— कांग्रेस नेता तथा पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन दिन नसक्दा गणतान्त्रिक व्यवस्थाको नै विरोध भएको बताएका छन् । कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका उद्घाटनका क्रममा केसीले उक्त कुरा बताएका हुन् ।
गणतन्त्रले देशलाई अप्ठ्यारोबाट मुक्त गराउनुपर्नेमा त्यस अनुरुप प्रत्याभूत हुन नसकेको उनको टिप्पणी थियो । गणतन्त्रप्रतिको निराशाको समाधान खोजिनु पर्ने उनले जोड दिए । ‘गणतन्त्रप्रति निराशा छाएको छ’, उनले भने, ‘यस्तो अवस्थामा समाधानको बाटो खोज्न कांग्रेसजन गम्भीर भएर जुट्ने बेला आएको छ ।’
देशमा अफ्ठ्यारो परेको बेला कांग्रेसले संकटमोचनको काम गरेको उनको दाबी छ । उनले भने, ‘देशमा भएका हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा भएकाले अहिलेको समस्याको समाधान कांग्रेसले गर्ने छ ।’
यसैबीच, नेता केसीले कांग्रेसको महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको बताए । यसबारे बेला आएपछि सबै कुरा बताउने उनले बताए । पूर्वमन्त्रीसमेत रहेका उनले कांग्रेसभित्र पात्र नभई प्रवृत्ति गलत रहेको बताउँदै सबै नेता कार्यकर्तामा प्रवृत्ति सुधार्न सुझाए । केसीले कांग्रेसभित्र भएको 'यदुवंशी प्रवृत्ति' अन्त्य हुन आवश्यक रहेको बताए ।