्डन गर्नुपर्छ ।’
सभामुख घिमिरेले आफ्नो गरिमा राखेर बोल्न सांसहरूलाई आग्रह गर्दै सांसद पन्तको काटिएको समय थप हुने बताए ।
पन्तले भने, ‘मेरो काटिएको १० १२ मिनेट छ, प्लस होस् । प्रष्ट कुरा ।’