— सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले नागरिक असन्तुष्ट हुने काम सरकारले गर्न नहुने बताएका छन् । कांग्रेस पश्चिम नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै सरकारले गरेका धेरै राम्रा कामहरु एउटा नराम्रो कामले ओझेलमा पार्ने भएकाले सरकारको कामकारबाहीमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
‘सरकारले सुधारका कामहरू धेरै गरेको छ । तर, कहिलेकाहीं जनताले नचाहेको काममा हात हाल्न खोज्दा जनतामा निराशा बढ्ने रहेछ,’ उनले भने,‘पार्टीका तर्फबाट मैले स्वयम् कांग्रेस सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै राखेर भनेको छु । अब हामीलाई जनता निराश बनाउने छुट छैन ।’
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका महामन्त्री थापाले प्रदेशलाई पर्यात अधिकार प्रत्यायोजन गर्न नसक्दा र अझै पनि केन्द्रिकरण मानसिकता भएकाले जनतामा प्रदेश संरचनाप्रति असन्तुष्टि पाएको बताए । संघीयताको विषयमा प्रश्न गर्नुभन्दा पनि संघीयतालाई कसरी मजबुत बनाउने तर्फ केन्द्रदेखि स्थानीय तहसम्म बहस हुन आवश्यक रहेको उनले बताए ।
अहिलेसम्मका उपलब्धिलाई घरमा बसेर केही सेकेण्ड सामाजिक सञ्जालमा आउने सामग्रीको भरमा भ्रम फैलाउने काम भैरहेकाले आफ्ना कार्यकर्ता र नेताले गाउँगाउँमा अहिले असल अभ्यासको विषयमा सर्वसाधारणलाई बुझाउन सक्नुपर्ने थापाको जिकिर थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जिल्लामा पाटी भित्र देखिएको गुटउपगुटलाई मिलाएर पार्टी एक बनाएर लैजानुपर्ने बताएका थिए । केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा १ का सांसद विनोद चौधरीले आफ्नो क्षेत्रमा विकास निर्माण तथा नीतिगतरूपमा सुधार गर्नुपर्ने विषयमा तदारुकताको साथ काम गरिरहेको बताएका थिए ।