: पाल्पा ढाका कपडाको राजधानी हो। संघीय सरकारले पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरी मान्यता दिएको छ। पाल्पामा २०१५ सालदेखि ढाका कपडाको उत्पादन हुँदै आएको छ। पाल्पाको पहिचान नै ढाका र करुवा हो। तानसेन नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रस्तुत गरेको २०८१/०८२ को नीति तथा कार्यक्रममा पाल्पाली ढाका कपडाको विकास, विस्तार प्रचारप्रसार गर्ने उल्लेख थियो।
पाल्पाली ढाकाको सम्वर्द्धन, प्रवर्द्धन हुने आशामा उद्योगीहरू नगरपालिकाको नीति तथा कार्यक्रमप्रति निकै खुसी देखिएका थिए। नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ९ महिनाको अवधिमा आइपुग्दा हराउने स्थितिमा पुगेको छ। ९ महिनाअघि खुसी बनेका पाल्पाली ढाका कपडा उद्योगीहरू अहिले खुसी छैनन्। सरकारको नीति उद्योगमैत्री छैनन्। कहीँ कतैबाट सहयोग नपाएका पाल्पाली ढाका उद्योगीहरू उद्योग बन्द गर्ने कि चलाउने अवस्थामा पुगेका छन्। यो अवस्थाबाट गुज्रिएका उद्योगीहरू नगरपालिकाले पारित गरेको नीति पनि कार्यान्वयन नुहुँदा निराश देखिएका हुन।
१५औं नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रम अहिलेसम्म कार्यान्वयन भएको छैन। चालु आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी छ तर कार्यान्वयनमा नगरपालिकाले चासो र तत्परता देखाएको छैन। तानसेन नगरपालिकाले चालु आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुँदा नं. ६४ मा यस्तो भनिएको छ, ‘पाल्पाली ढाकाको विकास, विस्तार र प्रचारप्रसार गर्न तानसेन नगरपालिका र मातहतका कार्यालयहरूमा कार्यरत जनप्रतिनिधि, कर्मचारीहरूका लागि प्रत्येक शुक्रबारका दिन पाल्पाली ढाकाबाट निर्मित पोसाक र ढाकाटोपी लगाउने नीति लिइएको छ। नगरपालिका र मातहतका कार्यालयमा प्रयोग गरिने रुमाल, पर्दाहरू ढाकाको राख्न अनिवार्य गरी स्थानीय ढाका प्रवर्द्धनको व्यवस्था मिलाइने र विदेशमा निर्यात गर्नका लागि समेत प्रोत्साहन गरिनेछ।’
यो नीतिअनुसार तानसेन नगरपालिका पालिका केन्द्र, सबै विषयगत शाखा, १४ वटै वडा कार्यालयहरूमा मातहत रहेका सबै वडा कार्यालयहरूमा ढाका कपडाको पर्दा र रुमालको अनिवार्य प्रयोग गर्नुपर्छ, किनकी यो कार्यलाई नीति तथा कार्यक्रममा अनिवार्य भनिएको छ तर यो नीतिमा मात्र अनिवार्य प्रयोग भएको छ, व्यवहारमा कार्यान्वयन भएको देखिँदैन।
तानसेन नगरपालिकामा प्रमुख उपप्रमुखसहित ७३ जना जनप्रतिनिधि रहेका छन् भने संघीय, स्थानीय तह, करार, ज्यालादारी, स्थायी, अस्थायी गरी दुई सय कर्मचारीहरू कार्यरत रहेका छन्। सबै जनप्रतिनिधि र कर्मचारी पाल्पाली ढाकाको पोसाक र टोपी प्रयोग गर्दा ढाका उद्योगीहरूलाई ठूलो राहत मिल्नेछ। यो अभियानबाट पाल्पाली ढाका उद्योगीहरू धराशायी हुनबाट बच्ने छन्, उत्पादन र रोजगारीमा वृद्धि हुनेछ। स्वदेशी उत्पादनको प्रयोगमा प्रोत्साहन बढ्नेछ।
पाल्पाली ढाकाको पोसाक र कार्यालयहरूमा ढाकाको पर्दा र रुमाल प्रयोग गर्न जनप्रतिनिधिदेखि कर्मचारीहरूमा सर्कुलर भए तापनि फलोअप नहुँदा कार्यान्वयन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए।
तानसेन नगरपालिकाभित्र ठूला ९ वटा अन्य ससाना गरी करिब १५ वटा ढाका कपडाहरू उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगहरूका ढाका कपडा बुन्ने मात्र करिब २ सय जना, सिलाइकटाइमा ५० जना गरी २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।