मुख्य समाचार
रुस र युक्रेनबीचको युद्धबारे साउदी अरबमा अमेरिकाले दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता गर्ने
रुस र युक्रेनबीचको युद्धबारे साउदी अरबमा अमेरिकाले दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता गर्ने

— रुस र युक्रेनबीचको युद्धबारे आगामी सोमबार साउदी अरबमा अमेरिकाले दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता गर्ने भएको छ । शान्ति वार्ताका लागि हुने त्यो बैठकअघि रुस र युक्रेन भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वाचा तोडेको आरोप लगाएका छन् । पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा गरेको वाचा तोडेको उनले आरोप लगाएका हुन् । ‘अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्तापछि पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न आदेश दिने बताएकै रात युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै १ सय ५० वटा ड्रोन प्रहार गरिएको छ,’ जेलेन्स्कीले भनेका छन् । रुसले मंगलबार राति यातायात पूर्वाधार र अस्पतालमा पनि आक्रमण गरेको उनको भनाइ छ ।


युक्रेनले पनि आफ्नो एउटा तेल भण्डारण केन्द्रलाई निसाना बनाएको रुसी रक्षा मन्त्रालयले आरोप लगाएको छ । मन्त्रालयका अनुसार दक्षिणी रुसको क्रास्नोडारमा रहेको तेल भण्डारण केन्द्रमा आक्रमण गरेर रुस–अमेरिका शान्ति वार्तामा बाधा पुर्‍याउन खोजिएको छ ।

पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसागको वार्तामा गरेको वाचा तोडेको युक्रेनको आरोप
आरआईए नोभोस्ती समाचार संस्थाका अनुसार मन्त्रालयले युक्रेनले क्यास्पियन पाइप लाइनबाट तेल पम्प गर्ने सुविधाविरुद्ध तीनवटा ड्रोन प्रयोग गरेको जनाएको छ । उक्त केन्द्रमा जानाजान आक्रमण गरिएको र युक्रेनी कदम उक्साहटपूर्ण भएको रुसको भनाइ छ । ‘किभ शासनका यस्ता कार्य ट्रम्पको शान्ति पहलमा बाधा पुर्‍याउने उद्देश्यले जानाजान गरिएको उक्साहट हो,’ मन्त्रालयले भनेको छ । त्यस्तै, रुसले युक्रेनको माइकोलेभ क्षेत्रका ऊर्जा सुविधामा प्रहार गरिएका ७ वटा ड्रोन खसालेको जनाएको छ ।

पुटिन र ट्रम्पबीच बुधबार करिब ९० मिनेट लामो टेलिफोन वार्ता भएको थियो । वार्तामा ट्रम्पले युक्रेनमा ३० दिन युद्धविराम गर्न राखेको प्रस्ताव पुटिनले अस्वीकार गरेका थिए । तर उनी युक्रेनी ऊर्जा पूर्वाधारमा ३० दिन आक्रमण रोक्न सहमत भएका थिए । तर उक्त समयमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने पुटिनको भनाइ छ । तर वार्ताको केही घण्टामा नै रुसी सेनाले युक्रेनका दुई अस्पतालमा आक्रमण गरेको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीका अनुसार सुमी सहरको एक अस्पतालमा रुसले ड्रोन आक्रमण गरेको हो । बीबीसीका अनुसार आक्रमणको समयमा उक्त अस्पतालमा १ सय ४७ बिरामी र २२ कर्मचारी थिए ।


त्यसको केही घण्टामा रुसले क्षेत्रीय सहर क्रास्नोपिल्याको अस्पतालमा ६ ड्रोन प्रहार गरेको हो । युक्रेनी अधिकारीका अनुसार आक्रमणका बेला अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी थिए । युक्रेनी अधिकारीले आक्रमणका कारण अस्पताल भवनमा ठूलो क्षति पुगेको जनाएका छन् । तर मानवीय क्षति भने नभएको उनीहरूको भनाइ छ ।

त्यस्तै, ट्रम्प र पुटिनबीच बुधबार भएको वार्तामा ‘ब्ल्याक सी’ मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति भएको बीबीसीले जनाएको छ । बुधबारदेखि रुस र युक्रेनले १ सय ७५ युद्धबन्दी साटासाट गर्ने सहमति पनि उक्त वार्तामा भएको थियो । त्यसअनुसार रुसले आफ्नो देशमा उपचार भइरहेका गम्भीर घाइते २३ युक्रेनी सैनिक हस्तान्तरण गर्नेछ । दुवै राष्ट्रपतिले मध्यपूर्वमा भविष्यमा हुन सक्ने द्वन्द्व रोक्न सम्भावित सहयोगबारे पनि छलफल गरेको सीएनएनले जनाएको छ । ‘रणनीतिक हतियारको प्रसार रोक्नु आवश्यक भएको’ विषयमा पनि कुराकानी भएको छ । त्यस्तै, ट्रम्प र पुटिनबीच इरानले इजरायललाई ध्वस्त पार्ने उद्देश्य राख्न नहुनेमा पनि सहमति भएको छ ।



दुई नेताबीचको फोन वार्तापछि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले रुसी राष्ट्रपति पुटिनले राखेको अमेरिका–रुस हक्की खेल आयोजना गर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन गरेको जनाएको छ । ‘ट्रम्पले एनएचएल र केएचएलमा खेल्ने रुसी र अमेरिकी खेलाडीबीच अमेरिका र रुसमा हक्की खेल आयोजना गर्ने पुटिनको विचारलाई समर्थन गरेका छन्,’ क्रेमलिनले भनेको छ ।

ट्रम्पसँगको वार्ताअघि पुटिनले रुसमाथि पश्चिमा देशले लगाएको प्रतिबन्धको विरोध गरेका थिए । रुसी उद्योगपति तथा उद्यमी संघको बैठकलाई सम्बोधन गर्दै पुटिनले रुसमाथि लगाइएका प्रतिबन्ध ‘अवैध’ भएको बताए । ‘प्रतिस्पर्धीले सधैं रुसलाई घेर्न र आर्थिक तथा प्राविधिक सम्भावनालाई कमजोर पार्न चाहने’ पुटिनको भनाइ छ ।

यसअघि दुई नेताबीच १२ फेब्रुअरीमा टेलिफोन कुराकानी भएको थियो । वार्तामा दुई नेताबीच युद्ध अन्त्य गर्नेदेखि एकअर्काको देश भ्रमण गर्नेसम्मका विषयमा छलफल भएको थियो । ९० मिनेट लामो टेलिफोन वार्तामा दुवै राष्ट्रपति युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरु गर्ने सहमतिमा पुगेका थिए । त्यसयता रुस र अमेरिकाबीच साउदी अरबमा विदेशमन्त्रीस्तरीय वार्तासमेत भइसकेको छ । साउदी अरबको वार्तामा दुई देशबीच युद्ध अन्त्य गर्न उच्चस्तरीय टोलीबीच वार्ता गर्ने सहमति भइसकेको छ ।

वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र रुसी राष्ट्रपति पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी थिए । त्यस्तै, विदेशमन्त्री मार्को रुबियोले नेतृत्व गरेको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ सहभागी थिए । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवानसमेत उपस्थित थिए ।

वार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री रुबियोले वार्तामा कसैलाई पनि किनारा नलगाइएको बताएका थिए । रुसी विदेशमन्त्री लाभरोभले दुई पक्षबीच निकै उपयोगी कुराकानी भएको प्रतिक्रया दिएका थिए । वार्तामा सहभागी नगराएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशको सहभागिताबिना हुने कुनै पनि वार्ता अमान्य हुने बताएका थिए । तर अमेरिकासँगको अनौपचारिक वार्तापछि खनिज सम्झौताका लागि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस पुगेका थिए । तर जेलेन्स्कीको अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको चर्काचर्कीपछि सम्झौताबिना नै फर्केका थिए ।

युक्रेनलाई दिँदै आएको सैन्यलगायत सहयोग रोक्ने ट्रम्प प्रशासनको कदमपछि दबाबमा परेका राष्ट्रपति जेलेन्स्की अमेरिकासँग वार्ताका लागि फेरि तयार भएका थिए । जसका कारण दुई देशबीच ११ मार्चमा युक्रेनसँग साउदी अरबमै वार्ता भएको थियो । वार्तामा दुई देशबीचको वार्तामा युक्रेन एक महिनाका लागि युद्धविराम गर्न सहमत भएको थियो । साउदी वार्तामा युक्रेनले रुससँग जमिन, समुद्र र आकाशमा ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्वीकार गरेको थियो । तर उक्त प्रस्ताव रुसले भने अस्वीकार गरिसकेको छ ।

त्यस्तै, रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका थिए । युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी गरेपछि २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता रुसले युक्रेनको करिब २० प्रतिशत भूभागमा नियन्त्रण लिइसकेको छ । पूर्णस्तरको आक्रमणयता युक्रेनका दोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिजा गरी चार क्षेत्र रुसको नियन्त्रणमा पुगेका छन् । रुसले नियन्त्रणमा लिएको जापोरिजामा युरोपको सबैभन्दा ठूलो परमाणु केन्द्र छ ।

०००

अस्थायी युद्धविराममा रुसको असहमति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले अस्थायी युद्धविरामले युक्रेनलाई पुनः संगठित हुने मौका दिने भन्दै अस्वीकार गरेको जानकारी दिएका छन् । रुसले दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको उनको भनाइ छ ।

रुसी प्रतिक्रियापछि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेषदूत स्टिभ विटकफले रुसी राजधानी मस्कोमा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरिसकेका छन् । विटकफले पुटिनसँगको बैठकमा धेरै प्रगति भएको बताएका थिए । त्यसलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामको सम्भावनाबारे ‘सकारात्मक सन्देश’ प्राप्त गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...