: २५ करोड अवैध रकम बरामदको घटना संसदमा प्रवेश गरेको छ। मंगलबार नेपाल प्रहरीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट बरामद २५ करोड बढी विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेपछि संसदमा खैलाबैला मच्चिएको हो। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले उक्त विषय उठाउँदै घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरे।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले बरामद अवैध रकमबारे निष्पक्ष छानबिन गर्न माग गरे। बरामद विदेशी मुद्राबारे अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने ती सांसदले जोड दिए। बैठकको आकस्मिक समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले अहिलेसम्मकै सबैभन्दा ठूलो अवैध रकम बरामद भएको घटनाले सिंगो देश तरंगित भएको भन्दै विशेष प्रकारको छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने माग गरे। यस्ता प्रकृतिका घटनामा ड्राइभर र भरियामात्रै पक्राउ गर्ने र विस्तारै मुद्दा नै हराएर जाने देखिएको भन्दै उनले विशेष प्रकारको छानबिन समिति गठन गर्नुपर्ने बताए । ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सनबिना सम्भव नरहेको उनले जिकिर गरे।
सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले झोर क्षेत्रबाट २५ करोड बढी रकमसहित सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो। काठमाडौंको झोर क्षेत्रबाट ना१ख १६५२ नम्बरको ट्रकबाट २५ करोड १ लाख ३३८ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।
सांसद सापकोटाले भने, 'डलर र यूरो गरी करिब २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ। यो घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको छ। यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ।'
नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरी अनुसन्धान गर्न माग गरे। उनले विभिन्न प्रकरणमा ड्राइभर, भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्नेमा जोड दिए।
'नेपाल सरकारले हिजो सिन्धुपाल्चोकका कुसान लामाले हाँकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ बराबरको युरो र डलर समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। कहिले सुन तस्करीका रूपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने। जो धनी छ उनीहरू कहाँ नपुग्ने। यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गर्दछु। कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो। अहिले पनि सरकार त्यसैगरी गहिरो अनुसन्धानसम्म नपुगेर यिनै ड्राइभर र भरियालाई समातेर मुख्य व्यक्तिलाई समात्न नसके फेरि आँखामा छारो हालजस्तो देखिन पुग्छ,' उनले भने, 'त्यसैले सरकार यस्ता तस्करीका नाइकेहरूसँग पुगोस् जुन तहको भए पनि कारबाहीको दायरामा ल्याओस्।'
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनी कार्कीले पनि टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै प्रश्न गरिन्। भ्रष्टाचारमा नेपालले नयाँ-नयाँ कीर्तिमान कायम गरेको भन्दै टिप्पणी गरिन्। उनले जनताको सहनशिलतामा धेरै परीक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनी समेत दिइन्। उनले भनिन्,'हिजो मात्रै यूरो र डलर गरी ट्रकबाट २५ करोड बरामद भएको छ। के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’बनेको हो ?,'सांसद रोशन कार्कीले प्रश्न गरिन्। उनले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गरिन्।
ट्रकमा फल्स बटम बनाएर रकम लुकाइछिपाइ राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले लामालाई नियन्त्रणमा लिएको थियो। लामा चालक भइ भरियाको रूपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर,उनी कसको भरिया हुन् भन्ने चाहिँ खुलेको छैन। प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। लामाले सामाखुसीको एक ग्यारेजमा गाडी राखेको बेला अपरिचित व्यक्तिहरू आएर यो सामान केरुङ पुर्याउनका लागि अह्राएको बयान प्रहरी समक्ष दिएका छन्। लामा यसअघि पनि सुनसहित पक्राउ परी पाँच वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति हुन्। लामालाई थप अनुसन्धानका लागि राजस्व विभाग हरिहर भवन पठाइएको छ।