: जिल्ला प्रहरी कार्यालय रौतहटले एसईई परीक्षामा चिट चोर्न ल्याइएका १ हजार ४ सय २४ मोबाइल बरामद गरेको छ । बिहीबार प्रहरीले परीक्षाको मर्यादा भंग गर्ने प्रयासमा संलग्न २ जनालाई समेत पक्राउ गरेको छ।
प्रहरीका अनुसार रौतहटको यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई मावि परीक्षा केन्द्रमा परीक्षा निरीक्षकले नै केही रकम लिइ मोबाइल प्रवेश गराएका थिए।
त्यस्तै मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीपुर मावि परीक्षा केन्द्रबाहिर चिट उपलब्ध गराउने कार्यमा संलग्न १ जना गरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार रायका अनुसार पक्राउ परेकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले परीक्षाको मर्यादा भंग गर्ने कार्यमा संलग्न दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।
प्रहरीले पक्राउ परेकाहरूको नाम भने गोप्य राखेको छ । परीक्षाको मर्यादा कायम राख्न र निष्पक्षता सुनिश्चित गर्न प्रहरीले विशेष निगरानी राखिरहेको बताइएको छ । विगतमा मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायतका ग्रुप प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ ।