। रुपन्देहीका होटेल तथा रेष्टुरेन्ट व्यवसायीले बुटवलसहित रुपन्देहीका प्रमुख बजारमा रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति दिन रुपन्देही प्रशासनसँग माग गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र सैनामैना नगरपालिकाका प्रमुख, जिल्लाका चार वटै सुरक्षा निकाय प्रमुखहरुको रोहबरमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति मागेका हुन् ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले रात्रीकालिन बजारका लागि आवश्यक पुर्वाधारहरु बनिसकेकाले आर्थिक मन्दी र प्रदेश राजधानी दाङ सरेपछि खस्केको रुपन्देहीको बजारलाई चलायमान बनाउनु पर्ने बताए ।
उनका अनुसार बुटवलको कालिकापथमा रातको २ बजेसम्म, बुटवलकै अमरपथ र ट्राफिकचोकमा रातको १२ बजेसम्म, बुटवलको अन्य क्षेत्रमा रातको ११ बजेसम्म, सिद्वार्थ नगरनगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा रातको ११ बजेसम्म व्यवसाय सञ्चालन गर्न अनुमति दिन मा गरेका हुन् ।
यस्तै उनले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सकेमा भारतीय पर्यटकलाई भित्राउन र पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । रुपन्देहीमा पर्यटकस्तर र त्यस भन्दा माथिका पांच सय बढी होटेल–रेष्टुंरा सञ्चालनमा छन् ।
‘बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आएका,बेलहिया नाका हुंदै भित्रिने पर्यटक र गौतमबुद्ध विमानस्थलमा अवतरण हुने यात्रुलाई रातको समयमा सहज रुपमा सेवा दिन रात्रीकालिन व्यवसाय आवश्यक छ’–उनले भने–‘कोरोना महामारी, आर्थिक मन्दी र प्रदेशको राजधानी दाङ सरेपछि संकटमा परेको रुपन्देहीको व्यवसायलाई चलायमान बनाउन र व्यवसायीलाई थप पलायन हुनबाट रोक्न प्रशासन र सुरक्षा निकाय व्यवसायीका मागमा संवेदनशील हुन जरुरी छ ।’
रात्रीकालीन बजार सञ्चालनका लागि संघले यसअघि पनि प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, व्यवसाविक संघसस्था, स्थानीय सरकारसंग छलफल र वैठक बसी निर्णय गरेको भण्डारीले बताए ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आफू कास्कीको प्रमुख जिल्ला अधिकारी हुंदा पोखरामा आफूले नै नेपालमा पहिलोपटक रात्रीकालीन व्यवसाय शुरु गराएको स्मरण गर्दै रुपन्द्येहीमा झन् आवश्यक भएको बताए ।
स्थलमार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, विश्वभरका वौद्धमार्गी घुम्न आउने अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी नजिकै रहेको ठाउंमा रात्रीकालीन बजार आवश्यक भएको भन्दै उनले मापदण्ड पुरा गरेमा आफूले अनुमति दिने प्रतिवद्धता जनाए ।
‘रुपन्देहीमा रात्रीकालीन व्यवसाय एकदमै आवश्यक छ,तपाईहरु मापदण्ड पूरा गरेर तयार हुनुस्, हामी अनुगमनमा आउंछौं, मापदण्ड पूरा भएको पाइए तत्काल अनुमति दिन्छौं’– घिमिरेले भने–‘त्यस भन्दा अगाडि कुनै व्यसायीले व्यक्तिगतरुपमा मापदण्ड पूरा गरेमा पनि जसलाई आवश्यक छ उनीहरुलाई दिंदै जान्छौं ।’
रात्रीकालीन व्यवसाय सञ्चालन हुंदैमा सुरक्षा चुनौती, बेथिति, विकृति र अपराध वृद्धि नहुने स्पष्ट पार्दै उनले स्थानीय सरकारको साथ आवश्यक पर्ने औंल्याए ।
रुपन्देहीका प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले पहिलोचरणमा कुनै एक स्थान तोकेर रात्रीकालीन व्यवसाय सञ्चालनको परीक्षण गर्ने र त्यसपछि क्रमशः विस्तार गर्न प्रहरी तयार रहेको बताए ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण,सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, सैनामैनाका नगर प्रमुख फणिन्द्र शर्मा, मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय सभापति गोविन्द खनालले रात्रीकालिन व्यवसाय सञ्चालनमा स्थानीय सरकारको साथ रहने प्रतिवद्धता जनाए ।
बुटवल उपमहानगरपालिकाले कार्यपालिका वैठकबाट रात्रीकालीन बजार सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।