— काठमाडौं महानगरपालिकाले एक वर्षमा १५५ जनाको निःशुल्क स्वास्थ्य उपचार गरेको जनाएको छ । महानगरभित्र भएका अस्पतालहरूले २०८० फागुन १ देखि विपन्न र बेवारिसेलाई निःशुल्क स्वास्थ्य उपचार दिएका हुन् ।
यसमा महानगरले २६ जनाको शल्यक्रियासमेत गरिएको जनाएको छ । महानगरको सोमबारको ‘निःशुल्क उपचार निर्देशक समिति’को बैठकमा स्वास्थ्य विभागले लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रमअन्तर्गत उक्त सेवा प्रदान गरेको जानकारी दिएको हो । जसमा आकस्मिक सेवा, फेमिली मेडिसिन, आँखा/नाक/कान, नशाको रोग, क्यान्सर, दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), सर्जरी (शल्यक्रिया), स्त्री तथा प्रसूति रोग सेवा, पेटसम्बन्धी सेवाको उपचार सेवा लिएको महानगरले जनाएको छ ।
लक्षित वर्ग निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन महानगरपालिकाले ‘अस्पतालमा निःशुल्क उपचार गराउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसमा भएको व्यवस्था कार्यान्वयन गराउन सबै निजी अस्पताललाई पत्राचार गरेर अनलाइन प्रणालीमार्फत २०८० को फागुन १ बाट सो सेवा सुरु गराइएको हो ।
प्रणाली सञ्चालन गर्न अस्पतालबाट मेडिकल रेकर्ड डिपार्टमेन्ट र प्रशासन विभागबाट कर्मचारी माग गरेर तालिम दिएको थियो । यस प्रणालीमा महानगरपालिकाभित्रका ५२ वटा अस्पताल आबद्ध छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।