मुख्य समाचार
ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा
ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो ।


‘भ्वाइस अफ अमेरिका’ को माउ संस्था ‘यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम)’ र अन्य ६ संस्थाको सञ्चालन खर्च कानुनले तोकेअनुसार न्यूनतम बनाउन निर्देशन दिने कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले गत शुक्रबार हस्ताक्षर गरेका थिए । त्यसलगत्तै यूएसएजीएमका मानव संसाधन विभागका निर्देशक क्रिस्टल जी थोमसले ‘भ्वाइस अफ अमेरिका’ का पूर्णकालीन कर्मचारीलाई इमेल गरेर प्रशासनिक बिदामा राखिएको सूचना दिएका छन् ।


सीबीएस न्युजका अनुसार रिपोर्टर र वरिष्ठ प्रबन्धकसम्मका सबै पूर्णकालीन कर्मचारीलाई पठाइएको इमेलमा फ्रिलान्सर, स्ट्रिन्जर तथा मासिक सम्झौता वा असाइनमेन्ट भएकालाई भुक्तानी दिने कुनै उपाय नभएकाले काम गर्न बन्द गर्नुपर्ने उल्लेख छ । आगामी जुनमा सम्झौता अवधि समाप्त हुने कर्मचारीलाई भने बिदासम्बन्धी सूचना पठाइएको छैन । शनिबार सूचना प्राप्त गरेका एक पत्रकारले सीबीएस न्युजसँग भनेका छन्, ‘अमेरिकाले रुस र चीनविरुद्धको अर्को नरम शक्ति गुमाएको छ ।’

‘भ्वाइस अफ अमेरिका’ संघीय सरकारको खर्चमा सञ्चालित अन्तर्राष्ट्रिय प्रसारण नेटवर्क हो । सन् १९४२ मा नाजी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको ‘भ्वाइस अफ अमेरिका’ अमेरिकी अन्तर्राष्ट्रिय प्रसारकहरूमध्ये सबैभन्दा ठूलो र पुरानो हो । यसले उत्पादन गर्ने डिजिटल, टीभी र रेडियो सामग्री विश्वभरका सम्बद्ध स्टेसनका लागि वितरण गरिन्छ । यसले १ जनवरी १९९२ देखि ३१ डिसेम्बर १९९३ सम्म नेपाली भाषामा पनि सेवा सञ्चालन गरेको थियो । ‘भ्वाइस अफ अमेरिका’ सातामा ३६ करोड मानिसले हेर्ने गरेका छन् ।

‘भ्वाइस अफ अमेरिका’ का निर्देशक माइकल अब्रामोविट्जले लोकतन्त्र र स्वतन्त्रताका लागि विश्वव्यापी रूपमा लडेको संस्थाको आवाज बन्द हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । ‘८३ वर्षमा पहिलो पटक भ्वाइस अफ अमेरिकालाई मौन पारिएको छ । यसमा दुःख लागेको छ,’ अब्रामोविट्जले लिंक्डइनमा लेखेका छन् । संस्थामा सुधार आवश्यक रहेको र त्यसमा केही प्रगति पनि गरेको जनाउँदै उनले पछिल्लो कदमबाट भने ‘भ्वाइस अफ अमेरिका’ लाई महत्त्वपूर्ण अभियान पूरा गर्न असमर्थ बनाउने उल्लेख गरेका छन् । ‘इरान, चीन र रुसलगायतका मुलुकले अमेरिकालाई बदनाम गराउन झूटा कथा सिर्जना गर्न अर्बौं डलर डुबाइरहेका बेला संस्थाको अभियान महत्वपूर्ण छ,’ उनले भनेका छन् ।

‘यूएसएजीएम’ ले रुस र युक्रेनलगायत पूर्वी युरोपका मुलुकमा प्रसारण हुँदै आएको ‘रेडियो फ्री युरोप/रेडियो लिबर्टी’ का लागि अनुदान पनि बन्द गरेको छ । चीन र उत्तर कोरियामा प्रसारण हुँदै आएको ‘रेडियो फ्री एसिया’ को अनुदान पनि बन्द गरिएको छ । रेडियो फ्री एसियाका अध्यक्ष बे फाङ र रेडियो फ्री युरोप/रेडियो लिबर्टीका प्रमुख वित्तीय अधिकारी जोसेफ लाटेललाई इमेल गरेर संघीय अनुदान रोकिएको जानकारी दिइएको छ । रेडियो फ्री एसियाका अध्यक्ष बेले अनुदान रद्द गर्नु तानाशाहका लागि इनाम भएको प्रतिक्रिया दिएका छन् ।

‘रेडियो फ्री युरोप/रेडियो लिबर्टी’ले आफ्नो संस्थालाई रुसी सरकारले ‘अवाञ्छनीय’ घोषणा गरेको जनाएको छ । आफ्ना सामग्री मन पराउने वा सेयर गर्ने रुस तथा रुसले कब्जा गरेको क्षेत्रका श्रोताले जरिवाना तिर्नुपर्ने वा जेल सजाय भोग्नुपर्ने जोखिम रहेको उल्लेख गरिएको छ ।



‘भ्वाइस अफ अमेरिका’ का दक्षिण कोरिया ब्युरो प्रमुख विलियम ग्यालोले आफूलाई कम्पनीका सबै प्रणाली र पहुँचमा बन्देज लगाइएको बताएका छन् । ‘मैले जहिले पनि चाहने भनेको सिधा प्रहार गर्ने र सत्य बोल्ने हो । त्यसबाट कसैलाई खतरा हुन सक्छ भने हुन दिनुस्,’ उनले समाचार संस्था रोयटर्ससँग भनेका छन् । अमेरिकाका आधिकारिक नीति व्याख्या गर्न र अंग्रेजी नबुझ्ने विदेशीलाई लोकतन्त्र किन उत्तम राजनीतिक प्रणाली हो भनेर बुझाउन ‘भ्वाइस अफ अमेरिका’ ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अर्का एक पत्रकारको भनाइ छ ।

यूएसएजीएमकी विशेष सल्लाहकार कारी लेकले विज्ञप्ति जारी गर्दै यूएसएजीएमलाई ‘अमेरिकी करदाताका लागि विशाल फोहोर र बोझ’ भनी टिप्पणी गरेकी छन् । कानुनअन्तर्गत संस्थालाई न्यूनतम सम्भावित आकारमा संकुचन गर्ने उनको भनाइ छ । गत डिसेम्बरमा ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’ को नेतृत्व गर्ने व्यक्तिका रूपमा पूर्वसमाचार प्रस्तोता लेकको नाम अघि सारेका थिए । लेकले गत महिना यूएसएजीएमको विशेष सल्लाहकारका रूपमा शपथ लिएकी थिइन् । यूएसएजीएम विघटन भए उनको पद के हुन्छ भन्ने स्पस्ट छैन ।

लेकले गत डिसेम्बरको एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई थाहा छ, उनीहरूले पहिले नै केही राम्रा काम गरिरहेका छन् र मैले यहाँ र त्यहाँ अलिअलि हेरिरहेको छु । म ट्रम्प टेलिभिजन र मेक अमेरिका ग्रेट अगेन टेलिभिजन बनाउन त्यहाँ गएकी होइन । भ्वाइस अफ अमेरिका त्यस्तो होइन ।’

चेक गणतन्त्रका विदेशमन्त्री जान लिपाभ्स्कीले ‘रेडियो फ्री युरोप’ अधिनायकवादी शासन अन्तर्गतका जनताका लागि ‘बत्ती’ का रूपमा रहेको बताएका छन् । ‘बेलारुसदेखि इरानसम्म, रुसदेखि अफगानिस्तानसम्म रेडियो फ्री युरोप र भ्वाइस अफ अमेरिका स्वतन्त्रताबिना बाँचिरहेका मानिसका लागि केही निःशुल्क स्रोतमध्ये हुन्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

वासिङटन डीसीस्थित नेसनल प्रेस क्लबका अध्यक्ष माइक बाल्सामोले विज्ञप्ति जारी गर्दै ‘भ्वाइस अफ अमेरिका’मा गरिएको कटौतीले स्वतन्त्र र निष्पक्ष प्रेसप्रति अमेरिकाको प्रतिबद्धतालाई कमजोर बनाएको टिप्पणी गरेका छन् । ‘भ्वाइस अफ अमेरिकाले दशकौंदेखि विश्वभरका दर्शकका लागि तथ्यमा आधारित स्वतन्त्र पत्रकारिता गर्दै आएको छ, खास गरी प्रेस स्वतन्त्रता नभएका देशहरूमा,’ बाल्सामोले भनेका छन् । फ्रान्सको पेरिसस्थित ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ ले पनि ट्रम्प प्रशासनले चालेको कदमको आलोचना गरेको छ । ‘यस कदमले विश्वभर प्रेस स्वतन्त्रतालाई खतरामा पार्छ र सूचनाको स्वतन्त्र प्रवाहलाई समर्थन गर्ने अमेरिकी इतिहासलाई अस्वीकार गर्छ,’ रिपोर्टर्स विदाउट बोर्डर्सले भनेको छ ।

केही रिपब्लिकन नेताले ‘भ्वाइस अफ अमेरिका’ र अन्य सार्वजनिक रूपमा वित्त पोषित सञ्चार गृहलाई रुढिवादीविरुद्धका पक्षपाती भएको आरोप लगाउने गरेका छन् । अर्बपति इलन मस्क नेतृत्वको सरकार दक्षता विभाग (डज) ले सरकारी खर्च कटौती गर्ने प्रयास स्वरूप त्यस्ता संस्था बन्द गर्नुपर्ने उनीहरूको भनाइ छ । डजले २३ लाख संख्याको संघीय कर्मचारी बलमा एक लाखभन्दा बढीको जागिर कटौती गरिसकेको छ । डजले विभिन्न विदेशी सहायता रोकेको छ र हजारौं कार्यक्रम तथा सम्झौता रद्द गरेको छ ।

यूएसएजीएममा जनशक्ति कटौतीका विषयमा मस्कले पनि प्रतिक्रिया दिएका छन् । ‘विश्वव्यापी सरकारी प्रचार एजेन्सीलाई बन्द गर्दा यसलाई अस्थायी रूपमा ‘डिपार्टमेन्ट अफ प्रोपागान्डा एभ्रिवेयर (डोप) नाम दिइएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । अमेरिकी कंग्रेसमा पेस गरिएको एक प्रतिवेदनअनुसार सन् २०२४ मा ८८ करोड ६० लाख अमेरिकी बजेट रहेको यूएसएजीएमले करिब ३ हजार ५ सय कामदारलाई रोजगारी दिँदै आएको छ ।

ट्रम्पको कार्यकारी आदेशले फेडेरल मेडिएसन एन्ड कन्सिलियसन सर्भिस, वुड्रो विल्सन इन्टरनेसनल सेन्टर फर स्कोलर्स, इन्स्टिच्युट अफ म्युजियम एन्ड लाइब्रेरी सर्भिसेज, यूएस इन्टरएजेन्सी काउन्सिल अन होमलेसनेस, कम्युनिटी डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसन फन्ड र माइनोरिटी बिजिनेस डेभलपमेन्ट एजेन्सीलाई पनि लक्ष्य गरेको छ । यी सबै संस्थालाई कानुनद्वारा आवश्यक न्यूनतम उपस्थिति र कार्यमा सीमित पार्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ट्रम्पका कार्यकारी आदेशका कारण करदाता अब कट्टरपन्थी प्रचारमा अड्कनु नपर्ने अवस्था सुनिश्चित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...